बैंक व्याज छुट गर्न व्यापारीको माग

कोरोना त्रासले सुर्खेतको व्यापार, व्यवसाय चौपट

स्काई न्यूज/ चैत ६, सुर्खेत ।
कोरोना त्रासबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि अछुतो रहन सकेन । कारोना त्रासकै कारण पछिल्लो एक महिना यता जिल्लाको व्यापार, व्यवसाय चौपट भएको व्यवसायीहरु बताउँछन् । भाईरस संक्रमणको डरले सर्वसाधारणको चहलपहल घटेसँगै व्यापार, व्यवसायमा मन्दी छाएको उनीहरुको भनाइ छ । कोरोना भाईरस सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने जोखिम रहेकाले सर्वसाधारण बजारमा ननिस्किदा होटल, कपडा पसल, सुनचाँदीसँगै अटो व्यवसाय प्रत्यक्ष मारमा परेको छ । कोराना भाईरसले विश्वव्यापी महामारीको रुप लिए सँगै बजारमा मान्छेको चहलपहल कम हुँदा व्यवसायमा मन्दी छाएको वीरेन्द्रनगरको बडुवाल खाजाघरका सञ्चालक भगत बडुवालले बताए । उनले चाईना बाट शुरु भएको यो भाईरस अहिले विश्वव्यापी रुपमा फैलिदा यसको प्रत्यक्ष असर व्यापारीलाई परेको जनाए । उनका अनुसार कर्णालीमा दैनिक उपभोग्य वस्तु धेरै जसो बाहिरकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

सुर्खेतमा भारत तथा चीन लगायतका मुलुकबाट प्रायः मालसामाग्री आउने गरेको व्यवसायी बताउँछन् । पछिल्लो एक महिना यता कोरोना त्रासले कपडा व्यवसाय चौपट भएको फुटपाथ कपडा व्यवसायी नन्दलाल अधिकारीले जनाए । उनले कोरोना महामारीको त्रासमा सर्वसाधारणको आवातजावत कम हुँदा व्यापारी पिल्सीएको बताए । ‘बैंकको ब्याज सम्झेर बिहानै ब्यापारमा आयो दिनभरी ५ सयको व्यापार मुश्किलले हुने गरेको छ,’ उनले भने, ‘घर भाडा, बैंकको ब्याज यो महिनाबाट तिर्न मुश्किल नै पर्ने भयो । सरकारले व्यापारीलाई यस्तो अवस्थामा केही राहछ दिनु पर्छ ।’ यता सरकारले आवश्यक काम बाहेक घर बाट बाहिर ननिस्कन आग्रह गरे सँगै बजार सुनसान हुने गरेका छन् । कोरानाको कारण होटल ब्यवसयी पनि मारमा परेका छन् । वीरेन्द्रनगरमा रहेका अधिकांस होटलहरु धरासयी नै भईसकेको होटल व्यबसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले बताए । उनले पर्यटक बाट चल्ने ब्यवसाय पर्यटकनै नभए पछी धेरै गाह्रो भएको जनाए । ‘ठूलो लगानीमा खोलिएका होटलहरुको त झनै बिजोग भएको छ । सरकारले कम्तीमा कोरोनाको महामारी रहुन्जेल बैंकको ब्याज मिनाहा गरिदिए ब्यवसायीलाई केही राहत हुन्छ,’ उनले भने, ‘बाह्रै महिना पाहुनासँगै कार्यक्रमले भरिभराउ हुने वीरेन्द्रनगरका होटलहरु कोरोना भाईरसको डरले सुनसान छन् । रारा जाने पर्यटकीय सिजन शुरु हुँदा पनि होटलमा बुकिङ नहुँदा व्यापार घाटा बढ्दै गईरहेको छ ।’ उनले सिजनमै पाहुना आगमनको कमीले बैंक एवं वित्तिय संस्थाबाट लिएको ऋणको व्याज तिर्न कठिनाई भईरहेको जनाए । होटलमा कार्यक्रम एवं पाहुना कम हुन थालेपछि व्यवसायीले कर्मचारीलाई विदा दिन थालेका छन् । होटलमा १५ देखि २० प्रतिशत पाहुना आउन थालेपछि चैत १ गते देखि लागु हुने गरी कर्मचारीलाई तलबी तथा वेतलबी विदा दिई घर पठाएको सिद्धार्थ शनी रिसोर्टका प्रबन्धक प्रदिप न्यौपानेले जानकारी दिए । कोरोना भाईरसका कारण होटलमा पाहुुना आउन छोडेपछि कर्मचारीको काम नहुने भएकाले कर्मचारीहरुलाई विदा दिनु परेको बताए । उनका अनुसार देशैभर शाखा सञ्जाल रहेको सिद्धार्थ शनी रिसोर्टले आफ्ना १० जना कर्मचारीलाई वेतलबी विदा दिएको छ । कर्णाली सरकारले विदेशी पर्यटक मात्र एक लाख भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरेको थियो । तर, विडम्बना भ्रमण वर्ष शुरु भएको एक/डेढ महिना पूरा हुन नपाउँदै कोरोना भाइरसको त्रासले कर्णालीको पर्यटन एवं होटल व्यवसाय क्षेत्रमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् । कोरोनाकै त्रासले कर्णालीमा विगत डेढ महिनादेखि पर्यटक आगमनको अवस्था शुन्य जस्तै भएको छ । व्यवसायीका अनुसार करिब ८० प्रतिशत होटलका कोठा खाली रहेका छन् ।


कर्णालीमा कोरोनाविरुद्ध प्रतिकार्य तयारी 
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश नाकामा आवश्यक बजेटसँगै पर्याप्त जनशक्तिका साथ डेस्क राखिसकेको छ । प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हटाउन पूर्व सजगतालाई अहिले तीव्र पारेको हो । प्रदेश भित्रिने सीमावर्ती नाकामा हेल्थ डेस्क, प्रादेशिक अस्पतालमा आइसोलेसन र जिल्लामा आवश्यक पर्ने जनशक्तिसँगै १० जिल्लामा ३६ वटा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ । हुम्लामा पाँच, मुगुमा नौ, रुकुम पश्चिममा आठ, सल्यानमा एक, डोल्पामा दुई, जुम्लामा पाँच, जाजरकोटमा एक, सुर्खेतमा तीन, दैलेखमा दुईवटा हेल्थ डेस्क स्थापना गरिएका छन् । सुर्खेत विमानस्थलमा समेत एउटा हेल्थ डेस्क स्थापना गरिएको छ । आवश्यक परे अन्य क्षेत्रमा पनि हेल्थ डेस्क सञ्चालन गर्न सकिने प्रदेश सरकारको भनाइ छ ।

Translate »