माघीको रौनकले झुम्यो पश्चिम सुर्खेत

‘अब त रमाईलो मात्र गर्ने हो’

डिलबहादुर खत्री/शान्ति सुनार
विधिवत् रुपमा पुस २९ बाटै शुरु हुने माघी पर्वको तयारी पश्चिम सुर्खेतका गाउँहरुमा शुरु भइसकेको छ । माघी तयारीमा ग्रामीण समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वमा पश्चिम सुर्खेतसहित थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन् । माघे संक्रान्तिका दिन विशेष गरी पश्चिम सुर्खेतका बासिन्दा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ ।

माघीको अवसरमा विवाहीत छोरी चेलीलाई दक्षिणा र फलफुल तथा मिष्ठान परिकार दिने परम्परा छ । कामको सिलसिलामा युवाहरुले गाउँ छाड्नुपर्ने बाध्यताका कारण यो पर्व एक, दुई  दिनमै सीमित हुने गरेको छ । पश्चिम सुर्खेतमा आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र संवर्द्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे सङ्क्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनीय विषय छ । पश्चिम सुर्खेतका गाउँ बस्तीमा अहिले माघीको रौनक बढेको छ । गाउँ बस्ती आसपास नदीहरुमा सरसफाई गर्न युवाहरु परिचालित भइसकेका छन् । काम विशेषले बाहिर रहेका गाउँका युवाहरु जन्मथलो पुग्न थालेका छन् । पश्चिम सुर्खेतका बासिन्दाको मौलिक संस्कृति र भेषभुषाको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु सकिएका छन् । ‘अब त रमाइलो मात्रै हो,’ गुटुका समाजसेवी काशीराम देवकोटाले भने, ‘तयारी सबै सकिएको छ,  र माघीमा रमाइलो गर्दै खुशीयाली बाँड्न शुरु भईसकेको छ ।’ पुसको अन्तिम जाडोलाई विदा दिँदै बसन्त ऋतुको स्वागतका लागि पनि मनाउने गर्दछन् । पुषको अन्तिम दिन राती मुडा बाल्ने चलन छ । रातभर जाग्रम बस्दै केटाकेटीहरु जम्मा भएर नाँचगानसँगै मालटाटा पोल्ने र खाने चलन छ । ‘माघे सक्रान्तिका दिन बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ ।


कठपुलती विवाह तयारी पुरा
पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ, जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । त्यसैलाई ‘कठपुतली विवाह’ भन्ने गरिन्छ । यस संस्कारमा एक दिन तामझामका साथ विधिपूर्वक दुई बालिकालाई वर र वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ रामलाल बयकले भने, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौदेखि चलिआएको उनी बताउँछन् । अहिले पश्चिम सुर्खेतका गाउँहरुमा कठपुतली विवाहका लागि पूर्वतयारी पुरा भएको छ । माघ १ गते हुने ‘कठपुतली’ विवाहका लागि स्थानीय बासिन्दाले सम्पूर्ण तयारी पुरा गरि सकेको स्थानीय जीवन देवकोटाले बताए ।

कठपुलती बिहेमा कोसेलीका रुपमा माल्टाटा (मालुको रुखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लैजाने गरिन्छ । हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने चलन रहेको छ । प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ गुटुका विष्णुप्रसाद उपाध्यायले भने, ‘रजस्वला नभएकालाई वर–वधू बनाउने चलन छ ।’ उनले पश्चिम नेपालमा मनाइने कठपुतली विवाह यस क्षेत्रको यो मौलिक परम्परा भएको बताए । यता चौकुने गाउँपालिकाले मौलिक कला, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नु आफ्नो दायित्व भएकलो यस वर्ष कठपुतली विवाहलाई धुमधामले मनाईने बताएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भ्रमण वर्ष २०२० मनाइरहँदा अनौठो परम्परा कठपुतली विवाहलाई देशविदेशमै पहिचान दिलाउने गरि तयारी पुरा भएको जनाए ।


सुर्खेतका बजारभरी तरुलै तरुल
माघे संक्रान्ती भित्रँदै गर्दा बजारमा तरुलको बिक्री पनि बढ्दै गएको छ । पुस महिनामा पर्ने ल्होसार र माघे संक्रान्तीमा तरुल लगायत कन्दमूल खाने परम्परा अनुरुप बजारमा यसको माग बढेको हो । तरुल, सक्खरखण्ड लगायतको कन्दमूलको व्यापार पुसको अन्तिम हप्ता वर्षभरीकै बढी रहने कृषि बजार सुर्खेतका अध्यक्ष प्रवल शाही बताउँछन् । ‘अन्य समयको तुलनामा माघे संक्रान्तीको आसपास तरुल तथा सक्खरखण्डको बिक्री बढी हुन्छ,’ उनले भने, ‘वर्षभरीको बिक्रीको ९० प्रतिशत बिक्री यही समयमा हुन्छ ।’ सुर्खेतको मण्डीमा मात्रै यो वर्षको पछिल्लो एक सातामा करिब पाँच सय टन तरुल भित्रिएको तथ्यांक छ । यो वर्ष पोहोरभन्दा दुई सय टनले बढी तरुल भित्रिएको अध्यक्ष शाहीले बताए । बजारमा आउने अधिकांश तरुल नेपाली उत्पादन छ । बजारमा तराई र सुर्खेत आसपासका जिल्लाबाट पर्याप्त तरुल आउने गरेको शाही बताउँछन् ।

‘ सुर्खेत उपत्यका आसपासका जिल्लादेखि बर्दिया, बाँके, दाङसम्मको तरुल आएको छ,’ उनले भने, ‘सक्खरखण्ड भारतबाट आउने गरे पनि तरुललाई बाहिरको भर पर्नुपर्दैन ।’ यो वर्ष कृषि बजारमा ३० टन सक्खरखण्ड भारतबाट भित्रिएको छ । अन्य तरकारी जस्तै यस वर्ष तरुलको मूल्य पनि बढेको छ । सामान्यतया स्रोत र तरुलको जातका आधारमा तरुलको मूल्य फरकफरक रहेको शाही बताउँछन् । उनका अनुसार बजारमा तरुलको मूल्य ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोसम्म छ । उनले तरुलको मूल्य यति नै हुने भन्दा पनि माग र बिक्रीको आधारमा घट्ने बढ्ने गरेको बताउँछन् । यो समयमा तरुल खाने परम्परामात्र नभएर माघे संक्रान्तीमा सूर्य उत्तरायण हुने र चन्द्रमा दक्षिणायन हुने हुँदा धार्मिक रुपमा पनि कन्दमूल खाने उपयुक्त समय भएको जानकार बताउँछन् । माघे संक्रान्तीमा नदी तथा सागरमा माघ स्नान गरी कन्दमूल खानुपर्छ भन्ने धार्मिक विश्वास छ । कन्दमूलमा अन्नमा भन्दा विशिष्ट गुण हुने हुँदा पनि यसको महत्व बढी छ ।

माघीमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी, सार्वजनिक संस्थान, शैक्षिक संस्था र सार्वजनिक कार्यालयमा बिदा हुनेछ ।

Translate »