लकडाउनमा सुर्खेतको चिल्डे«न प्याराडाइजद्वारा अनलाइन कक्षा शुरु

स्काई न्यूज /चैत २९, सुर्खेत ।
लकडाउनका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि सुर्खेतको वीरेन्द्रनगर–८ खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको छ । ८ एवं ९ कक्षासँगै एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले अनलाइन कक्षा शुरु गरेको विद्यालयका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञावलीले बताए । उनले लकडाउनका कारण विद्यालय बन्द भएपछि विद्यार्थीलाई मंगलबारदेखि अनलाइन कक्षा शुरु गरिएको जानकारी दिए । यो प्रविधिमा शिक्षकले व्याख्यान विधिबाट पढाउने गर्छन् । ‘यो प्रविधिमा ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड प्रयोग गर्ने गरिएको छ । यसमा विद्यार्थीका अभिभावकको सहायतामा एप्स डाउनलोड गरिन्छ,’ विद्यालयका सहायक प्रिन्सीपल टेकनारायण लम्सालले भने, ‘त्यसपछि शिक्षकले एप्सको नेटवर्कमा आवद्ध हुनको लागि आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक र विद्यार्थी जोडिने गर्छन् ।’ उनका अनुसार अनलाइनमार्फत एउटा कक्षा ४० मिनेटससम्म चल्ने गरेको छ । प्रत्येक विषय पढाउँदा विद्यार्थीलाई फरक–फरक आइडी दिने गरिन्छ । उनले विषयविज्ञ शिक्षकले हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दुईवटा र दिउँसो ३ बजेदेखि ५ बजेसम्म तीन वटा अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको जनाए ।


उनका अुनसार विद्यालयका शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक एवं विज्ञान विषय अनलाइनमार्फत पढाउने गरेका छन् । विद्यार्थीले आ–आफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा विद्यालयको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा विद्यार्थीले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ । विद्यालयका अध्यक्ष शरद पौडेलले कोरोना महामारीका समयमा सूचना प्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पु¥याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताए । अनलाइन कक्षाबाट बढी भन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै उनले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गरे । विद्यालयका अभिभावक जगतराज पाठकले लामो बन्दको काराण पढ्ने बानी बिर्सिइरहेका बेला यसले विद्यार्थीलाई व्यस्त बनाएको बताए । ‘प्रविधिको दुरुपयोग हुँदा कहिलेकाहिँ बालबालिकालाई नकारात्मक असर पर्ने गरेको छ,’ उनले भने, ‘तर यो प्रविधि निकै फलदायी भएको छ ।’ अनलाइन पढाइ प्रभावकारी भएपछि विद्यालयले छिट्टै दश जोड दुई का विद्यार्थीलाई पनि पढाउन शुरु गर्ने योजना बनाएको छ । विद्यालयकी छात्रा भावना महतराले लकडाउनका बेला घरमा बसिरहन पट्यार लागेका बेला अनलाईन कलासबाट पढाईलाई निरन्तरता दिने सुनौलो मौका मिलेको बताईन् । ‘स्कुल कहिले खुल्ने भन्ने थाहा छैन,’ उनले भनिन्, ‘पछि हामीलाई एकैचोटि पढाईको भार नहोस् भनेर नै स्कुलले हाम्रो खाली समयलाई पनि सदुपयोग गरिदिएको छ ।’

 

Translate »