कालोबजारी गर्नेलाई ‘अन द स्पट’ कारवाही

राजु केसी/भदौ १९,सुर्खेत ।
चाडपर्व नजिकिएको छ । बजार भाउ अकासिएको छ । दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन् । चाडपर्वमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ । जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन् । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन । प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो देखाउने दाँत मात्र भएको उपभोक्ताकर्मीको भनाइ छ ।
यता उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयमा बुधबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको प्रमुख आथित्यततामा बसेको सरोकारवालाको बैठकले अब नियमित शहरदेखि गाउँसम्म बजार अनुगमनलाई तीव्रता दिइने निर्णय गरेको छ । समितिको बैठकले विभिन्न क्षेत्रका विज्ञसहितको टोली बनाएर स्थानीय तहका उपभोक्तालाई समेत अनुभूति हुने यस बजार अनुगमन गर्न लागिएको हो ।
चाडपर्वको मौका छोपेर बजारभाउ अकासिने र उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएको जनगुनासोलाई सम्बोधन गर्न सरकारी निकायहरुले बजार अनुगमनलाई तीव्रता दिन लागेका छन् । प्रजिअ पोखरेलले चाडपर्व नजिकैसँगै अत्यधिक महँगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमनलाई तीव्रता दिन लागिएको जनाए । उनले उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले उपभोक्ता महँगीको मारमा परेको बताए । ‘नजिकिँदै गएको चाडपर्वको समयमा उपभोक्ताले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिऊन् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र दिन लागिएको छ,’ प्रजिअ पोखरेलले भने, ‘चाडपर्वको समयमा व्यवसायीले उपभोक्ताको ढाड सेक्ने भएकाले अनुगमन कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा प्रशासनले गरिरहेको छ ।’

यस पटक बजार क्षेत्रमा सञ्चालित सुनचाँदी, हाडवेयर, पेट्रोलपम्म, मासु र तरकारी पसल, होटल, कपडा–फेन्सी पसल, व्यवसाय तथा सवारी साधनमा समेत अनगुमन गरिने छ । विगतमा गरिएका अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता नभएको र सरसफाइमा ध्यान नदिएको, मनपरी मूल्य लिएको, मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बेच्न राखेको पाइए यस पटक कानून अनुसार (स्पट) कारवाही हुने रणनीति बनेको स्रोतको दावी छ । बजारबाट म्याद नाघेका खाद्य सामग्री, तेल तथा बेकरी आइटममा अनुगमन समेतको विशेष निगरानी रहने छ ।
फितलो अनुगमनले उपभोक्ता ठगिँदै
सरकारले जतिसुकै प्रचारप्रसार र सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपनि सुर्खेतका बजारहरुमा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । जिल्लामा प्रभावकारी बजार अनुगमन नहुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । नियमित अनुगमन नहुँदा व्यापारीले मनलाग्दी मूल्य असुलिरहेका छन भने मूल्यमा पनि एकरुपता छैन । जिल्लाका व्यापारिक केन्द्रदेखि सुदूर गाउँसम्म म्याद सकिएका सामान बिक्री भइरहेका छन् । बजार अनुगमन फितलो भएकै कारण व्यापारीले उपभोक्तालाई म्याद गुज्रिएका सामान बेचेका हुन् । सदरमुकाम आसपासमा केन्द्रित बजार अनुगमन झारा टार्ने काम भएको उपभोक्ता बताउँछन् । बजारमा भने एउटै सामानको मूल्य पसलैपिच्छे फरक भएपछि उपभोक्ता ठगिएका छन् । व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य मनपरी निर्धारण गर्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले अधिकांश पसलमा मूल्य सूची नहुँदा सामानको वास्तविक मूल्य थाहा पाउन नसकिएको जनाए । बजारमा तयारी पोसाक र कपडाको मूल्य ३० प्रतिशतले बढेको उपभोक्ता बताउँछन् । प्रशासनले मूल्य सूची राख्न लगाए पनि व्यवसायीले खासै चासो देखाएका छैनन् ।
विल पाउँदैनन् उपभोक्ता
अधिकांश व्यवसायीले सामान खरिदपछि बिल नदिँदा उपभोक्ता दिनदिनै ठगिने गरेका छन् । बिल नदिने बरु बढी पैसा लिएर ठग्ने गरेको गुनासो उपभोक्ताको छ । कतिपय उपभोक्ताले सामानको बिल माग्दासमेत नदिने गरेको उपभोक्ताले गुनासो गरेका छन् । मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले अधिकांश व्यवसायीले सामान खरिद गर्दा बिल नदिने गरेको बताए । ‘यस सम्बन्धमा उनीहरुलाई सचेत पार्न र नमाने कारबाही गर्न आवश्यक छ,’ उनले भने, ‘उपभोक्तालाई वस्तु छनौट गर्ने, वस्तुबारे सुनुवाइ गर्ने, खरिद गरेको वस्तु क्षति भएमा क्षतिपूर्ति पाउने लगायतका अधिकार ऐनमै उल्लेख छ ।’ उपभोक्ताले बिल नपाउँदा सामानको कुनै वारेन्टी र ग्यारेन्टी नपाउने र पछि समस्या देखेर फिर्ता गर्न जाँदा आफ्नो पसलको नभएको भनी हप्काउने समेत गरेको उनको अनुभव छ । अधिकांश पसलमा सामान खरिद गर्न जाँदा बिल नै दिँदैनन्, माग्दा पनि आलटाल गरी फर्काउँछनन्,’ उनले भने ।
बजार अनुगमन बढाउन माग
जिल्लाका उपभोक्ता अधिकारकर्मीले बजारमा व्यापारीको लापर्वाही सहि नसक्नु भएको भन्दै बजार अनुगमन तथा नियमन बढाउन माग गरेका छन् । उपभोक्ताले व्यापारीद्वारा गुणस्तरहीन वस्तुको खुलेआम बिक्री वितरण गरेको, कृतिम मूल्य निर्धारण गरेको, नापतौलमा ठगी गरेको, काटे्लिङ तथा कालोबजारी गरेको भन्दै नियमन बढाउन प्रशासनसँग माग गरेका हुन् । उनीहरुले व्यापारीको अत्याचारले सीमा नाघेको भन्दै नियमनकारी निकाय सक्रिय हुन आवश्यक रहेको औल्याएका छन् ।