सुर्खेतमा दादुरा रुबेलाविरुद्धको खोप लगाइने

४० हजार बालबालिकालाई खोप लगाइँदै

स्काई न्यूज /फागुन ३०, सुर्खेत ।
सुर्खेतका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । शनिबारदेखि सञ्चालन हुने सो अभियान अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा कार्यक्रम सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ,’ उनले भने, ‘तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।’ उनका अनुसार सुर्खेतमा ५ सय ८० खोप केन्द्रमा १ सय ७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १ सय ६० स्वयंसेवक परिचालन हुनेछन् । दादुरा र रुबेला नौ महीनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताए ।

बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा बृद्धि गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उनले बताए । समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पु¥याउन अभियान सञ्चालन गर्न लागिएको हो । खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालीम तथा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

Translate »