ट्राफिक व्यवस्थापनदेखि दुर्घटनासम्मको जोखिम

छाडा चौपायाको बिगबिगी

स्काई न्यूज /फागुन ११, सुर्खेत ।
सुर्खेत सदरमकाुम वीरेन्द्रनगरका बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु कहिले किसानको खेतमा पुगेर बाली नष्ट गरिदिन्छन् त कहिले सडकमा हिंडेर यातायात अवरुद्ध पार्छन् । घरपालुवा गाई, सुँगुर, बाख्रापाठासहितका पशु चौपाया नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा विचरण गराउने आम प्रचलन बढेसँगै ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरु पटक–पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर घाइते समेत भएका छन । बिहान मिरमिरे उज्यालो देखिना साथै यस्ता पशु पाल्नेहरुले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम वीरेन्द्रनगरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईवस्तु देखिनु यहाँको आम समस्या जस्तै बनेको सर्वसाधारणको गुनासो छ । ‘बजार, चोकतिर हिंड्डुल गर्न डरमर्दो भएको छ’, वीरेन्द्रनगर–१०,का श्यामभक्त आचार्यले भने, ‘तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।’ वीरेन्द्रनगरमा यिनै छाडा गाई पछ्याउने साढे दर्जनौं संख्यामा विचरण गरिरहेका देखिन्छन् ।


सुर्खेत–जुम्ला राजमार्ग क्षेत्र अन्तर्गत वीरेन्द्रनरमा छाडा चौपायाको विगविगीले यतिबेला यातायातका सवारी साधनलाई निकै समस्या परेको छ । एकातिर सांगुरो सडक, अर्का तर्फसवारीको चाप, फेरि छाडा चौपायाको व्यवस्थापन नहुनुले पनि समस्या बढ्दै गएको हो । राजमार्ग क्षेत्रमा जथाभावी हुलका हुल चौपाया छाडा भइदिनाले सवारी साधन आवागमनमा निकै बाधा पुगेको छ भने सवारी दुर्घटना समेत दिनप्रति दिन बढ्दै गएको छ । यहाँका मुख्य बजार मंगलगढीचोक, ऐरीचोक, नेताचोक, राजाचोक, गणेशचोक, बुद्धपथ, न्यूरोड, दामलाईन, बसपार्क, दैलेख–सुर्खेत जिरो प्वाईन्ट, एयरपोर्टचोक, पिपिराचोकमा पनि यो समस्या रहेको छ । जिल्लाका विभिन्न स्थानका चोक, टोल, बजारमा गाई, गोरु, बाख्रा, कुकुरहरु बस्ने थलोको विकास भएको छ । साँझपख चोक चोकमा जम्मा भएका चौपायाले सवारी साधन मात्र नभई सडक यात्रीलाई समेत आवागमनमा निकै समस्या पर्ने गरेको छ । चौपाया बीच बाटोमै बस्ने र आपसमा जुध्ने गरेकाले पनि बटुवाहरु निकै मर्कामा पर्ने गरेका छन् । यसरी जथाभावी सडकमा चौपाया बस्नाले यहांको बजार क्षेत्र, चोक सरसफाई अभावमा कुरुप बन्दै गएको छ भने  नगरक्षेत्र छाडा चौपायाले गर्दा अस्तब्यस्त बनेको छ ।


छाडा चौपाया ब्यवस्थापनका लागि हालसम्म कुनै पनि क्षेत्रबाट पहल हुन सकेको छैन । सामाजिक क्षेत्रमा काम गर्न जिल्लामा च्याउ झैं विभिन्न गैरसरकारी संघसंस्था, क्लब, महिला सञ्जाल, स्थानीय तह, उद्योग वाणिज्य संघ छन् तर छाडा चौपाया व्यवस्थापनमा कसैले ध्यान नदिंदा यो समस्या झनै बढ्दै गएको हो । सम्बन्धित निकायले छाडा छोड्ने पशुधनीलाई समेत कारबाही नगरेको स्थानीयबासीको भनाइ छ ।

छाडा चौपयाले गर्दा ट्राफिक प्रहरी, तरकारी र फलफूलका बिक्रेता, बटुवा, सवारी चालकहरु निकै हैरान भएको बताउँछन् ।

बाटैभरि जथाभावी गाईवस्तु भएकै कारण यात्रुलाई हिडडुल गर्न समस्या परेको छ भने अर्को तर्फबाटो समेत अवरुद्ध हुने गरेको एक ट्राफिक प्रहरीले बताए । बाटोमा रहेको चौपायालाई हटाउने कि सवारी साधनलाई हेर्ने ट्राफिकले गुनासो पोखे । यसले गर्दा आवागमनमा बाधा परी दुर्घटनाको सम्भावना बढेको ट्राफिकले बताए । आँखा भिमिक्क गर्न नपाउँदै गाईबस्तुले पसलको सामान सखाप पार्ने गरेको फलफूल विक्रेता असगर अलीले गुनासो गरे । चौपायाले गर्दा वीरेन्द्रनगरबासी, बटुवा, सवारीचालक मात्र नभई जिल्ला भ्रमणमा आउने पर्यटकहरु समेत समस्यामा पर्ने गरेको पाइन्छ । यता प्रदेशकै सदरमुकाममा रहेको वीरेन्द्रनगर नगरपलिकाले यो समस्या समाधान गर्न सक्थ्यो होला नि ! । तर यस्ता समस्याप्रति नगरपालिकाले कुनै चाँसो नै लिन चाहेन् । नगरपालिकाले हालसम्म छाडा चौपाय व्यवस्थापनका लागि कुनै योजना नै बनाएको छैन् । नगरक्षेत्रमा रहेको फोहोर एवं चौपाया व्यवस्थापनमा समयमै ध्यान नपु¥याउने हो भने पर्यटकमा कस्तो सन्देश जाला । के यस्ता समस्या तपाईं हाम्रो चासोको विषय होइन र ?


राष्ट्रिय महत्वका चाडबाडमा बजार क्षेत्र सफा गरिएपनि भएपनि छाडा पशु चौपायाले दैनिक रुपमा फोहर बढाएको सर्वसाधारणको गुनासो छ । अहिले केही स्थानमा फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ । गाई बाहेक खुला चरनमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् ।

व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा स-साना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

‘खै कसैले ध्यान दिंदैनन, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?’, वीरेन्द्रनगर–११, का सुनीता विकले भनिन्, ‘नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।’ छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो नगरको पुरानो समस्या भएपनि स्थानीय तह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ । पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनु पर्छ । घर पालुवा पशु छाडा गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय तहले तत्काल काम थाल्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य डिलबहादुर खत्रीले बताए । उनले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

 

Translate »