वीरेन्द्रनगरको फोहोर अब मोहर बन्दै

ग्यास तथा जैविक मल निकाल्न १४ करोड बढीको सम्झौंता

स्काई न्यूज /फागुन २७, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा यत्रतत्र फालिएको फोहोरबाट अब ऊर्जा उत्पादन हुने भएको छ । वीनपाले फोहोरबाट ऊर्जा तथा जैविक मल उत्पादन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र एवं केपी ब्यवसायिक सेवासँग मंगलबार काठमाडौंमा त्रि–पक्षीय सम्झौता गरेको छ । सम्झौंतामा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नगर प्रमुख देवकुमार सुवेदी एवं आयोजना निर्माणकर्ता सेवाका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । फोहोरबाट ऊर्जा तथा जैविक मल उत्पादन परियोजना लागु भएसँगै अब वीनपाको फोहोर व्यवस्थापन हुनेछ ।

कुल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७ सय २० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । परियोजनाबाट करीब १३०० घरधुरी लाभान्वित हुनेछन् ।परियोजनाबाट दैनिक ९ टन जैविक मलसँगै (९ सय ८६ दशमलव ३ घनमिटर)  अर्थात ७ सय २० किलोग्राम प्रशोधित बायोग्यास उत्पादन गरिनेछ । परियोजनाबाट करीब १३ सय घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कुल लागत १४ करोड १५ लाख ६२ हजार रुपैयाँ रहेको छ । विश्व बैंकसमेतको सहयोगमा केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुने र त्यसपछि नगरपालिकालाई हस्तान्तरण गरिने छ । परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था आयोजना निर्माणकर्ता केपी व्यवसायी सेवाले यसअघि नै खोजी सकेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर तथा अन्य व्यावसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिने छ । केन्द्रका कार्यकारी निर्देशक अधिकारीले फोहरबाट ऊर्जा उत्पादनमार्फत फोहरको दीर्घकालीन समस्या समाधानमा सघाउ पुग्ने बताए । उलने डिजाइन अनुसारको परियोजना निर्धारित समयावधि भित्र नै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजना निर्माण अवधि १ वर्ष रहेको छ ।


नगरप्रमुख सुवेदीले परियोजनाबाट नगर सफा हुनुको साथै नकुहिने फोहरको समेत उचित व्यवस्थापन हुने बताए । उनले अर्गानिक कर्णाली प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई परियोजनाबाट उत्पादित जैविक मल नगरपालिकाले उपलब्ध गराउने जनाए । उनका अनुसार उक्त बहुआयामी परियोजनाबाट शहरको फोहर व्यवस्थापन गर्दे मलसँगै ग्यास विक्री वितरण हुनेछ । यता परियोजना निर्माणकर्ता सेवाका प्रबन्ध निर्देशक ढकालले नगरपालिकाको फोहरको समस्या हटाउन परियोजनामा लगानी गर्न लागिएको जनाए । उनले छाडा पशु चौपाया व्यवस्थापन एवं फोहोर ब्यवस्थापनसँगै जोडिएको यस परियोजनाले कर्णाली प्रदेशको अर्गानिक प्रदेश बनाउने लक्ष्यलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘बहुआयामिक परियोजना भएकाले कर्णाली प्रदेशकै नमुना परियोजनाको रुपमा विकास गर्न लागिएको छ,’ उनले भने, ‘प्रदेशमै पहिलो पटक पाईपलाईनबाट घरघरमा ग्यास पु¥याउने यो परियोजना नवीन परियोजना हुनेछ ।’

Translate »