लकडाउनमा जन नमूना माविद्वारा अनलाईन कक्षा शुरु

स्काई न्यूज /चैत ३०, सुर्खेत ।
कर्णाली प्रदेशकै चर्चित सुर्खेतको वीरेन्द्रनगर स्थित जन नमूना माध्यमिक विद्यालयले परीर्थीका लागि अनलाईन कक्षा शुरु गरेको छ । कोरोना भाईरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि अनलाईन कक्षा शुरु गरिएको हो । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी विद्यालयले अनलाइन कक्षा शुरु गरेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले जानकारी दिए । उनले लकडाउनका कारण विद्यालय बन्द भएपनि घरमै बसी–बसी विद्यार्थीलाई आइतबारदेखि अनलाइनबाटै पढाइरहेको बताए । ‘अहिले तत्कालका लागि एसईई परीर्थीसँगै ११ र १२ कक्षाका विद्यार्थीलाई अनलाईन पढाई शुरु गरेको छौं,’ उनले भने, ‘विषयविज्ञ शिक्षकले हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाएका छौं ।’ उनले विद्यालयको फेसबुक पेज वा युट्युबसँगै सुदूर गाउँका विद्यार्थीलाई फोनका माध्यमबाट समेत पढाउने व्यवस्था मिलाएको जनाए । उनका अनुसार विद्यार्थीले आ–आफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा विद्यालयको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् ।

‘यो प्रविधिबाट पढ्नका लागि विषय विज्ञ शिक्षकको मोवाईल नम्वर समेत उपलब्ध गराएका छौं,’ उनले भने, ‘सिधै सम्बन्धित शिक्षकलाई मोवाईलबाट सोधेर फेसबुक पेज वा युट्युबमा जोडिएर विविध विषयमा जानकारी लिन सकिन्छ । त्यसपछि अनलाईन मार्फत आ–आफ्नो घरमा रहेका शिक्षक र विद्यार्थी जोडिने गर्छन् ।’ उनका अनुसार अनलाइनमार्फत एउटा कक्षा ४० मिनेटससम्म चल्ने गर्छ । प्रत्येक विषय पढाउँदा विद्यार्थीलाई फरक–फरक आइडी दिने गरिन्छ । यद्यपि विद्यार्थीलाई कुनै कुरा सोध्न मन लागेमा हात उठाएर सोध्न मिल्छ । उनले लकडाउनका कारण लामो बन्दले विद्यार्थीको पढ्ने बानीलाई निरन्तरता दिन विद्यालयले अनलाईन प्रविधिको सहारा लिनु परेको बताए । विपद्को संकटमा अनलाईन प्रविधि निकै फलदायी हुनेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो । ‘अनलाइन पढाइ प्रभावकारी देखिएमा थप ७, ८ र ९ कक्षाका विद्यार्थीलाई पनि पढाउन शुरु गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘विद्यालयका शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउन शुरु गरिएको छ ।’ उनले कोरोना महामारीका समयमा सूचना प्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पु¥याउन तत्कालका लागि अनलाइन कक्षा मात्र विकल्प रहेको जनाए । अनलाइन कक्षाबाट बढी भन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै उनले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म अनलाईन कक्षा फलदायी हुने विश्वास व्यक्त उनले गरे ।