महिलाले उत्पादन गरेका वस्तुलाई बजारकै समस्या

वित्तिय साक्षरता सम्बन्धी अन्तरर्किया

स्काई न्यूज/ माघ १५, सुर्खेत ।
कर्णालीमा महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा समस्या रहेको महिला उद्यमीले बताएका छन् । न्यूज विजनेश एज प्रालि र सुर्खेत उद्योग वाणिज्य संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अन्तरक्र्रिया सहभागी महिला उद्यमीले महिलाले सानो लगानीमा उत्पादन गरेका वस्तुको सहजीकरणमा समेत अनेक समस्या आउने गरेको बताएका छन् । महिला उद्यमी कृष्णा वंशीमगरले स्थानीय उत्पादनको उपभोगमा जोड दिने हो भने स्थानीय महिलाहरुको उद्यमशीलता प्रवद्र्धन हुने बताईन् । उनले कर्णालीमा उत्पादित वस्तुको बजार सुनिश्चितता हुने सके उत्पादन लागत समेत घटाउन सकिने जनाईन् । उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारले बजार प्रवद्र्धनका लागि विशेष योजना ल्याउन आवश्यक ।


कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले महिला उद्यमीको क्षमता विकाससँगै बजार सुनिश्चितताका लागि प्रदेश सरकारले छिट्टै कानून बनाएर उद्योगमैत्री वातावरण बनाउन लागिएको बताए । उनले प्रदेशका दश वटै जिल्लामा कोसेली गृह निर्माण गरेर स्थानीय उत्पादनको बजार सुनिश्चितता गरिने जिकिर गरे । उनका अनुसार हाल केन्द्र सरकारले उद्योग सम्वन्धी सबै कानून बनाईन नसकेकाले त्यसअघि प्रदेश सरकारको कानून उपयुक्त नहुँदा ढिलाई भईरहेको छ ।


कार्यक्रममा मलिा उद्यमी मिना गैरेले बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन प्रक्रिया गत झमेला हुने गरेको बताईन् । उनले महिला उद्यमशीलता विकासका लागि सरकारले विना धितो सहुलियत दरमा कर्जा दिने नीति लिएपनि उद्यमीले सहजरुपमा कर्जा नपाएको गुनासो गरिन् । ‘सामुहिक जमिनमा दिईने कर्जाको प्रक्रिया अन्तयन्तै झन्झटिलो भएकाले लक्षित उद्देश्य पुरा हुन सकेको छैन,’ उनले भनिन । आगामी चैतमा आयोजना हुने महिला उद्यमी अवार्डलाई लक्षित गरि न्यूज विजनेस एजले नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा देशका दश मुख्य शहरमा यस्तो अन्तरक्र्रिया सञ्चालन गरिरहेको छ । यसैक्रममा सुर्खेतको वीरेन्द्रनगरमा भएको उक्त कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नायव सुब्बा प्रयागराज शर्माले महिलाको नाममा उद्योग दर्ता भएपनि सञ्चालनमा पुरुष नै अग्रसर हुने गरेको बताए । सहुलियतका लागि महिलाका नाममा दर्ता गराईएका उद्योगमा महिलाको सहभागिता नहुँदा उद्यमशीलताको विकास हुन नसकेको उनको भनाइ थियो । ‘नाम मात्रको उद्योग दर्ता गराएर हुँदैन । त्यस्ता उद्योगमा महिलाको सहभागिता र सक्रियताले मात्र महिलामा उद्यमशीलता विकास हुन सक्छ,’ उनले भने ।

सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गणेश बस्नेतले महिला उद्यमशीलता विकासका लागि संघ सधै प्रत्यनशील रहेको जनाए । संघले महिला उद्यमशीलता विकासका लागि विभिन्न समय सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । ‘महिला उद्यमशीलताका समस्या समाधानका लागि संघले सक्दो सहजीकरण समेत गर्दे आईरहेको छ,’ उनले भने, ‘महिलालाई सीपमुलक र उद्यम बारे तालिम दिएर दक्ष बनाउन राज्यसँग समेत सहकार्य गरिनेछ ।’ त्यस्तै उद्यमी कौशीला थापा मगरले ऋण लिन समस्या हुने गरेको गुनासो गरिन् । सहुलियतमा ऋण दिने भनिएपनि वाणिज्य बैंकले प्रक्रियाको बहानामा झुलाउने गरेको उनको भनाइ छ ।

यस्तै महिला हिमा उपाध्यायले कर कार्यालय कर उठाउने तर करका बारेमा प्रवद्र्धन कार्यक्रम नगर्दा महिला उद्यमीलाई समस्या हुने गरेको बताईन् । कृषि उद्यमी सावित्री योगीले पनि करका बारेमा पर्याप्त जानकारी नहुँदा सिधै समस्या मा पर्ने गरेको जनाईन् । कार्यक्रममा मुक्तिनाथ विकास बैंक सुर्खेतका डेस्क प्रमुख रामशंकर सुवेदीले प्रक्रिया पुरा गरेर आउने उद्यमीलाई ऋण दिन कुनै समस्या नहुने जिकिर गरे । त्यस्तै आन्तरिक कर कार्यालय सुर्खेतका कर अधिकृत दमनध्वाज क्षेत्रीले व्यवसायी संघसंस्थाको समन्वयमा कर शिक्षा कार्यक्रम सञ्चालन गर्दे आएको बताए । उनले महिलाका लागि कर शिक्षा आवश्यक परे आफुहरु जुनसुकै समयमा शिक्षा दिन तयार रहेको जनाए । कार्यक्रमको न्यू विजनेश एजले प्रकाशन गर्ने आर्थिक अभियान दैनिकका प्रमुख सम्वाददाता टीपी भुसाल र कम्पनीका बजार प्रबन्धक बालसिंह पोखरेलले अन्तरक्रियाको सहजीकरण गरेका थिए ।

Translate »