योजनाबारे लक्षित वर्ग नै अनभिज्ञ

सुर्खेतका स्थानीय तह...

स्काई न्यूज /मंसिर १९, सुर्खेत ।
स्थानीय तहले सञ्चालन गरेका योजनाबारे प्रत्येक चौमासिकमा अनिवार्य रुपमा स्थानीयवासीलाई जानकारी गराउनुपर्छ । उनीहरुको सल्लाह, सुझाव र जनगुनासोका आधारमा भावी नीति तथा योजना सञ्चालन गर्नुपर्ने हुन्छ । तर सुर्खेतका अधिंकाश स्थानीय तहले सुशासनको मापदण्ड पूरा गरेको पाइँदैन । पाँच नगरपालिका र चार ओटा गाउँपालिका रहेको सुर्खेतका अधिंकाश स्थानीय तहले सार्वजनिक सुनुवाइ गरेका छैनन, जस कारण स्थानीय तहका कामकारबाही अपारदर्शी बन्दै गएका छन् । विकास योजना र कामबारे जानकारी नै नपाइने समस्या रहेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माको गुनासो छ । स्थानीय बासिन्दासँग छलफल नै नगरी ल्याइएका योजनाबारे धेरै अनभिज्ञ रहेको उनको भनाइ छ । जिल्लाका चौकुने, पञ्चपुरी, बराहताल, भेरीगंगा, गुर्भाकोट, सिम्ता, अवलचिङ्ग र लेखबेसीलगायतका स्थानीय तहले ल्याएका योजनाबारे स्थानीयवासीलाई जानकारी छैन । ‘गाउँमा विकास निर्माणले गति लिएको छ,’ चौकुनेका नवराज देवकोटाले भने, ‘तर सम्बन्धित योजना कसले सञ्चालन गरेको हो भन्ने थाहा हुँदैन ।’ चौकुने–८, मोतीसेरादेखि विराउनीसम्म जाने बाटोमा गिट्टी (ग्राभेल) गरेर बाटो निर्माण गरिएको छ । तर उक्त बाटो बनाउने निकाय, निर्माण लागत आदिबारे गाउँलेलाई अझै थाहा छैन ।

त्यस्तै लेकवेशी नगरपालिकाले कृषिमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, उक्त कार्यक्रमबारेमा किसान भने अनविज्ञ छन् । कृषि कार्यक्रम ल्याउँदा स्थानीय सरकारले किसानसँग समन्वय नगर्दा किसान उक्त कार्यक्रमप्रति अनविज्ञ भएका हुन् । कृषिको उत्पादन र बजारीकरणको सम्भावना बोकेको यहाँ किसानसँग छलफल नगरेरै कृषि कार्यक्रम ल्याउँदा किसानमुखी कार्यक्रम नभएको यहाँका किसानको भनाइ छ । ‘नगरपालिकाले कृषिमा कुन कुन र कस्ता कार्यक्रम ल्याएको छ हामीलाई थाहा छैन,’ समृद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर रानाले भने, ‘कार्यक्रम ल्याउँदा हामीसँग सहकार्य र समन्वय भएन ।’ समृद्धि कृषि सहकारी संस्था लिमिटेड जिल्लाको राम्रो सहकारी मध्येको एक हो । किसानसँग समन्वयन गरी आएका कार्यक्रममा भ्रष्टाचारको बढी सम्भावना हुने राष्ट्रिय कृषक समूह महासंघ सुर्खेतका उपाध्यक्ष शसिराम आचार्यले बताए । किसानको मागभन्दा अनुमानको भरमा कृषि कार्यक्रम आएको उनको भनाइ छ । लेकवेशी नगरपालिकाअन्तर्गतको कृषि शाखाका प्रमुख गंगाराम चौधरीले कृषि समितिको बैठकबाट आएका कार्यक्रम समावेश भएको बताए । उक्त कृषि समूहमा किसान र कृषिसँग सम्बन्धित व्यक्ति भएकाले समितिबाट आएका राय सुझावका आधारमा कार्यक्रम पारित भएको उनको भनाइ छ । जनशक्ति अभावले गर्दा कर्मचारी किसानका घरघरमा जान समस्या भएको उनले बताए ।


वीरेन्द्रनगर नगरपालिकाले पनि नगरस्तरीय योजना अन्तर्गत विभिन्न वडाहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरेपनि स्थानीय बासिन्दा भने अनभिज्ञ नै रहने गरेका छन् । ‘वीनपाले कुन कार्यक्रम, कहिले र कुन ठाउँमा, कति वितरण र के गर्दैछ भन्ने हामीले केही थाहा हुँदैन,’ वडा नम्वर ९, का स्थानीय डिलबहादुर खत्रीले भने । उनले योजनाबारे स्थानीय तहले लक्षित वर्गलाई जानकारी नदिनु विडम्बना भएको बताए । ‘स्थानीय सरकारले योजना तर्जुमा गर्दा स्थानीय स्तरमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘तर योजना तर्जुमामा स्थानीयवासीको सहभागिता नहुँदा र सार्वजनिक सुनुवाइ नगरिँदा स्थानीय तहको कामकारबाही अपारदर्शी बन्दै गएको उनको बुझाइ छ । भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले नगरका हरेका सूचना तथा योजनाबारे नगरवासीलाई जानकारी दिने गरेको दाबी गरे । साथै नगरपालिकाको सूचना अधिकारी वा योजना शाखाबाट पनि सञ्चालित योजनाबारे बुझ्न सकिने उनले बताए ।

Translate »