सुर्खेतमा सर्जिकल माक्सको अभाव
स्काई न्यूज /फागुन २२, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा सर्जिकल माक्सको कृत्रिम अभाव शुरु भएको छ । सरकारी एजेन्सीहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेसँगै विद्यालयदेखि सर्वसाधारणसम्ममा माक्सको माग बढेपछि बजारमा कृत्रिम अभाव शुरु भएको हो । माग बढेसँगै कालाबजारीयाहरुले महँगोमा माक्स बेच्न थालेको जन गुनासो आएपछि विहीबार जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा संयुक्त बजार अनुगमन समितिले वीरेन्द्रनगर बजार क्षेत्रका माक्स विक्रेताकहाँ अनुगमन गरेको छ । अनुगमनका क्रममा सर्जिकल माक्ससँगै सामान्य माक्स समेतको अभाव रहेको पाईएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गा श्रेष्ठले बताए । ‘जिल्ला प्रशासन कार्यालयको निर्देशनमा गरिएको बजार अनुगमनका क्रममा अधिकांस पसलमा माक्सको अभाव पाईयो,’ उनले भने, ‘पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आग्रह गरिएसँगै माक्सको माग बढेकाले बजारमा अभाव देखिएको हो ।’ उनले माक्सको माग बढेसँगै केही व्यापारीले कृत्रिम अभाव सृजना गर्न सक्ने भएकाले अनुगमन गरिएको जनाए । उनका अनुसार बजारमा हल्ला चले झै माक्सको कृत्रिम अभाव नभई माग बढेको हो ।
‘देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा प्रायः माक्सको प्रयोग गर्ने चलन कम रहेको छ,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीसमशेर रानाले भने, ‘यहाँका विक्रेतासँग भएको स्टँक तत्कालका लागि सकिएको अनुगमनका क्रममा पाईएकाले बाहिरबाट माक्स तत्काल नआउँदा कृत्रिम अभाव जस्तो देखिएको छ ।’ बाहिरबाट आपूर्ति हुने वित्तिकै सहजरुपमा माक्स उपलब्ध हुने व्यापारीले बताएको उनको भनाइ थियो । यता वीरेन्द्रनगरका मेडिकल डिस्टीव्यूटरहरुमा समेत सर्जिकल माक्सको अभाव देखिएको छ । छिमेकी चीनलगायतका देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणमा सरकारी सचेतनाले माक्सको माग बजारमा बढेको पाईएको हो ।
जिल्लामा रहेका झण्डै एक सय मेडिकलहरुमा सर्जिकल माक्स स्टकमा नरहेको नेपाल औषधी व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिए । उनले माग अनुसारको आपूर्ति गर्न नसकिएकाले बजारमा कृत्रिम अभावको हल्ला निराधार भएको दावी गरे । ‘हामीले ल्याउने डिलरमै माक्स छैन । करिब एक महिनादेखि माक्स ल्याउने प्रयास गरेपनि नआउँदा मेडिकलमा माक्सको अभाव देखिएको छ,’ उनले भने, ‘आपूर्ति हुने वित्तिकै बजारको मागलाई हामी छिट्टै सम्बोधन गर्ने छौं ।’ उता फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खडकप्रसाद ढकालले बजारमा कपडाका माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जनाए । ‘दैनिक पसलमा आउनेहरु माक्स खोज्नुहुन्छ । विक्रेतासँग पर्याप्त कपडाका माक्सहरु समेत छैनन,’ उनले भने, ‘एकाएक मागे बढेपछि यहाँका फेन्सी पसलहरुमा समेत विस्तारै कपडाका माक्स सकिँदै गईरहेका छन् ।’ उनले बाहिरबाट मगाउँदा पनि स्टकमा माक्स नभएकाले आपूर्ति गर्न असहज भईरहेको बताए । उनका अनुसार वस्तुगत समिति अन्तर्गत रहेका व्यवसायीलाई यस्तो अवस्थामा माक्स लुकाउने जस्ता कुकृत्य नगर्न पनि अनुरोध गरिएको छ । सुर्खेतमा कपडाका थाइ माक्स, जाली माक्ससँगै बाइकमा प्रयोग हुने माक्सहरु बजारमा विक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार सुर्खेतमा झण्डै पन्ध्र सय फेन्सी व्यवसायीहरु रहेका छन् । यसैवीच माक्सको अभावलाई तत्काल टार्न वीरेन्द्रनगरको तातापानी स्थित ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालिले आफु सक्षम रहेको बताएको छ । प्रालिका सञ्चालक कविराज खत्रीले कर्णाली प्रदेशलाई आवश्यक मास्कको माग स्थानीय उत्पादकले नै पूरा गर्न सक्ने बताउँछन् । उनले पर्याप्त माग आए हरेक प्रकारका माक्स सुर्खेतमा उत्पादन गरेर सहज आपूर्ति गर्न सकिने दावी गरे । ‘कर्णाली प्रदेशको मागलाई पुग्ने माक्स सुलभ दरमा प्रालि उपलब्ध गराउन तयार रहेको छ,’ उनले भने, ‘माक्स बनाउने कपडा, धागो, इलास्टिक एवं सिलाउने दक्ष जनशक्ति प्रालि पर्याप्त छ ।’
चीनबाटै मास्क नआएपछि अभाव
कोरोना भाइरस अर्थात् कोभिड–१९को प्रकोपले छिमेकी चीनमा महामारीको रुप लिएको छ । चीनसँगै सीमा जोडिएको नेपालमा संक्रमण नदेखिए पनि मान्छेको दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव परिरहेको छ । कोरोनाले प्रकोपको रुप लिनेवित्तिकै चिनियाँ नाकाहरु बन्द भएका छन् । नाकाबन्द हुनासाथ चीनबाट आयात हुने सामाग्रीहरुको अभाव हुने नै भयो । अहिले स–साना कुराहरुमा पनि प्रभाव देखिन थालेको छ । कोरोनाको सोझो आक्रमणबाट बच्न प्रयोग गर्ने गरिएको मास्क समेत अभाव भएको छ । पूर्ण रुपमा सुरक्षित मानिएको एन–नाइन्टी फाइभ मास्क पाउन त कठिन हुने नै भयो । नेपालमै उत्पादन हुने सर्जिकल मास्कको समेत अभाव भएको छ । विक्रेताहरुले सामान्य पेपर मास्क पनि छैन, भन्न थालिसके । एकातिर मास्कको अभाव र अर्कोतिर कालोबजारीको मारमा छन, प्रयोगकर्ता । नेपालमा ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ । तर, चीन आफैलाई मास्क अभाव भएपछि पठाउन छाड्यो ।
चीनबाट ७५ र भारतबाट २५ प्रतिशत मास्क आउने गरेकोमा चीनले जनवरी ३१ मा मास्क पठाउन रोक्यो । नेपालमा मास्क उत्पादन गर्ने ठूला कम्पनी छैनन् । साना कम्पनीले उत्पादन गरेका मास्कले बजार धान्ने सरकारी दाबीलाई कोरोना भाइरसले चुनौती दियो । अहिले नेपालमै उत्पादन भएको मास्क पनि सजिलै पाउन छाड्यो । कि महँगो तिर्नु पर्ने हुन्छ, कि त सामान्य कपडाको मास्क लगाएर हिँड्नु पर्ने हुन्छ । मास्क नपाएपछि फार्मेसीवालाहरु पनि तनावमा छन् । तर, चिकित्सकले भने कोरोना भाइरसकै कारण मास्कको पछाडि दौडिनु नपर्ने बताएका छन् । उनीहरु भन्छन, ‘मास्क नपाउँदा कपडाको मास्क प्रयोग गर्न सकिन्छ । मास्ककै लागि मरिहत्ते गर्नु पर्दैन ।’ कोरोनाकै लागि भनेर मास्क लगाइरहनु पर्दैन । कोरोना भाइरस सर्ने संक्रिमतको प्रत्यक्ष सम्पर्कमा आए मात्रै सर्ने चिकित्सकको भनाइ छ ।