आयुर्वेदमा बढ्दो जनविश्वास, घट्दो सेवा

प्रदेश आयुर्वेद औषधालय

स्काई न्यूज/ कार्तिक ६, सुर्खेत ।
पछिल्लो समय ग्रामीण वस्तीसँगै शहरी क्षेत्रका बासिन्दामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले ढिलो रोग निको भएपनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको हो । कर्णाली प्रदेश सरकारले आयुर्वेद औषधीको फाइदा बारेमा प्रचारप्रसार गरेसँगै प्रदेश आयुर्वेद औषधालयको उपचार कक्षमा बिरामीको घुइँचो नै लाग्ने गरेको छ । सुर्खेत वीरेन्द्रनगरकी ७६ वर्षीया ईन्द्रिरा ढकाल ७ वर्ष अघिबाट बाथरोगको समस्याले थला परेकी थिइन । गाउँकै मेडिकलमा सुई लगाएर केही राहत त पाउँथिन् तर समस्या फेरि बल्झिइ रहन्थ्यो । यो वर्ष भने उनी सुई लगाउन मेडिकल गएकी छैनन । गत बिहीबार प्रदेश आयुर्वेद औषधालयमा त्यही समस्या लिएर आइन । गत असारबाट साताको २ दिन आयुर्वेदिक औषधालयबाट पञ्चकर्म विधि (आयुर्वेदिक औषधिहरुको बाफ लगाएर उपचार गर्ने विधि) बाट उपचार शुरु गरिरहेको छ । उनले आयुर्वेदिक विधिबाट उपचार गराउँदा राहत मिलेको महसुस गरिन ।

जाडोयाम शुरु हुना साथ गाउँघरमा बुढापाकाहरुको व्यथा बढ्न थाल्छ । घुँडा, हातका जोर्नी, कम्मरलगायत शरीरका विभिन्न भागहरु दुख्न थाल्छन । खपी नसक्नु दुखाइले ज्येष्ठ नागरिकहरु पिरोलिन थाल्छन । कतिपय उपचार गर्दागर्दै थाक्छन । दिनहुँको पिरलोले परिवारका सदस्यहरुले पनि कष्ट बेहोर्नुपर्ने अवस्था आइलाग्छ । डाक्टरहरु वृद्धावस्थामा बढी देखापर्ने जोर्नी दुख्ने समस्यालाई बाथ रोग भन्छन । पछिल्लो समय बाथ रोगीहरुको आयुर्वेदिक उपचार विधितर्फ विश्वास बढ्न थालेको छ । तर उनीहरुको विश्वास बढेझैं सरकारले सेवा भने विस्तार गर्न सकेको छैन । बरु त्यस क्षेत्रतर्फ सरकारको लगानी घटदै गएको महसुस बिरामीहरुले गर्न थालेका छन । ६० वर्षीया मेनका बयक पनि मेडिकलको सुई लगाएर थाकेको भन्दै उपचारका लागि आयुर्वेदिक औषधालयमा पुगेकी छन । ‘पैसाको सत्यानास भयो तर रोगले सताउन छाडेन,’ मेनकाले सम्झँदै भनिन, ‘आयुर्वेद उपचारमा लागेपछि कम्मरमा सुन्निएको भाग सन्चो छ, राति निद्रा पनि पर्न लागेको छ ।’



ईन्द्रिरा र मेनका मेडिकलको उपचारभन्दा आयुर्वेदको उपचारबाट बाथ रोग लागेका बुढापाकाको विश्वास बढदै गएको बताउँछन । गत साता आयुर्वेदिक औषधालय पुग्दा बाथरोगी बुढापाकाहरुको घुइँचो थियो । औषधालयमा कार्यरत वैद्य निरीक्षक दिपेन्द्र कँडेलले दिनमा १ सय जनासम्म रोगी आउने गरेको सुनाए । कार्यरत स्वास्थ्यकर्मीहरुलाई बाथ रोगीको उपचारका लागि भ्याईनभ्याई थियो । पहिलोपटक उपचारका लागि आएका चौकुने गाउँपालिका–८, का लक्ष्मीबहादुर बयकले भने उपचार सेवादेखि नै वाक्क भए । बिरामीको घुइँचो लाग्दा औषधालयमा सीमित कर्मचारीले काम चलाइरहेका थिए । दिउँसो १२ बजेबाट उपचारका लागि पालो कुर्दा २ बजे मात्र उनले समय पाए । ‘यो विधिबाट उपचार ठिक हुन्छ भनेर गाउँदेखि खर्च गरेर आएँ,’ बयकले भने, ‘तर साँघुरो कोठा, न्यून स्वास्थ्यकर्मी देख्दा दिक्क लाग्यो ।’ भेरीगंगा नगरपालिका–१, लेखपराजुलकी गोमती वलीले पनि सेवाप्रति चित्त बुझाइनन । उपचारका लागि बुढेसकालमा दुस्ख पाउनुपरेको उनको दुखेसो छ । ‘एउटै अँध्यारो कोठा रहेछ, पालो कुर्नुपर्ने,’ उनले भनिन, ‘महिला÷पुरुष सबैको त्यहीँ उपचार हुँदा लुगा फुकाल्न, फेर्न अप्ठ्यारो महसुस भयो ।’ उनले महिला÷पुरुषका लागि बेग्लाबेग्लै स्वास्थ्यकर्मी र कोठा हुनुपर्ने माग राखिन । उपचारका लागि आउने अधिकांशले उपचार विधिमा विश्वास बढे पनि सेवाप्रति असन्तुष्टि पोखे ।


के हो बाथ रोग
प्रदेश आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डाक्टर शंकरप्रसाद रिजालका अनुसार बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । १ सय भन्दा बढी प्रकारका बाथ रोगहरु मध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए पनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।
संरचना र जनशक्ति अभाव
सुर्खेतस्थित प्रदेश आयुर्वेदिक औषधालयमा उपचारका लागि दिनहुँ बिरामीहरुको घुइँचो लाग्ने गरे पनि उपचार सामग्री, भौतिक संरचना र जनशक्तिको व्यवस्थापन हुन सकेको छैन । जिल्ला औषधालयमा रहेका ४ कोठा मध्ये ३ वटा कार्यालयका अन्य काममा प्रयोग छन । एउटा साँघुरो कोठामा मात्र बिरामीहरुलाई उपचार गर्नुपर्ने बाध्यता छ । उपचार सेवा प्रभावकारी गर्न प्रदेश औषधालयमा डाक्टरसँगै अन्य स्वास्थ्यकर्मीको दरबन्दी आवश्यक देखिन्छ ।


बजेटको अभावले सास्ती
प्रदेश आयुर्वेद औषधालयले बाथ रोगीको उपचार सेवा प्रभावकारी बनाउन कर्मचारीको दरबन्दी बढाउन आवश्यक रहेको जनाएको छ । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले पहिले भन्दा अहिले औषधालयको स्तर धेरै माथि उठेको भएपनि थप राम्रो बनाउन बजेट आवश्यक रहेको औल्याए । उनले औषधालयका लागि तत्काल भौतिक संरचनासँगै दक्ष जनशक्ति आवश्यक रहेको बताए । उनका अनुसार कर्मचारी नहुँदा बाथरोगीले दिनहुँ पाउनुपर्ने सेवा उपलब्ध गराउन समेत कठिनाई भईरहेको छ ।
लगानी बढाइएको दाबी
सरकारले पछिल्लो समय आयुर्वेदिक क्षेत्रमा लगानी बढाइरहेको दाबी औषधालयका अध्यक्ष ढकाल बताउँछन् । उनले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश आयुर्वेद औषधालयलाई नमूना बनाउन भौतिक संरचनासँगै कर्मचारी व्यवस्थापनका लागि केही समय पर्खन आफुहरुलाई आश्वासन दिएको जनाए । उनका अनुसार सुर्खेतमा प्रदेशकै रुरल फार्मेसी स्थापनासँगै जडिबुटी संकलन केन्द्र निर्माणका लागि प्रदेश सरकारबाट पहल भईरहेको छ ।

Translate »