स्वास्थ्य संस्थामा फर्मासिष्ट अनिवार्य हुनुपर्नेमा जोड

‘जहाँ औषधी, त्यहाँ फर्मासिष्ट’

असोज ८, सुर्खेत ।
फर्मासिष्ट विना विरामीलाई औषधी दिँदा सेवन सही रुपमा हुन नसक्ने फर्मासिष्टहरु बताउँछन् । अन्तर्राष्ट्रिय फर्मासिष्ट दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा फर्मासिष्ट विनै विरामीलाई औषधी वितरण गरिँदा जोखिम समेत रहेको उनीहरुको भनाइ छ । मेहलकुना अस्पतालका फार्मेसी सुपरवाइजर उदयवीर शाहीले प्रत्येक स्वास्थ्य संस्थाहरुमा फर्मासिष्ट अनिवार्य हुनुपर्ने भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा विरामी मारमा परेको बताए । उनले डाक्टरको काम औषधी लेख्ने तर औषधीको सेवनबारे फर्मासिष्टले जानकारी दिने काम भएको जनाए । ‘स्वास्थ्य संस्थाहरुमा फर्मासिष्ट नहुँदा विरामीले औषधीको सहि प्रयोग नगरेको पाइएको छ,’ उनले भने, ‘औषधीको खाने विधि, प्रक्रिया फर्मासिष्टले दिन सक्ने भएकाले अन्यले औषधी दिँदा जोखिम बढी हुन्छ ।’


औषधी व्यवस्थापन विभागका सूचना अधिकृत तथा वरिष्ठ फर्मासिष्ट सन्तोष केसीले एउटा चिकित्साकले एकचोटि गरेको गल्ती गरे एक जना बिरामीको स्वास्थ्यमा असर पर्छ, तर एउटा फर्मासिष्टले त्यही एकचोटि गरेको गल्तीले हजारौं बिरामीहरुको स्वास्थ्यमा असर पर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र फार्मेसी भएपनि विडम्बना नेपालमा त्यस्तो हुन नसकेको जिकिर गरे । ‘कानुन छ, तर कारवाही हुँदैन, हुन्छ त केवल ‘नेपालको कानुन दैवले जानुन् । नियम बन्छ, तर कार्यान्वयन हुँदैन जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ,’ उनले भने, ‘सबै क्षेत्र केवल बन्छ त अस्तव्यस्त मात्र अनि कसरी हुन्छ विकास ? यसको जिम्मेवार निकाय को ? अनि कसले गरिदिने त्यसको अनुगमन ? अनि टाउकोमा हात राखेर भन्नै पर्ने बाध्य बनाइन्छ, बिग्रिएको घरको भत्किएको चाला ।’ उनले फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको खासै ध्यान पुग्न नसकेकाले औषधीजस्तो संवेदनशील क्षेत्रको विकासमा फर्मासिष्टहरुको काँधमा ठूलो जिम्मेवारी आएको बताए । औषधीको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुरा कहिल्यै नभुल्न नहुने उनको भनाइ थियो ।


‘फर्मासिष्ट स्तपाईंको औषधी विशेषज्ञ’ भन्ने नाराका साथ मनाईको अन्तर्राष्ट्रिय फर्मासिष्ट दिवसका अवसरमा नेपाल फार्मेसी संघ सुर्खेतले विविध कार्यक्रम गरि मनाएको अध्यक्ष सुन्दर आचार्यले बताए । उनले विहान ¥याली, अन्तरक्रिया, जन माविमा फार्मोसीबारे प्रशिक्षण तथा वीरेन्द्रचोकमा मोमवत्ती बाल्ने काम भएको जनाए । जहाँ औषधि त्यहाँ फर्मासिष्टको आवज बुलन्दै पार्दै फर्मासिष्टहरुले निकालेको ¥याली स्थानीय मंगलगढी चोकदेखि बजार परिक्रमा गरी पिपल चौतारा पुगेर सभामा परिणत भएको थियो ।


अदक्षले दिन्छन् औषधि, भाडामा फार्मेसी लाइसेन्स
जहाँ औषधि त्यहाँ फर्मासिष्ट भन्ने विश्वमा मान्यता भएपनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधी बेचिरहेका भेटिन्छन् ।

यसको प्रमुख कारण हो फर्मा्स्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता । औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फर्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ ।


सरकारले औषधी पसलको अनुगमनमा कडाइ गर्ने
सरकारले औषधी पसलको अनुगमनमा कडाई गर्ने भएको छ । चिकित्सकको प्रेसक्रिप्सन विना नै औषधी बिक्री वितरणको काम भइरहेकाले अनुगमनको काममा कडाइ गरिने सरकारको भनाइ छ । औषधी पसलको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको छ । औषधी पसलहरुको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Translate »