‘तालिम जीवन उपयोगी बनाईनु पर्नेमा जोड’

स्काई न्यूज /माघ ६, सुर्खेत ।
सरकारले वर्षेनी करोडौं रकम सीपमुलक तालिममा खर्च गर्दै आइरहेको छ । तर त्यसको उपलब्धी लगानीको अनुपातमा निकै कम रहेको छ । राज्यले अदक्षलाई सीपमुलक बनाउने भनेर सञ्चालन गर्ने तालिमलाई तालिम लिनेले त्यसरी नै बुझेको जस्तो देखिदैन् । लक्षित वर्गलाई तालिममा बोलाइन्छ र सहभागि आउनु पनि हुन्छ ।

तालिम अबधि भर बस्नुहुन्छ र तालिममा गराउने क्रियाकलापमा सहभागिता पनि जनाउनु हुन्छ । तालिमको समापन सत्रमा सहभागिहरुको प्रतिनिधित्व गरी तालिमको समिक्षा सहित मन्तव्य दिँदा तालिम असाध्यै राम्रो भयो, तालिम त यस्तो पो हुनुपर्छ, प्रशिक्षकहरुले असाध्य राम्रो गरी सहजिकरण गर्नु भयो, यहाँ सिकेका ज्ञानका कुराहरुलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता पनि गर्नु हुन्छ ।

तर तालिमपछि प्रतिबद्धता बोलीमा मात्र सीमित रहेको जस्तो देखिन्छ । अनि सरकारी लगानी बालुवामा पानी हाले जस्तै भइरहेको छ,’ नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले भने, ‘पहिलो तालिमको आवश्यकता र गुणस्तर, दोस्रो सहभागिको कामप्रतिको इमान्दारिता । तालिमका विषयवस्तुहरु सहभागिको मागमा आधारित भए नभएको मूल्याङ्कन गरिनुपर्छ । माग अनुरुपको विषयवस्तु र तालिममा गुणस्तर कायम गर्न नसकेमा हाम्रा तालिम केन्द्रहरु खाजा खाएर गफ गर्ने थलोको रुपमा परिणत हुने कुरा निश्चित नै छ र केही हदसम्म भइरहेका पनि छन् ।’

उनले विभिन्न वर्गलाई लक्षित गरेर सञ्चालन गरिने सिपमुलक तालिम व्यवहारिक जीवनमा सदुपयोग गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । जस्तोसुकै तालिम सञ्चालन गरिएपनि सहभागिको संख्या मनग्य हुने तर सिकेको सीपलाई व्यावहारिक प्रयोगमा ल्याउने व्यक्ति अत्यन्तै न्यून रहेको उनको निष्कर्ष थियो । ‘तालिममा एक जना सहभागिले त्यस अघि नै कम्तिमा १०÷१५ वटा प्रमाणपत्र संकलन गरिसकेको भएपनि उक्त व्यक्ति कुनैपनि व्यापार व्यवसायमा आवद्ध नरहेको अवस्था छ,’ उनले भने, ‘तालिमका लागि मात्र तालिम होइन । सीप, ज्ञान र जीवन परिवर्तनका लागि तालिम हुने गरि कार्यान्वयनमा जोड दिनु पर्छ ।’ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली प्रदेशमा अबको प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम सम्बन्धि प्रादेसिक रणनीति निर्माण समन्धी बृहत छलफल कार्यक्रममा बोल्दै अध्यक्ष योगीले तालिम आवश्यकता अनुसार मागमा आधारित बनाए दक्ष जनशक्तिलाई रोजगारी तथा स्वरोजगारी तर्फ जोड्ने ग्यारेन्टी हुनु पर्ने बताए । उनले सामुदायिक विद्यालयमा मात्र होइन, नीजि प्राविधिक शिक्षालय मार्फत समेत तालिम कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए । उनका अनुसार कुनैपनि प्रकारका तालिम सञ्चालन गर्दा तालिम प्रदायक संस्था सीटीईभीटी, स्थानीय निकाय वा जनप्रतिनिधिको सहकार्यबाट मात्र सञ्चालन गरिँदा उपयुक्त हुने देखिन्छ ।


उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय अध्यक्ष श्याम गिरीले र सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्ले वीच सीटीईभीटीबाट उत्पादित तालिम प्राप्त जनशक्तिलाई रोजगारी तथा स्वरोजगारी गराउने सम्बन्धि सम्झौता पत्रमा संयुक्तरुपले हस्ताक्षर भईसकेकाले अब कर्णाली प्रदेशमा समेत सोही मोड्लबाट अगाडि बढ्न आवश्यक रहेको औल्याए । कार्यक्रममा देउती टेक्निकल ट्रेनिङ ईन्स्च्यिूटका सञ्चालक उपेन्द्र खड्काले सामुदायिक विद्यालय मात्र केन्द्रित नगरि नीजि प्राविधिक शिक्षालय मार्फत समेत तालिम सञ्चालन गरिनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकार सामुदायिक तथा नीजि प्राविधिक शिक्षालय वीचको विभेद अन्त्य नगरि एकलौटी तरिकाले अगाडि बढेको प्रति असन्तोष व्यक्त गरे । उनका अनुसार सामुदायिक विद्यालय र नीजि प्राविधिक शिक्षालयलाई सरकारले समान अवसर उपलब्ध गराउनु पर्छ ।


त्यस्तै कार्यक्रममा सामुदायिक विद्यालयहरुका तर्फबाट जनज्योति मावि कुनाथरीका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले कर्णालीमा उपलब्ध सुन्तला, स्याउ, जडिबुटी आदिको आधुनिक तरिकाले प्रसोधन सहित उत्पादन गरि निर्यात गर्न सके यस क्षेत्रका युवा रोजगार एवं स्वरोजगार भई आत्मनिर्भर भएर आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने सम्भावना रहेको औल्याए । यस्तै सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि प्रदेश सरकार जनतासँगको सहकार्य तथा समन्वयमा अगाडि बढ्न लागेको जानकारी दिए । उनले मानव संसाधनको विकास नभई भौतिक संसाधनको विकास नहुने भएकाले प्रदेश सरकार कर्णालीको आवश्यकतामा आधारित प्राविधिक शिक्षालाई जोड दिने स्पष्ट पारे । कार्यक्रममा राष्ट्रिय प्राविधिक शिक्षालयका प्राचार्य देबेन्द्र विकलगायतले प्राविधिक शिक्षा सम्बन्धि आ–आफ्ना धारणाहरु राखेका थिए ।

Translate »