चौकुनेमा कृषि तथा वन विज्ञान अध्ययन तयारी

पूर्वाधार निर्माणका लागि ‘महायज्ञ’

लक्ष्मी विक/ कात्तिक ३, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पश्चिम सुर्खेतको चौकुनेमा कृषि तथा वन विज्ञान अध्ययनका लागि आवश्यक तयारी शुरु गरेको छ । विश्वविद्यालयले सिनेटबाटै नीतिगत तथा कानूनीरुपमै निर्णय गरि सकेकाले आउँदो शैक्षिक सत्रदेखि पूर्वाधार निर्माणसँगै अध्ययन तथा अध्यापन शुरु गर्ने योजना बनाएको हो । स्नातक तहको कृषि पाठ्यक्रम निर्माण भईसकेकाले यसै वर्षदेखि भौतिक संरचना निर्माण गरि आउँदो शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु गरिने विश्वविद्यालयको लक्ष्य रहेको छ । चौकुनेमा कृषि तथा वन विज्ञान अध्ययन तथा अध्यापनका लागि आवश्यक स्रोतसँगै उर्वर भूमि रहेकाले कर्णाली प्रदेशकै नमूना स्थल भएको विश्वविद्यालय स्रोतको दावी छ । ‘विश्वविद्यालयसँगै सरकार तथा स्थानीय नागरिकको अपार सहयोग तथा समन्वय रहेकाले आवश्यक स्रोत साधन सहजै उपलब्ध हुने थुप्रै आधारहरु रहेका छन,’ स्रोतले भन्यो, ‘यसबाट कर्णालीसँगै सुदूरपश्चिम प्रदेश वरपरका जनताका लागि गर्व गर्न लायक एक अध्ययन संस्थान निर्माण हुनेछ ।’ मप विश्वविद्यालयले स्थापना गर्न लागेको आफ्नो पहिलो कृषि तथा वन विज्ञान संकायलाई आफ्नो आधारभूत अध्ययन संस्थानको रुपमा विकास गर्ने योजना बनाएको छ । सरकारी स्तरबाट समेत कर्णाली प्रदेशकै पहिलो कृषि तथा वन विज्ञान अध्ययन संस्थान भएकाले राष्ट्रिय स्तरको बनाउने तर्फ सबैको जोड देखिन्छ,’ पश्चिम सुर्खेत समाजसेवी काशीराम देवकोटा बताउँछन ।

प्राविधिक धारको उक्त संकाय निर्माणका लागि विश्वविद्यालयले छिटो भन्दा छिटो जग्गा उपलब्ध गराउन स्थानीय सरकारलाई जोड दिएको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले सबैको अथक प्रयास, माग र योगदानको फलस्वरुप छिट्टै कृषि तथा वन विज्ञान क्याम्पस चौकुनेमा विधिवतरुपले सञ्चालनमा आउने जनाए । ‘पवित्र उद्देश्यका लागि कृषि तथा वनविज्ञान क्याम्पस स्थापना गर्न लागेको जगजाहेर नै छ,’ उनले भने, ‘कृषि तथा वन विज्ञान अध्ययन केन्द्र प्राप्तिका लागि सिङ्गो यहाँका जनता, राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, वुद्धिजीवि, प्राध्यापक विद्यार्थी सबैको योगदान र भूमिका उत्तिकै महत्वपूर्ण रहने छ । यो उपलब्धीमा गर्व गर्ने अधिकार हरेक नागरिकलाई छ ।’ उनले तत्काल पूर्वाधार निर्माणको आधारभूत कामका लागि केही कानूनी एवं व्यवहारिक अप्ठेराहरुलाई पार गर्दे कृषि तथा वन विज्ञान स्थापनाको औचित्य पुरा हुने जिकिर गरे । क्याम्पस स्थापना पछि यस क्षेत्रको समग्र विकास, विस्तार तथा गुणस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि शिक्षा प्रदान गर्ने निकायको खाँचो पुरा हुने उनको विश्वास छ । ‘अहिले प्राविधिक जनशक्ति नहुँदा चौकुनेमा मात्र होइन पुरै प्रदेशको विकास निर्माणका कामहरुमा समेत कठिनाई भईरहेको छ,’ उनले भने, ‘अब कृषि, भेटेरीनरी तथा वन विज्ञान अध्ययन संस्थान स्थापना गरी दक्ष जनशक्ति उत्पादतर्फ हामी अग्रसर भईरहेका छौं ।’ उनले प्राविधिक जनशक्ति अभावकै कारणले कृषि प्रणालीमा प्रतिकुल असर पर्दा किसानका खेत,बारीका पाखाहरु सुक्नुका साथै वन क्षेत्र घट्दै गईरहेको जिकिर गरे । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आधुनिकिकरण गर्न, थोरै जनशक्तिका माध्यमबाट पर्याप्त आम्दानी लिन र प्राविधिक शिक्षालाई किसानहरुसँग लगेर जोड्न कृषि तथा वनविज्ञान अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।


पूर्वाधार निर्माणका लागि महायज्ञ
चौकुनेको गुटुमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि कार्तिक २२ देखि २९ गतेसम्म महायज्ञ सञ्चालन गर्ने तयारी गरिएको छ । ‘प्राविधिक शिक्षाको पूर्वाधार, समृद्ध चौकुनेको आधार’ भन्ने मूल नाराका साथ पहिलो पटक चौकुने गाउँपालिका–८, गुटुमा धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको हो । कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि करिब ५ करोड आर्थिक संकलन जुटाउने उद्देश्यका साथ धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए । उनले आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि छिटो भन्दा छिटो भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने भएकाले सर्वसाधारणबाट सहयोग संकलन गर्न महायज्ञ सञ्चालन गर्नु परेको स्पष्ट पारे । ‘भौतिक संरचना निमार्णका लागि आठ बिगाह जग्गा आवश्यक पर्ने भएकाले तत्काल जग्गा प्राप्तिका लागि स्रोत जुटाउनु पर्ने देखियो,’ उनले भने, ‘यद्यपि ! क्याम्पस निर्माणका लागि गुटुका स्थानीयद्वारा उपलब्ध ४० विगाहा ऐलानी जग्गामा सरकारी संरचना बनाउन कानूनी चड्चन रहेकाले तत्काल लालपुर्जा भएको जग्गा खरिद गर्नुको विकल्प छैन ।’

अहिले हाम्रो ध्यान भौतिक पूर्वाधार निर्माणको काम शुरु गराउन लालपूर्जा भएको जग्गा खरिदका लागि आवश्यक स्रोतको खोजीमा रहेको उनी बताउँछन् । उनले पहिलो चरणमा महायज्ञबाट ४० लाख बराबरको रकम दानदाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त गर्ने सहमति भएको जनाए । महायज्ञमा ११ सय कलस विक्री, करिब डेढ सय जेष्ट नागरिकद्वारा तुलादान, ५० जनाको सामुहिक ब्रतबन्ध, करिव ५० जनाको ८४ पूजा लगायतका कार्यक्रमहरु रहेको उनको भनाइ छ । उनका अनुसार महायज्ञमा ५ हजार रुपैयाँ भन्दा बढी दान गर्ने दाताको नाम शिलापत्रमा लेखिने कार्यक्रम समेत रहेको छ । महायज्ञलाई सफल बनाउन मूल समितिसहित २१ वटा विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार उप समितिका संयोजक गोरखबहादुर शाहीले जानकारी दिए । उनले कृषि तथा वन विज्ञान संस्थानलाई नेपालकै नमूना संस्थानका रुपमा विकास गर्न कुनै कसर बाँकी नराखिने बताए । उनका अनुसार अहिले पहिलो चरणमा महायज्ञलाई सफल बनाउन प्रचारप्रसारका लागि सबै सञ्चार माध्यम तथा सर्वसाधारणसँग आग्रह गरिएको छ ।

Translate »