प्रदेश अस्पतालमा निःशुल्क औषधी पाउनै मुश्किल

जीवनजल, आइरन चक्की जस्ता सामान्य औषधी समेत पाईदैनन्

स्काई न्यूज दैनिक/असोज २७, सुर्खेत ।
कर्णाली प्रदेश अस्पताल परिसरमा खोलिएका औषधी पसलहरुमा औषधी अभाव हुने गरेको छ । यस दैनिकले  सोमबार गरेको  स्वतन्त्र अनुगमनमा अस्पतालले आफ्नो हाताभित्र स्वयंले सञ्चालनमा ल्याएको औषधी पसलमा समेत आवश्यक औषधी तथा उपकरण उपलब्ध नरहेको पाएको हो । त्यति मात्र होइन, अस्पतालमा निःशुल्क औषधी पाउनु त हात्तीको दाँत चपाउने जस्तै देखिएको हाम्रा सम्वाददाता बताउँछन् । केही औषधी तीन महिनादेखि सकिएको हो भने अधिकांश औषधी असोज महिना लागेलगत्तै सकिएको अस्पतालले जनाएको छ ।


सरकारले ७२ बढी किसिमका औषधीहरु निशुल्क वितरण गर्दै आएको छ । त्यस्ता निशुल्क भनिएका औषधी वितरण नगरे सरकारले कारबाहीको व्यवस्था समेत गरेको छ । सरकारी स्वास्थ्य संस्थाहरुले वितरण नगरे आवश्यक अनुगमन गरि कारबाही गर्ने सरकारले चेतावनी दिँदै आएपनि सुर्खेतमा भने कारवाही गरेको पाईदैन् । कर्णाली प्रदेश अस्पतालमा अहिले केही औषधी बाहेकका औषधीहरु पाउनै मुश्किल छ । यसले गर्दा सेवा लिन आउने सेवाग्राही पर्याप्त मात्रामा सेवा लिनै कठिनाई भएको बताउँछन् । सरकारले उपलब्ध गराउँदै आएको सिमित रकमले सेवाग्राहीलाई औषधी पु¥याउनुपर्ने र माग अनुसारको औषधी धान्न धौधौ परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्मर खड्काले बताए । उनले पर्याप्त वजेट अभावमा आवश्यक मात्रामा निशुल्क औषधी उपलब्ध गराउन नसकिएको स्वीकार गरे ।


अस्पतालमा औषधी नभेटीएपछि सेवाग्राही निजी क्लिनिकबाटै औषधी किन्न बाध्य छन् । अस्पतालबाट नियमित रुपमा प्रेसर र सुगरका औषधी सेवन गर्दै आएका बिरामी बढी समस्यामा परेका छन् । टाढा–टाढाबाट औषधी लिन आएका नागरिकले अस्पतालमा औषधी छिट्टै ल्याउनुपर्ने माग गरेको अस्पतालका फार्मेसी सुपरवाईजर डोनराज मगरले बताए । उनले नियमित माग हुने निशुल्क औषधी जति सकिएको र डाक्टरले सिफारिस नै नगरेर बचेको औषधीको पनि म्याद सकिनै लागेको जनाए । औषधी अभाव भएको बारेमा पटक–पटक सम्बन्धित पक्षलाई जानकारी गराउँदा पनि आपूर्ति हुन नसकेको उनको भनाइ छ । उनका अनुसार निशुल्क औषधी वितरण कक्षमा औषधी नपाएर दैनिक ४० बढी विरामी फर्कने गरेका छन् । ‘अहिले सामान्य आइरन चक्की र जीवन जल समेत उपलब्ध छैन,’ उनले भने, ‘चेक जाँच गराएर गर्भवती महिलाहरुलाई रित्तै फर्काउनु परिरहेको छ ।’


गर्भ चेक जाँच गर्न आएकी स्थानीय सन्ध्या चौधरी आईरन चक्की नपाउँदा निराश बनिन् । ‘सरकारले निशुल्क दिने औषधी पनि अस्पतालमा नपाउने कस्तो हाम्रो देश’ उनले निराशा र प्रश्न गरिन् । सरकारले निशुल्क भनेर घोषणा गर्ने तर अस्पताल गएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताइन् । सन्ध्या जस्तै वीरेन्द्रनगर आसपासका क्षेत्रबाट आउने सबै गर्भवती महिलाहरु आइरन चक्की पाउनबाट बन्चित रहेका छन् ।


औषधी खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यो वर्ष आउन ढिलाई भएकाले गत वर्षको औषधी नै वितरण गरिरहेको अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेतले बताए । उनले निःशुल्क औषधी खरिदका लागि भदौंमा रकम आएकाले अब टेण्डर प्रक्रियामा गएर छिट्टै आपूर्ति हुने जनाए । ‘प्रदेशकै चर्चित अस्पतालमा निःशुल्क औषधीका लागि रकम अभाव हुँदै आएको छ,’ उनले भने, ‘पर्याप्त औषधी व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन पक्ष र प्रदेश सरकार वीच छलफल भईरहेको छ ।’ उनले पहिलेको मौज्दात औषधी राखेर अहिलेसम्म विरामीलाई केही मात्रामा निशुल्क वितरण गरिएको बताए ।
हिजोआज मौषममा आएको परिवर्तनले भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला अस्पतालमा भने औषधीको अभाव छ । औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन् । चिसो बढ्दै गएको र रुघा खोकी तथा मौसमी रोगका विरामीहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेको भएपनि औषधी अभाव हुँदा समस्या परेको हो । अस्पताल भित्रको पसलमा उपलब्ध औषधी सस्तो हुने तर त्यहाँ पर्याप्त औषधी नभएपछि महंगो रकम तिरेर बाहिरै किन्नुपर्ने बाध्यता रहेको वीरेन्द्रनगर–२, निवासी कालुराम सुनारले बताए । उनले भने, ‘यहाँ पाउने औषधी किन्दा अलि सस्तो पर्छ । यहाँ नपाउने औषधी किन्न बाहिर पठाउँछन् ।’


चिकित्सकहरुले बिरामीलाई औषधी सुझाउँदा जेनेरिक अर्थात् त्यसमा रहेको रासयनिक मिश्रणको नामबाट नभइ ब्राण्ड अर्थात् व्यापारिक नाममा लेखिदिने प्रचलन छ । तर सरकारी अस्पताल स्वामित्वका औषधी पसलमा धेरै ब्राण्डका औषधी नहुँदा बिरामीहरु मर्कामा परेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले बताए । उनले अस्पतालमा आवश्यक औषधी नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा औषधी खरीद गर्न बाध्य भएको बताए । ‘सरकारी स्वास्थ्य संस्थाहरुले विरामी अनुरुपको औषधी दिन नसकेपछि स्थानीय सर्बसाधारणले बाहिर निजी औषधी क्लिनिकबाट औषधी किन्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘सामान्य उपचार गर्नलाई औषधी अभावको समस्या हुँदा गम्भिर प्रकृतिका विरामीहरुको ज्यानको जोखिम हुने गरेको छ ।’ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुया¥उनका लागि सरकारले ल्याएको निशुल्क औषधी वितरण नीतिले पहाडी र विकट जिल्लाका सेवाग्राहीलाई खासै प्रभाव नपारेको उनको बुझाई छ ।

Translate »