श्रम संस्कृति बसाल्न अनिवार्य श्रमदान

लक्ष्मी वि.क / पुष १, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रत्येक महिनाको १ गते श्रम दिवस मनाउँदै आएको छ । सरकारले हरेक महिनाको १ गते दिवस मनाउने घोषणा गरेसँगै पहिलोपटक राजधानी बाहिर मंगलबार कालिकोट सदरमुकाम मान्ममा श्रम दिवस मनाएको हो । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, जिल्ल्ला स्थित कर्मचारी तथा स्थानीय बासिन्दालगायतले सदरमुकाम मान्ममा निर्माणधिन अवस्थामा रहेको रिङ्रोडमा श्रम गरेर दिवस मनाएका हुन् ।
श्रम दिवस कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समाजमा श्रम संस्कृति बसाल्न श्रम दिवस मनाउन शुरु गरिएको बताए । ‘काम ठूलाले होइन, सानाले मात्र गर्नुपर्दछ भन्ने संस्कृतिको अन्त्य गर्नुका साथै श्रमलाई सम्मान गर्नुपर्दछ भन्ने सन्देश प्रवाह गर्न कर्णाली प्रदेश सरकारले श्रम दिवस मनाउने कार्यको थालनी गरेको हो,’ उनले भने, ‘हाम्रो समाजमा अहिले पनि सामन्तवादी संस्कृति छ । काम गर्नेलाई कमजोर हुन् भन्ने ठानिन्छ । यस्तो सोच र दृष्टिकोणले समाज विकास होइन, अद्योगति तिर लैजान्छ, त्यसैले श्रमलाई सर्वोपरी ठान्ने संस्कार रिति बसाल्नु पर्छ ।’ उनले प्रदेश सरकारले गत वर्षको प्रदेश समन्वय परिषद्बाट यहाँका ७९ वटै स्थानीय सरकारहरुलाई श्रम नीति अनुसार कार्ययोजना बनाएर कामगर्न निर्देशन दिईसकेको समेत जानकारी दिए ।

‘मुख्यमन्त्री सहभागी भएमात्र सरकारको श्रम दिन मनाईएको ठान्ने सोचबाट माथि उठेर हरेक जिल्ला, स्थानीय तहले श्रम दिन मनाउनु पर्नेछ,’ उनले भने, ‘काम देखाउनका नभई श्रम संस्कृतिको विकास गर्न सरकारले शुरु गरेको श्रम दिवस अभियान सफलताका लागि नागरिक तहदेखि प्रदेशका सबै पक्ष र क्षेत्रसँग सहयोगको अपेक्षा राखेका छौं ।’ काम कोही ठूलो र सानो नहुने भन्दै मुख्यमन्त्री शाहीले देशको विकास गर्न आफ्नो क्षमता अनुसार काम गर्न लाज मान्ने प्रवृत्ति हटाउँदै श्रमको सम्मान गर्ने संस्कृति अङ्गाल्न आग्रह गरे । उनका प्रदेश सरकारले महिनाको दुई दिन श्रम दान गर्ने कार्यक्रमलाई घटाएर हाल महिनाको एक दिन मात्र बनाईएको छ । यसअघि प्रदेश सरकारले २०७४ फागुन २६ गते बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकमा अनिवार्य महिनाको दुई दिनलाई श्रम दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
श्रमदान अनिवार्य गर्न कार्यविधि
एक वर्षसम्म प्रदेश सरकारले राजधानी वीरेन्द्रगरभित्र महिनाको दुई दिन सरसफाई र पूर्वाधार निर्माणमा खर्च गरेपनि पछि त्यो विस्तारै सेलाउँदै गएको थियो । पुसदेखि प्रदेशभरि अनिवार्यरुपमा सबैले श्रम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताए । कार्यविधिलाई ‘श्रम दिन अभियान’ नाम दिइएको छ । स्वास्थ्य, शिक्षा, कृषि, सरसफाइ, सार्वजनिक स्थलको मर्मत सम्भार, पर्यावरण सुधार, वातावरण संरक्षण, वृक्षरोपणजस्ता क्षेत्रमा श्रम दिन अभियान सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । यस्तै सामाजिक कार्य, सचेतनामूलक कार्यक्रम तथा राज्यबाट नागरिकलाई दिइने सेवासुविधा मध्ये केही सेवा अतिरिक्त समयमा पनि प्रदान गरिनेछ । मुख्यमन्त्री उपस्थित हुँदा मात्रै कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारण उपस्थित हुन थालेपछि सरकारले श्रमदिवस मनाउन कार्यविधि नै ल्याएको हो । ‘श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७६’ बनाईएको छ । ‘श्रमको सम्मान गर्न प्रदेशभरी महिनाको एक दिन अनिवार्य रुपमा सबैले श्रम गर्ने उद्देश्यले श्रमदिन घोषणा गरिएको हो,’ कर्णाली प्रदेशका प्रमुख सचिव भण्डारीले भने, ‘मन्त्रीहरु उपस्थित हुँदा मात्रै अरुको सहभागिता हुन थाल्यो । सबैलाई जिम्मेवार बनाउन कार्यविधि ल्याएका हौं ।’ उनले एक दिन भएपनि सर्वसाधारणमा श्रमदानले आपसी एकता तथा विकासका लागि भाईचार अभिबृद्धि गर्ने विश्वास व्यक्त गरे ।