औद्योगिक क्षेत्रको जग्गा ‘होल्ड’ गर्नेलाई कारवाही भएन

भदौ २०,सुर्खेत ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा उद्योगका नाममा जग्गा लिएर उद्योग सञ्चालन नगर्नेलाई कारवाही हुन सकेको छैन् । उद्योगका नाममा जग्गा लिएर महँगो रकममा अर्को व्यवसायीलाई भाडामा दिने जस्ता कार्यलाई निरुत्साहित हुन नसक्दा जग्गा ‘होल्ड’ गर्ने प्रबृत्ति बढेको हो । औद्योगिक व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्नेलाई प्राथमिकता दिनुको साटो जग्गा ‘होल्ड’ गर्नेलाई प्राथमिकता दिँदा उद्योगहरु रुग्ण भएका हुन् । उचित व्यवस्थापन नहुँदा उद्योग स्थापना भएको साढे तीन दशक वितिसक्दा समेत औद्योगिक क्षेत्रको हविगत उस्तै छ । औद्यागिक क्षेत्रमा रहेका उद्योगहरुले न त सुर्खेतको उद्योग व्यवसायमा टेवा पुगेको छ, न त यहाँ ठूला उद्योगहरु नै स्थापना हुन सकेका छन् । बरु जग्गा ओगेटेर उद्योग नै सञ्चालन नगर्ने प्रवृत्ती बढेको हो । विक्रम सम्वत २०३८ सालमा डेनमार्क सरकारको सहयोगमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा जग्गा ओगट्ने प्रवृत्ति पछिल्लो समय थप बढेको छ । औद्योगिक क्षेत्रको उचित व्यवस्थापन नहुँदा कतिपयले सहुलियतमा पाएको जग्गा महँगोमा अरुलाई भाडामा लगाएको उद्यमीहरु बताउँछन् । ९० रोपनी क्षेत्रफल रहेको औद्योगिक क्षेत्रमा ‘जग्गा’ होल्ड गर्नेलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाईएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जितनारायण बञ्जाडेले बताए । उनले जग्गा होल्ड गर्ने र जग्गा भाडामा लगाउनेहरुको लिस्ट निकालेर कारवाहीका लागि सिफारिस गरिने जनाए । उनका अनुसार विगतमा औद्योगिक क्षेत्र भित्रका उद्योगले जग्गा होल्ड गरेर भाडामा लगाएका हुन् । हाल नयाँ चारवटा निर्माणाधिन उद्योगहरुलाई जग्गा दिएर निर्माणको अन्तिम चरणमा पुगिसकेको उनी बताउँछन् ।

औद्योगिक क्षेत्रमा रहेका २८ वटा उद्योग मध्ये पानी उद्योग, काठ जन्य उद्योगहरु सञ्चालनमा रहेका छन भने केहि सञ्चालनका लागि पूर्वाधार निमार्णमा लागेका छन् । तर उद्योगको नाममा जग्गा लिएर कुखुरापालनपनि सञ्चालन गरिएको छ भने केही उद्योग बन्द गरेको पनि वषौं भएका छन् । औद्योगीक क्षेत्रमा रहेका उद्योगहरुलाई कच्चा पदार्थको अभाव हुने र विद्युतको समस्याले गर्दा उद्योगहरु बन्द हुने भएकाले जग्गा रोकिएको जस्तो देखिएको व्यवसायीहरुको भनाई छ । अनियमित विद्युत् लोडसेडिङ्गका कारण भएका उद्योगहरुले क्षमताअनुसार उत्पादन गर्न नसक्दा मजदूरले कामै नगरेपनि सेवासुविधा दिनुपर्ने बाध्यताका कारण नोक्सानीमा उद्योग चलाउनुभन्दा बन्द गर्ने निर्णयमा पुगेको सिद्धार्थ सःमिलका सञ्चालक हरि थापाले बताए । औद्योगिक क्षेत्र विस्तार योजना सफल हुन नसकेपछि उद्योगले क्षमता उन्नयका लागि जग्गा अभावमा विभिन्न समस्या भोग्नु परिरहेको उद्योगी कृष्णबहादुर राई बताउँछन् । उनले कच्चा पदार्थको अभावसँगै अनियमित विद्युत लोडसेडिङ्ग जस्ता कारणले जेनतेन उद्योग सञ्चालन गर्नुपरेको बताए । उद्योगका नाममा जग्गा लिने र उद्योग सञ्चालन गर्न नसकेको अवस्थामा व्यवसायीहरुले महंगो रकममा अर्को व्यवसायीलाई विक्री गरिने समेत गरिएको छ । उद्योगी क्षेत्रमा उद्योगहरुलाई लामो समयमासम्म जग्गा भाडा दिने र नविकरण समेत गर्न नपर्ने भएकाले उद्योग सञ्चालन नगरेका व्यवसायीहरुले महँगोमा अरुलाई दिने जस्ता कार्यलाई निरुत्सायी गरि उद्योगलाई प्राथमितामा राख्नु पर्ने देखिन्छ । अर्को तर्फ अनियमित विद्युतको अभाव र व्यवस्थापकीय कमजोरीका कारण आधा दर्जन उद्योेगहरु बन्द भएका छन् ।

Translate »