२०८३ साउन १ , शुक्रबार
Sky News Nepal
२०८३ साउन १ , शुक्रबार

जनमैत्री बन्दै राष्ट्रिय वाणिज्य बैंक

कर्णालीमा साढे ५ अर्ब बढी लगानी


स्काई न्यूज/ चैत ४, सुर्खेत ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कर्णालीमा जनमैत्री बन्दै गईरहेको छ । बैंकले कर्णालीका सर्वसाधारणलाई व्वसायिक तथा स्वरोजगार बनाउन पछिल्लो आठ महिनामा साढे ५ अर्ब बढी लगानी गरेर जनमैत्री बन्दै गएको हो । आक्रमण तरिकाले क्षेत्र विस्तारमा जुटेको बैंकले आफ्ना १८ वटा शाखा मार्फत फागुन मसान्तसम्म ५ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरिरहेको छ । फागुन मसान्तसम्म ५ अर्ब ३८ करोड ३४ लाख निक्षेप संकलनसँगै २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकका कर्णाली प्रदेश कार्यालयका उपप्रमुख होताराम योगीले बताए । उनले छिट्टै सुर्खेतको वीरेन्द्रनगर, सल्यानको खलंगा एवं रुकुम पश्चिमको मुसिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार कर्णालीका दश जिल्लामा बैंकका डेढ लाख ग्राहक रहेका छन् ।

‘बैंकले कर्णालीमा महिला उद्यमी कर्जा, युवा स्वरोजगार कर्जा, कृषि कर्जा, दलित वर्ग लक्षित परम्परागत सीप कर्जा, बैदेशिक रोजगार कर्जा तथा उच्च शिक्षा अध्ययन ऋण प्रवाह गरिरहेको छ,’ उनले भने, ‘विना धितो १० लाखसँगै धितो राखेर स्वरोजगार एवं व्यवसायिक बनाउन अनुदानमा ५ करोड सम्म ऋण प्रवाह गरेका छौं ।’ उनले जन अपेक्षा अनुरुप मुख्यतः कर्णालीमा महिला उद्यमी तथा दलित वर्ग लक्षित परम्परागत सीप कर्जा प्रवाह भईरहेको जनाए । ‘सरकारले व्याज अनुदान दिएको सहुलियतपूर्ण ऋण लिन कर्णालीका युवाको रावा बैंक पहिलो रोजाईमा परेको छ,’ उनले भने, कर्णालीका सबै शाखा मार्फत ३.३३ प्रतिशत व्याज दरमै युवाहरुले ऋण पाउँछन् ।’ उनले बेरोजगार भई स्वदेशमै व्यवसाय गर्न चाहने युवा स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवा, महिला उद्यमी तथा दलित समुदायका लागि यस्तो कर्जा वरदान नै भएको जिकिर गरे । उनका अनुसार रावाको शाखामा गई कर्जा आवेदन, स्पष्ट रुपमा परियोजनाको विवरण, सिप विकास केन्द्रमा तालिम लिएको वा लिन्छु भन्ने प्रमाणित गरेको कागजपत्र लगायतका आवश्यक कागजात बुझाएपछि किस्तावन्दीमा ऋण पाउन सकिन्छ । कृषि काम गर्न, पसलहरु सञ्चालन गर्न, सिलाईबुनाई, ब्युटीपार्लर, होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहनेले पनि सजिलै कर्जा पाउने उनको भनाइ छ । त्यस्तै जुत्ता चप्पल, कपडा, गलैंचाहरु बुन्ने बेच्ने कामका लागि पनि ऋण पाइन्छ ।

‘बिनाधितो ३ प्रतिशतमा ऋण पाएर सही रुपमा परिचालन गर्ने हो भने जीवनस्तरले नै कोल्टे फेर्छ,’ उनले भने, ‘क्यारेमबोर्ड’ खेलेर दिन बिताउने युवालाई व्यवसायको योजना बनाउनुहोस, ऋण लैजानुहोस् र काम थाल्नुहोस् भन्न चाहन्छु ।’ उनले कर्णालीमा लगानीको सबै भन्दा ठूलो हिस्सा अहिलेपनि व्यापार कर्जा रहको जनाए । ‘गर्विलो इतिहास बोकेको रावा बैंकमा सामान्यतः सस्तो व्याजदर भएकाले ऋणीहरुको पहिलो रोजाईमा पर्ने गर्छ,’ उनले भने, ‘अन्य बैंकहरुको तुलनामा आधा व्याजदर भन्दा कम भएकाले रावाको कर्जा सस्तो छ । सरल, सुलभ एवं भरपर्दो बैंक भएकै कारण सबैको पहिलो रोजाई बनेको हो ।’ उनले रावा बैंकबाट जस्तो सुकै ऋण लिएपनि वार्षिक ११.३३ प्रतिशतभन्दा बढी व्याज मात्र तिर्नु नपर्ने जनाए । उनका अनुसार उत्पादनमूलक क्षेत्रका लागि हो भने व्याज दर झनै सस्तो रहेको छ । बैकले अहिले राष्ट्रिय दायित्व पुरा गर्न महिला उद्यमी, युवा स्वरोजगार, कृषि, परम्परागत सीप, बैदेशिक रोजगार तथा उच्च शिक्षा अध्ययनमा कर्जा सहजरुपमा उपलब्ध गराई रहेको छ ।

प्रकाशित मिति : २०७६ चैत ४ गते मंगलबार
Translate »