समृद्धिको ढोका खोल्दै पश्चिमको जामु पुल

रुटपर्मिट नहुँदा सास्ती

स्काई न्यूज /कार्तिक २३, सुर्खेत ।
२०७१ सालमा आएको बाढीका कारण उर्लेको भेरीले सम्पर्क विच्छेद बनाएको पश्चिम सुर्खेतका बासिन्दालाई पञ्चपुरी नगरपालिका–५, जामुमा मोटरेवल पुल बनेपछि सम्बन्ध मात्र होइन, समृद्धिको ढोका समेत खोलेको छ । अहिले भेरी नदी माथि पक्की पुल बनेको कारण सहज आवागमनसँगै विकासका नयाँ आयामहरु कोरिन थालेका छन् । यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर डुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम पुग्न ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका भगे कामीले बताए । ‘राति भेरी नदी तर्न निकै समस्या हुने गरेको थियो,’ उनले भने, ‘भेरीमा २०७१ मा ठूलो बाढीले जामुमा रहेको झोलुङ्गे पुल बगाउनुका साथै ९३ परिवार विस्थापित भएका थिए ।’ भेरी घटेको बेला डुंगाबाट आउजाउ हुने गरेपनि भेरी बढ्दा आवागमन विच्छेद हुने गरेको थियो । तर अहिले जामुको भेरी नदीमा ३५० मिटर लामो पक्की पुल निर्माण भएपछि गाउँलाई सिधा सडक सञ्जालले शहरसँग जोडेको छ । उक्त पुललाई अहिले समृद्धिका रुपमा हेरिएको छ ।

पुल बनेपछि गल्फा र तिखाकुना गाउँलाई मात्र जोडेको छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्ट ट्¥याक बन्ने छ,’ पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले भने, ‘जामु पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पु¥याउने भएकाले पुल निर्माणबाट पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्दैछ ।’ उनले सामरिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिएको त्रिदेशीय चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्¥याक निर्माणका लागि समेत आफु गम्भीर रुपमा प्रयासरत रहेको बताए । सरकारले केन्द्रीय प्राथमिकतामा राखेर उक्त फाष्ट ट्¥याकलाई कर्णाली कोरिडोरहँदै तिब्बतसँग जोडिने योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ । फाष्ट ट्¥याक निर्माणपछि सुर्खेत, अछाम, कैलाली बाजुरा, डोटी र साविक कर्णालीका चार जिल्लाका ३० लाख बढी जनता प्रत्यक्ष लाभान्वित हुने छन् ।
रुटपर्मिटको समस्या
अहिले पञ्चपुरी नगरपालिकाकै कुइने, तातापानीदेखि जामुपुल हुँदै चौकुनेको गुटु, बाबियाचौर, बराहतालको बड्डीचौर तथा सदरमुकाम वीरेन्द्रनगरलगायतका सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि सडक स्तरोन्नती तथा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको छ । रुट परमिट नभएका यात्रुबाहक सवारी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएपछि यात्रु मारमा पर्ने गरेका छन् । अहिले वीच–वीचमा प्रशासनले चेकजाँच गर्न थालेपछि सवारी साधन नचल्दा यात्रु नै बढी मारमा पर्ने गरेको नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले बताए । उनले सडकमा यात्रुबाहक सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले रुट पर्मिट नदिएका कारण समस्या भएको जनाए ।

‘सडक नपुगेका स्थानसम्म सडक पु¥याउनुको साटो रुटपर्मिटका नाममा यातायातका सवारी साधनमा रोक लगाउनु गलत हो,’ उनले भने, ‘ सडक पहुँच पर्याप्त हुन नसकिरहेका बेला यस क्षेत्रका अधिकांस नागरिक भारतलगायत वैदेशिक रोजगारीबाट फर्किने हुँदा सवारी साधन सञ्चालनमा रोक नलगाउन म आग्रह गर्दछु ।’ उनले नागरिकलाई सहजरुपमा आवत–जावत गर्न पाउने गरि विकल्पसहित यातायातका सवारी साधन  सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई सुझाव दिए । यता स्थानीय प्रशासनले भने यात्रुको चाप बढी हुने भएकाले क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना हुने हुँदा रुटपर्मिट नभएका सडकमा कडाई गरिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले यात्रालाई सुरक्षित तथा मर्यादित बनाउन शान्ति सुरक्षासँगै सवारी दुर्घटना रोकथामका लागि चेकजाँचमा कडाई गरिएको बताए । उनले रुटपर्मिट नभएका सडकमा सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुका साथै बढी भाडा असुल्ने गरेको गुनासो आईरहेकाले अनुगमन बढाईएको जनाए । रुटपर्मिट नभएका सडकमा सवारी साधनमाथि स्थानीय प्रशासनले कडाई गरेपछि सर्वसाधारण नागरिक नै समस्यामा पर्ने गरेका छन् ।  यता पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले रुट परमिट दिन प्रक्रियागत रुपमा केही दिन लाग्ने भएकाले अस्थायी रुट परमिट जारी गरेर तत्कालका लागि समस्या समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरे । तर, अस्थायी रुट परमिटका लागि प्रक्रिया भने अघि बढेको छैन । अस्थायी रुट परमिट लिन तत्काल सम्भव नरहेको यातायात व्यवसायीहरु बताउँछन् । पश्चिम सुर्खेतका विभिन्न स्थानमा जाने यात्रुवाहक बसको रुटपर्मिट नभएपछि सवारी साधन सञ्चालनमा कठिनाई आउने गरेको छ । सवारी साधन सञ्चालन रोकले स्थानीय नागरिकले दुःख पाएको भन्दै समाधानको बाटो तत्काल खोज्न सरोकारवालाले माग गरेका छन् ।

Translate »