सुर्खेतमा उपभोक्ता ठगिने क्रम रोकिएन
स्काई न्यूज /माघ १९, सुर्खेत ।
सरकारले जतिसुकै प्रचारप्रसार र सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपनि सुर्खेतका बजारहरुमा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । जिल्लामा प्रभावकारी बजार अनुगमन नहुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । नियमित अनुगमन नहुँदा व्यापारीले मनलाग्दी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ । अनुगमन नहुँदा बजार मूल्यमा पनि एकरुपता छैन । आइतबार बजार अनुगमनमा निस्किएको संयुक्त बजार अनुगमन समितिले दैनिक उपभोग्य सामानको फरक–फरक मूल्य पाएको बताएको छ । सदरमुकाम वीरेन्द्रनगर इत्रामका एउटा किराना पसलले ४ सय २० रुपैयाँमा बेचेको १ किलो जिरा सामुन्नेको किराना पसलमा ४ सय ५० लिने गरेको पाइयो । त्यसैगरी चामल, चिउरा, तेल, गेडागुडी, दाललगायतका दैनिक उपभोग्य सामान किन्दा उपभोक्ता ठगिँदै आएका छन् ।
उपभोग्य सामानको मनलाग्दी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । प्रशासन र सरोकारवालाको बेवास्ताका कारण मनपरी रोकिएको छैन । जिल्लामा उद्योग वाणिज्य संघले मूल्यसूची अद्यावधिक गरेको छैन । जिल्ला प्रशासन कार्यालयसहितको टोलीले केही महिना अघि वीरेन्द्रनगर आसपासका केही स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमन समितिका सदस्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाका अनुसार दर्ता नगरी सञ्चालन भएका केही पसल र सामान्य कैफियत भेटिएकाले पसललाई सचेत गराइएको बताए । अनुगमन समिति अझैपनि जिल्लाका सबै व्यापारिक केन्द्रसम्म पुग्न सकेको छैन । इन्धन, जनशक्ति र स्रोतको अभाव देखाउँदै अनुगमन नभएको उनीहरु बताउँछन् । अनुगमन समितिले कारबाही गर्ने भन्दा पनि सचेत गराउने उद्देश्य रहेको बताउँदै आएको छ । ‘ठूलो गल्ती केही पाइएन, सुधारका लागि भनेका छौं,’ खाद्य निरीक्षक थापाले भने, ‘कारबाहीभन्दा पनि सचेत गराउने उद्देश्य हो ।’ उनले अनुगमनमा म्याद नाघेका वस्तु स्पट मै नष्ट गर्ने गरेको जनाए ।
फितलो अनुगमनले उपभोक्ता ठगिँदै
जिल्लाका व्यापारिक केन्द्रमा म्याद सकिएका सामान बिक्री भइरहेका छन् । बजार अनुगमन फितलो भएकै कारण व्यापारीले उपभोक्तालाई म्याद गुज्रिएका सामान बेचेका छन् । सदरमुकाम आसपासका व्यापारिक केन्द्रमा मात्र प्रशासनले झारा टार्ने अनुगमन गर्ने गरेको उपभोक्ताको आरोप छ । प्रशासनले औपचारिक अनुगमन गर्ने भएकाले व्यवसायीले म्याद सकिएका खाद्यान्न तथा उपभोग्य सामग्री बेच्ने गरेका छन् । बजारमा एउटै सामानको मूल्य पसलैपिच्छे फरक भएपछि उपभोक्ता ठगिएका हुन् । व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य मनपरी निर्धारण गर्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
व्यवसायीले खाद्यान्न, तरकारी, फलफूललगायतका सामग्री महँगोमा बिक्री गर्दै आएका छन् । नेपालगन्ज र भारतबाट अवैध रुपमा भित्रिने उपभोग्य सामानमा जथाभावी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले अधिकांश पसलमा मूल्य सूची नहुँदा सामानको वास्तविक मूल्य थाहा पाउन नसकिएको जनाईन् । कतिपय पसलमा ड्राइ फुडको म्याद सकिए पनि बेचबिखन भइरहेको उनले बताईन् । तरकारी र मासुमा समेत व्यापारीको मनपरी बढ्दै गएको छ । बजारमा तयारी पोसाक र कपडाको मूल्य २० प्रतिशतले बढेको उपभोक्ता बताउँछन् । बजारमा बासी मिठाइँको बिक्री बढेको छ । जिल्लाका ८० प्रतिशतभन्दा बढी पसलमा मूल्य सूची राखिएको छैन । प्रशासनले मूल्य सूची राख्न लगाए पनि व्यवसायीले खासै चासो देखाएका छैनन् ।
विल पाउँदैनन् उपभोक्ता
अधिकांश व्यवसायीले सामान खरिदपछि बिल नदिँदा सुर्खेत आसपासका उपभोक्ता दिनदिनै ठगिने गरेका छन् । बिल नदिने बरु बढी पैसा लिएर ठग्ने गरेको गुनासो उपभोक्ताको छ । कतिपय उपभोक्ताले सामानको बिल माग्दासमेत नदिने गरेका गुनासा दर्जनौंपटक राष्ट्रिय उपभोक्ता मञ्चसम्म आइपुगेका छन् । मञ्च सुर्खेतका सदस्य राजु केसीले वीरेन्द्रनगरका अधिकांश व्यवसायीले सामान खरिद गर्दा बिल नदिने गरेको बताए । ‘यस सम्बन्धमा उनीहरुलाई सचेत पार्न र नमाने कारबाही गर्न आवश्यक छ,’ उनले भने, ‘उपभोक्तालाई वस्तु छनौट गर्ने, वस्तुबारे सुनुवाइ गर्ने, खरिद गरेको वस्तु क्षति भएमा क्षतिपूर्ति पाउने लगायतका अधिकार ऐनमै उल्लेख छ ।’ उपभोक्ताले बिल नपाउँदा सामानको कुनै वारेन्टी र ग्यारेन्टी नपाउने र पछि समस्या देखेर फिर्ता गर्न जाँदा आफ्नो पसलको नभएको भनी हप्काउने समेत गरेको उनको अनुभव छ । अधिकांश पसलमा सामान खरिद गर्न जाँदा बिल नै दिँदैनन्, माग्दा पनि आलटाल गरी फर्काउँछनन्,’ उनले भने ।
बजार अनुगमन बढाउन माग
जिल्लाका उपभोक्ता अधिकारकर्मीहरुले बजारमा व्यापारीको लापर्वाही सहि नसक्नु भएको भन्दै बजार अनुगमन र नियमन बढाउन नियमन निकायसँग माग गरेका छन् । उपभोक्ताले व्यापारीद्वारा गुणस्तरहीन वस्तुको खुलेआम बिक्री वितरण गरेको, कृतिम मूल्य निर्धारण गरेको, नापतौलमा ठगी गरेको, काटे्लिङ र कालोबजारी गरेको भन्दै नियमन बढाउन प्रशासनसँग माग गरेका हुन् । उनीहरुले व्यापारीको अत्याचारले सीमा नाघेको भन्दै नियमनकारी निकाय सक्रिय हुन आवश्यक रहेको औल्याएका छन् ।
११ मध्ये ४ दर्ता विना नै सञ्चालन
वीरेन्द्रनगरको इत्राममा अनुगमन समितिले बजार अनुगमन गर्दा ४० प्रतिशत बढी पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । आइतबार इत्रामका धेरैजसो पसलमा मूल्य सूची नै नराखेको पाईएको अनुगमन समितिका सदस्य तथा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नायव सुब्बा प्रयागराज शर्माले जानकारी दिए । उनले अनुगमनका क्रममा सडक किनारेका अधिकांस घुम्ती पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको पाईएको बताए । उनका अनुसार अनुगमनका क्रममा किराना पसलमा मूल्यसूची नभएको र म्याद नाघेको सामान राखिएकाले त्यस्ता सामान नष्ट गरिएको र दर्ता नभएका सबै पसललाई दर्ता गर्न निर्देशन दिइएको छ । वीरेन्द्रनगरको इत्राम र कालिनचोकमा आइतबार गरिएको बजार अनुगमनमा ११ पसल मध्ये ४ वटा ठूला पसल नै दर्ता विना सञ्चालनमा रहेको पाईएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद आचार्यले बताए । बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नायव सुब्बा शर्मा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा आचार्य, वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि खगेन्द्रप्रसाद आचार्य, नगर प्रहरी कार्यालयका प्रतिनिधि सागर सुनार, पत्रकार र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।