२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

तीजको मौलिकता हराउँदै, रेडिमेडमा रमाउँदै

विकृत्ति भित्र्याउनुभन्दा आफ्नै परम्परा जगेर्ना गरौं


पार्वती बयक /  भदौं १६, सुर्खेत ।
हिन्दु धर्ममा धेरै चाडपर्बहरु छन् । सबैका आ–आफना विशेषता बोकेका छन् । हिन्दु संस्कार भित्र प्राय सधैँ जसो परिरहने तिथि मिति तथा चाडपर्वले नेपाली समाज लगायत विश्वमा छुट्टै खालको मौलिकता बोकेको पाइन्छ । समय र मौसम अनुसारका छुट्टाछुट्टै महत्व बोकेका चाडपर्व तथा रीति–रिवाज हाम्रा पूर्वजहरुले तय गरिदिएका छन् । त्यसमा हरितालिका तीज पनि एक हो । हरेक नेपाली नारीको मनका इच्छा आकङ्छा पुरा गरिदिने चाड हो तीज । महिलाहरुले पुरुषलाई र जन्मघरलाई गर्ने माया र सर्मपणको जिवन्त कथा हो तीज । अविवाहित नारीले मन परेको मायालाई माग्ने अनि विवाहितले उसको पतिको लामो आयु होस भनेर दिनभर पानी पनि नखाइ ब्रत बस्ने पर्ब हो तीज । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर ठूला भनिने होटलका खाना र बोत्तलमा सरेको छ । फलस्वरुप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ । हामी अरुको देखासिखि रेडिमेटमा रमाउँदै छौं । आफुलाई परिवर्तित गर्ने हामिले हाम्रो रिति, थिति बिर्सेने काम गर्नुहुदैन समय सँगै परिवर्तन भएको नारी तीजले हामीलाई कुरीति तर्फ लम्काएको छ । यो कुरालाइ महसुस गर्न ढिलाइ भो भने तीज, तीज रहँदैन । धार्मिक मान्यताका साथै नारीलाई अगाडि बढाउन सहयोग गर्ने चाड तीजलाई हामी सबैले सभ्य र भव्य तरिकाले मनाउनु नै पर्छ ।

पहिले–पहिले व्रतको दिन पेट अडिलो होस् भनी बिहान कुखुरा नबासुन्जेल दर खाने गर्थे । तर अहिले महिनादिन अघिदेखि दर खाने चलन बसेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ । पहिले–पहिले तीजमा चेलीले गीत गाएर घर–माइतका व्यवहारका तिता अनुभूति प्रकट गर्थे । अहिले तडक–भडकले भरिएका भडकिला गीतमा नाचगान गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी गीत र दरले तीजलाई विकृत बनाएको छ । सामाजिक सञ्जालमा देखिने तस्बिर र भिडियो अनुसार विदेशमा रहेका नेपाली चेलीबेटीले आफ्नै मौलिक परम्परामा तीज मनाएको देखिन्छ । तर आफ्नै देशमा भने तीज विकृतितर्फ उन्मुख भएको देख्दा मन खिन्न हुन्छ । आधुनिकताको नाममा परम्परालाई भुलेर समाज सांस्कृतिक अतिवादतर्फ ढल्कँदैछ । यसले हाम्रो संस्कृतिलाई ठूलो असर पर्छ । चाडपर्व भनेको आफन्त, साथीसंगीसँग मिलनको अवसर हो । कामको चापले गर्दा आफन्त, साथीसंगी टाढिँदै गइरहेका छौं । पुराना स्मृति बिर्सिंदै गइरहेका हुन्छौं । चाडपर्वको माध्यमबाट सबैसँग भेट गर्ने अवसर प्राप्त गछौं । अरुको देखासिकी गरेर विकृत्ति भित्र्याउनुभन्दा आफ्नै परम्परा जगेर्ना गर्दै मनाउनु राम्रो हुन्छ । भड्किलो चाड हुनगयो भने आर्थिक रुपले सम्पन्न परिवारले मात्र तीजपर्व मनाउन सक्छन । विपन्न वर्गले टुलुटुलु हेरेर मात्र बस्नुको विकल्प हुँदैन । त्यसपछि उनीहरुका लागि यसको कुनै औचित्य र महत्व रहँदैन ।


व्रत,उपवास बसेर परिवारको सुस्वास्थ्य, दीर्घायु हुने कामना गर्ने यो पर्वमा अहिले लत्ताकपडा, गरगहना र दर खाने प्रतिस्पर्धाको होड छ । तीजको अघिल्लो दिन शुद्घ शाकाहारी खाएर व्रत बस्ने चलन थियो । तर अहिले यसमा विकृति आएको छ । तीज पर्व नभएर दर पर्वको रुपमा रुपान्तरण हुन्छ । बिहे गरेर दिएका चेलीबेटी माइत जाने फुर्सद र समय नभएको हुनाले त्यसको मौलिकता थियो । अहिले त्यस्तो छैन, दिनमा एकपटक माइत पुग्न सम्भव छ । वैदेशिक रोजगारमा रहेका अधिकांशका श्रीमती माइतै बस्छन । त्यस्ता चेलीलाई न लिन जानुपर्ने न बोलाउनुपर्ने भयो । त्यसैले तीजको मौलिकता हराउँदै गएको हो । अझै कतिपय ठाउँमा बिहे गरेपछि बुहारीकै रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेका दिदीबहिनीहरु छन् । उनीहरुलाई मात्र यसको मौलिक महत्व हुन्छ ।


ग्रामीण तथा दुर्गम ठाउँमा आर्थिक अभावकै कारण महिला दिदीबहिनीहरुले राम्रो लाउन, मिठो खान पाएका हुँदैनन् । महिना दिनदेखि महङ्गो पार्टी प्यालेस, होटलहरुमा गहनाको प्रदर्शन गरेर दर खानुको सट्टा आर्थिकरुपमा विपन्न महिलाहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउँदा राम्रो हुन्छ । कति महिलालाई सीप प्रदान गरेर स्वरोजगार बनाएँ भन्ने प्रतिस्पर्धा गर्दा राम्रो हुन्छ । तिनीहरुसँगै रमाइलो गर्दै दर खाने कार्यक्रम गर्दा भोलिका चेलीबेटीले दुःख पाउँदैनन् । अब यसका लागि महिला सचेत हुनुपर्छ । सम्पन्न वर्गका महिला दिदीबहिनीले विपन्न वर्गका दिदीबहिनीलाई हातेमालो गर्दै तीज मनाउनसके यो पर्वको महत्व रहिरहनेछ । सबै दिदीबहिनी मिलेर दर खाउँ, नाचगान गरौं, रमाइलो गरौं ।
मौलिकलयमा फर्काउने प्रयास
विगतमा तीजमा तडकभडक भएको भनी धेरै बहस चलेका कारण सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाएको सुर्खेत महिला उद्यमी समितिका अध्यक्ष रुपाकुमारी भण्डारी बताउनु हुन्छ । । उनले महङ्गा गरगरहना र पहिरन नहुनेले तीज मनाउनै नसक्ने जस्तो अवस्था विगतमा सिर्जना गरिएको हुँदा गरीब र धनीको विभेद नहुने गरी मौलिक र सरलरुपमा तीज मनाईएको बताईन् । यद्यपि विदेशी बाजा र गानामा चोकचोकमा नाचगान गर्नेहरु यसपालि नदेखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश महिला समितिका सचिव गोमा ओली बताउँछिन । । ‘तीज भन्या जम्मा दुई दिनको चाड हो, एक दिन दरखाने र अर्को दिन व्रत बस्ने,’ उनले भनिन । तीज परम्परालले नेपाली समाजमा गहिरो प्रभाव छाडेकाले कतिपय बेथिति हटाउँदै पर्वको मौलिकस्वरुपलाई जोगाउने सचेतना बढेको उनी बताउछिन् । घरघरमा मात्र मनाउने पुरानो चलन भएतापनि सामूहिक रुपमा तीज मनाउने नयाँ चलनले महिलाको सामाजिक चेतना र एकताको स्तर बढाउन मद्दत पुगेको उनको भनाइ छ । आफ्ना–आफ्ना हक अधिकारका लागि सामूहिक छलफल गर्ने परिपाटीको विकास समेत तीजमा हुने भेलाबाट भएको ओली बताउनुहुन्छ ।


सोमबार बागीना समूहले वीरेन्द्रनगरको खुला मैदानमा सद्भावना मेला आयोजना गरेर तीजलाई भव्य र सभ्य रुपमा मनाउने कोसिस सार्थक नै देखियो । तीजको मूल्य मान्यता विपरित भड्किलो बन्दै गईरहेकाले सँस्कृति जर्गेनाको सन्देश दिन मेलाले केही हदसम्म सफल भएपनी रेडिमेडको गन्ध अझैपनि आईरहेको देखिनथ्यो । बागिना समूहका सल्लाहकार प्रेमदेव गिरीले दिदीबहिनीहरु सामुहिक रुपमा मादल बजाएर मौलिक भेषभुषा तथा गीतमा नाच्नुलाई मुलरुपमा आफ्नो कला संस्कृति तर्फ उन्मुख गराउने प्रयास भएको बताए । उनले भने, ‘भड्किलो भेषभुषा र गहनालाई निरुत्साहित गरि मौलिक कला सँस्कृतिलाई संरक्षण गर्ने हाम्रो प्रयास सार्थक भयो ।’ वरिष्ठ कलाकार गंगाबहादुर केसीले मेलामा आफ्नो उत्कृष्ट गीत, नृत्य, गायन तथा बादन लगायतमा दिदीबहिनीहरुले मौलिकता हराउँदै गएको परम्परालाई फर्काउने सुनौलो प्रयास भएको जिकिर गरे ।

प्रकाशित मिति : २०७६ भदौ १६ गते सोमबार
Translate »