मौरीपालनमा युवाको सक्रियता बढ्दै
स्काई न्यूज /माघ २७, सुर्खेत ।
स्वरोजगार बन्न धेरै लगानी गर्नु पर्छ भन्ने छैन । थोरै लगानी, मेहनत, सीप अनि ज्ञान भए सफल हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन, सुर्खेतका लगाम, बेतान, विजौरा, गुटु, छाप्रे, सालकोट, बाबियाचौर, पोखरीकाँडा र लेखगाउँ लगायतका युवाहरुले । उनीहरुले व्यावसायिक रुपमा मौरीपालन गरी आम्दानी गर्दै आएका छन् । उनीहरुले गत सिजनमा मात्रै १२ क्विन्टल मह पनि विक्री गरेका छन् । कात्तिक महीनाको एक सिजनमै १५ लाख लाख बरावरको मह विक्री भएको छ । उनीहरुले यस वर्ष एक क्विन्टल मह विक्री गरेर ५ लाख रुपैयाँ आम्दानी गरेको बताएका छन् । ती युवा उद्यमी कृषकले एउटैले ५० घारसम्म मौरीपालन गरेका छन् । ‘मौरीपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ’, पञ्चपुरी नगरपालिकका छाप्रेका मविनकुमार बयकले भने, ‘रोजगारीका लागि अन्यत्र जानु परेको छैन ।’ यहाँका युवाहरुले व्यावसायिक रुपमा मौरी पालन शुरु गरेपछि मौरीपालन तथा मह उत्पादन केन्द्रको रुपमा गाउँ नै परिचित हुन थालेको छ । उनका अुनसार एक दर्जन युवाहरुले व्यावसायिक मौरीपालन गरीरहेका छन् ।
भक्तडीका भैरे बयकसँग यतिखेर ६५ घार मौरी रहेको छ । बयकले मौरीपालन व्यवसाय विगत १० वर्षदेखि गर्दे आईरहेका छन् । उनले भने, ‘मौरीपालन व्यवसाय, अन्य व्यवसायमा जस्तो दुःख छैन ।’ कम लगानी र मेहनत हुने हुनाले यो व्यवसायतर्फ युवाको आकर्षण पनि बढ्दै गएको छ । पश्चिम सुर्खेतका महिलाहरु समेत मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । अन्य व्यवसायमा दिनभर खटिनुपर्ने र आम्दानी पनि खासै राम्रो नहुने भएकाले कम मेहनतमा राम्रो आम्दानी लिन महिलाहरु मौरीपालन व्यवसायमा जुटेका हुन् । चौकुने गाउँपालिका गुटुका धर्मा चलाउनेले चार वर्षअघि ११ वटा मौरी घारबाट मौरीपालन व्यवसाय शुरु गरेकी हुन् । ‘एउटा मौरीको घारबाट वर्षमा कम्तीमा दुई पटक मह काट्ने गरेका छौं,’ चलाउनेले भनिन्, ‘एउटा मौरी घारबाट वार्षिक ५ किलोसम्म मह उत्पादन हुन्छ ।’ बजारमा हाल मह प्रतिकिलो एक हजार रुपैयाँमा विक्री हुन्छ ।’ उत्पादित मह गाउँमै विक्री हुने भएकाले पनि महिलाहरु मौरीपालन व्यवसायमा आकर्षित भएका हुन् । जिल्लामा युरोपियन मौरीपालनका लागि उचित भएको प्राविधिकहरु बताउँछन् । हाल जिल्लामा ५० मेट्रिक टन भन्दा बढी उत्पादन हुने गरेको कृषि निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय बताउँछन् ।
‘अहिले जिल्लामा कुल उत्पादन कतिहुन्छ निर्देशनालयसँग सम्पूर्ण तथ्यांक छैन्,’ उनले भने, ‘सबैभन्दा धेरै मह उत्पादन हुने जिल्लाको पश्चिम क्षेत्रमा नै तथ्यांक संकलन गर्न सकेको छैनौं ।’ उनले प्रदेशभरी महको कुल उत्पादन तथ्यांक संकलन गर्न लागिरहेको जनाए । सुर्खेतको महले केही समय पहिले भारत, जापान र यूरोपका बजारसम्म पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । जिल्लामा एक हजार भन्दा बढी किसानले त परम्परागतरुपमै मौरीपालन गरिरहेका छन् । ‘मौरीपालनलाई सौखको विषय ठानेका किसान पनि अहिले व्यवसायिकरुपमा लागेको काँक्रेविहार सहकारीका अध्यक्ष अमर थापा बताउँछन् । उनले मौरीपालन गर्न थालेका व्यवसायीलाई सहकारीले आवश्यक सीपसँगै आधुनिकीकरण गर्न सहयोग गर्ने गरेको जनाए । उनका अनुसार सहकारीले मौरीपालन व्यवसाय विस्तार, उत्पादन तथा बजारीकरणमा सहजीकरण गर्दे आईरहेको छ । सुर्खेतमा व्यवसायिकरुपमै चार सय भन्दा बढी मौरीपालक कृषक रहेका छन् । पछिल्लो समय मौरीपालन गर्ने कृषकलाई तिनै तहका सरकारले अनुदान दिन थालेका कारण पनि आकर्षण बढ्दै गएको कृषि निर्देशनालय सुर्खेतले बताएको छ । युवाहरुको आकर्षण बढेका कारण पछिल्लो समय मह उत्पादनमा सुर्खेत जिल्ला आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उत्पादन भएको महले जिल्लाको आवश्यकता पूरा गरी अहिले नेपालगञ्ज, बुटवल, काठमाडौं लगायत भारतमा विक्रीवितरण हुने गरेको छ ।
एक जना किसानले एक सिजनमा २०० देखि ५०० किलोग्रामसम्म मह उत्पादन गर्ने र वर्षमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उक्त निर्देशनालयका अनुसार जिल्लामा ५० टन मह उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने महका लागि बजारको समस्या नभएको उनीहरुको भनाइ छ । तर यहाँका व्यावसायीहरुले मौरी चरन क्षेत्रको अभाव हुँदै गएको बताएका छन् । सुर्खेत जिल्लाको विभिन्न भाग मौरी चरनका लागि उपयूक्त भएका कारण देशका विभिन्न जिल्लाबाट मौरी चराउन ल्याउने गरिएको छ । सुर्खेतमा चिउरी, धाइरो लगायतका रुखहरु रहेका छन । यसैले यहाँका चौकुनेगाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहतालसँगै वीरेन्द्रनगर नगरपालिका माहुरी चरनका लागि किसानको रोजाइमा पर्छ । केहि वर्ष यता विभिन्न जिल्लाबाट मौरी चराउन व्यावसायीहरु आउन थालेपछि मौरी चरन क्षेत्रको अभाव हुन थालेको व्यावसायीहरु बताउँछन् । मौरी चरन क्षेत्रबारे मौरी पालक कृषक वीचनै विवाद समेत हुने गरेको छ ।