नसर्ने रोगले गरिवी बढाउँदै

युवा समूह समेत आक्रान्त

स्काई न्यूज /माघ २९, सुर्खेत ।
नसर्ने रोग ठूलो स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको पाइएको छ । एक/डेढ दशक अघिसम्म सर्ने रोग समस्या रहेकोमा पछिल्लो समय नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा परेको हो । नेपाल एनसीडीआई पोभर्टी कमिसनले गरेको अध्ययनले नेपालमा नसर्ने रोगको जोखिम भयानकरुपमा बढेको र त्यसैका कारणले गरीब हुनेको संख्या थपिंदै गएको देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार नसर्ने रोगहरुमध्ये मुटु रोग सबै भन्दा धेरै बढेको छ ।

नसर्ने रोगबाट उमेर ढल्केकाहरु बढी प्रभावित हुने गरेकोमा पछिल्ला वर्षहरुमा यसले युवा समूहलाई समेत आक्रान्त पार्न थालेको छ । नसर्ने रोगको स्वरुप बदलेकाले अहिलेको समयमा मुख्य स्वास्थ्य चुनौती बन्दै गएको चिकित्सक बताउँछन् ।

स्वास्थ्य अधिकारीका अनुसार नेपालमा मृत्युको कारणमा नसर्ने रोगको प्रतिशत ८३ छ भने सरुवा रोग १७ प्रतिशत मात्र छ । स्वास्थ्य चेतना अभिवृद्धि, स्वास्थ्य संस्थाको पहुँच, सरसफाइ र खानेपानीको गुणस्तर वृद्धिलगायत कारणले सर्ने रोगका बिरामी घट्दै गएको प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजाल बताउँछन् । यस्तै धूम्रपान, मद्यपान, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताको कारण नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।


प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छाती, मुटु, रोग विशेषज्ञ डा. प्रदीप न्यौपानेका अनुसार नेपालीको जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोगको जोखिम ह्वात्तै बढेको छ । ‘शारीरिक व्यायाम नहुँदा ‘कार्डियोभस्कुलर’ सम्बन्धी रोगीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘सवारीसाधनको उपलब्धता, आधुनिक उपकरणले मानिसलाई निष्क्रिय बनाउँदा शारीरिक व्यायामको अभावमा यस्ता रोग बढेका हुन् ।’ आधुनिकताले मानिसलाई कम कामकाजी बनाउँदै गर्दा नुन, चिनी र चिल्लो पदार्थको सेवन बढेकाले नसर्ने रोगको जोखिम बढेको चिकित्सकहरु बताउँछन् । धूम्रपान, मद्यपान, अस्वस्थकर खानपिन, शारीरिक निष्क्रियताको असर तत्काल नदेखिए पनि यसले दीर्घकालमा असर पार्ने उनीहरुको भनाइ छ । सचेतना अपनाउने हो भने नसर्ने रोगको जोखिमलाई कम गर्न सकिने स्वास्थ्य विशेषज्ञको भनाइ छ । स्वस्थकर जीवनशैली र खानपानको माध्यमबाट मुटुलगायत नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने उनीहरु बताउँछन् । क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्ने र मधुमेह बढाउने प्रमुख कारक तत्वहरुमा चुरोट, बिँडी, गुट्खा, खैनीजस्ता सुर्तीजन्य पदार्थको सेवन रहेको डा. न्यौपानेको भनाइ छ । अरुले गरेको धूम्रपानको धूवाँमा धूम्रपान नगर्ने व्यक्ति बस्दा त्यति नै असर गर्छ । धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग ३ गुणा बढी हुन्छ ।

रक्सी, बीयर, वाइन, जाँडजस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजोसम्बन्धी रोग, क्यान्सर, पेट वा आन्द्रमा घाउ हुने र मानसिक असन्तुलन जस्ता रोग र स्वास्थ्य समस्या भई मृत्यु पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

शरीर सक्रिय राख्ने क्रियाकलापहरु हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने आदि हल्का पसिना आउने गरी हप्ताको कम्तीमा ५ दिनसम्म कमसे कम ३० मिनेट नियमित रुपमा व्यायाम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्ने उनीहरुको भनाइ छ । नुनिलो, गुलियो र प्रशोधित खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ । चिकित्सकहरु क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्नबाट बच्न दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी सन्तुलित रुपमा खान सुझाउँछन् । स्वस्थ रहन मानसिक तनावको व्यवस्थापन गर्न र रिसमुक्त रहन पनि उनीहरुको आग्रह छ ।


के हो नसर्ने रोग ?
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवारोगको खानीका रूपमा परिभाषित गरिन्थ्यो । तर, आजभोलि यहाँका अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ ।
कारण
नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान–मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् । अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।
बच्ने उपाय
धूम्रपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ । अत्यधिक रक्सी सेवनले कम्तीमा २ सय प्रकारका रोग लाग्ने सम्भावना रहन्छ । त्यस्तै, धूम्रपान गर्दा श्वासप्रश्वास, फोक्साको क्यान्सरलगायत जटिल समस्या देखा पर्छन् । खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । जसबाट दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिन्छ । स्वस्थ रहन कम्तीमा पनि दैनिक आधा घन्टा व्यायाम गर्न जरुरी हुन्छ । नुन कम खान आवश्यक छ । खानामा दैनिक ५ ग्रामभन्दा कम नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

नेपालमा गरिएको एक अध्ययनअनुसार ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग हो । जसमा मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत रहेको थियो । साथै, अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । नसर्ने रोगका कारण मृत्यु हुनेमा ६० वर्षभन्दा कम उमेरका मानिस बढी छन् । उनीहरुको संख्या ८२ प्रतिशतभन्दा माथि छ । यसमा पनि प्रायः निम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् ।

 

Translate »