लकडाउनलाई थप कडाई पार्दे सरकार

उद्दार गरिएकालाई अनिवार्य क्वारेन्टाईन

स्काई न्यूज /बैशाख ४, सुर्खेत ।
सरकारले लकडाउनलाई थप कडाई पार्दै लगिरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाई गरेको हो । कर्णालीमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवागमन नियन्त्रण गर्ने गरी लकडाउनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । ‘लकडाउनलाई अझ पूर्ण पालना गर्न र प्रभावकारी ढंगले सम्भावित जोखिम नियन्त्रण र रोकथाम गर्नुपर्ने देखिएको छ’, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन, ‘त्यसका लागि एक प्रदेशबाट अर्को प्रदेशको आवागमन, एउटा जिल्लाबाट अर्को जिल्लाको आवागमन, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई नियन्त्रण गर्ने र अस्वाभाविकरुपमा आवागमन हुन नदिने र जोखिमलाई यसरी नियन्त्रण गर्नु नै उपयुक्त विधि हुने ठानी त्यस्तो निर्णय लिएका छौ ।’ केन्द्र सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे थियो । यो अवधि बैशाख १५ गतेसम्म रहनेछ । अत्यावश्यकबाहेक अन्य सेवा ठप्प गदै सरकारले घरभित्रै बस्न आग्रह गर्दै लकडाउन घोषणा गरेको थियो ।


प्रदेश सरकारले भारतलगायतका विभिन्न शहरबाट काम गरेर फर्किएका कर्णालीका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरेको छ । कर्णाली प्रदेश बाहिरबाट रोजगारी गरेर फर्किएहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने गरिएको मन्त्री केसीले जानकारी दिइन् । ‘रोजगारीका लागि कर्णाली बाहिर रहेका विभिन्न जिल्लाका नागरिकहरु हिँडेरै कर्णालीमा भित्रिरहेका छन,’ प्रवक्ता केसीले भनिन, ‘अव त्यसरी भित्रिने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राख्छौं ।’ प्रदेशका १० वटा जिल्लामा रहेका २५४ वटा क्यारेन्टाईनमा करिब ५ सय नागरिक अहिले पनि बसिरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार लकडाउन शुरु भएयता १ लाख १२ हजार १ सय २८ जना नागरिक प्रदेशमा भित्रिएका छन । ती मध्ये ७३ हजार ८ सय ३५ जना सुर्खेतका रहेका छन् । प्रदेशमा हालसम्म ४५० वटा आइसोलेशन बेड तयारी अवस्थामा रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशक रिता भण्डारीले जानकारी दिईन् । उनले प्रदेशका दश वटै जिल्लाका विभिन्न पालिकाहरुमा समेत क्वारेन्टाईन् निर्माण गरि प्रदेश बाहिरबाट आएका नागरिकलाई राखिएको जनाईन् । उनका अनुसार प्रदेशका विभिन्न जिल्लाका केही नागरिकहरु अहिले पनि होम क्वारेन्टाईनमा बसिरहेका छन् ।

कोरोना संक्रमण रोक्नका लागि प्रदेश बाहिरबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय प्रदेश सरकारले गरेको छ । रुकुम पश्चिमका दुई जनाको स्वाबको नमुना जाँच गर्दा कोरोना संक्रमणको आशंका गरिएपछि  प्रदेश सरकारले यहाँका सीमानाकामा थप कडाई गरेको छ । कोरोना संक्रमण देखिएको पालिकालाई सिल गरिएको छ । नेपालभित्रका कतीपय जिल्लाहरुमा कोरोना संक्रमण देखिएकाले पनि कर्णाली भित्रिने सीमा नाकाहरुमा कडाई गरिएको प्रदेश सरकारले बताएको छ । ‘बाहिरी जिल्लाबाट कर्णालीमा भित्रिने नागरिकहरुले अनिवार्य रुपमा कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ मन्त्री केसीले भनिन, ‘हामी कर्णालीमा कोरोना संक्रमण फैलन नदिनका लागि सबै प्रकारका सुरक्षा उपायहरु अपनाइरहेका छौं ।’ कर्णाली भित्रिने मुख्य नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । ‘उच्च सावधानी अपनाउनकै लागि कर्णालीमा आउने नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेका हौं,’ उनले भनिन्, ‘१४ दिनसम्म क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य चेकजाँच गछौं ।’ अहिलेसम्म कोरोनाको प्रभाव कर्णालीमा नपरेको भएपनि मानसिक तथा सम्भावित संक्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन स्थानीय प्रशासनहरुले आग्रह गर्दे आएका छन् । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न स्थानीय पालिकाहरुले समेत आग्रह गर्दै आईरहेका छन् ।



क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै
कर्णाली बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा अनिवार्य राख्ने नीति लिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गईरहेको छ । भारतलगायत स्वदेशकै विभिन्न जिल्लाहरुबाट प्रदेश भित्रिएका नागरिकलाई प्रदेश सरकारले बुधबार राति थप ३० जनालाई क्वारेन्टाइनमा राखेको छ । विभिन्न जिल्लाहरुमा रोजगारी गरेर फर्केका उनीहरुलाई बबई नाकाबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको हो । सुर्खेतका १२, दैलेखका १२ र कालिकोटका ६ जनालाई बबईबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले बताए । उनका अनुुसार मंगलबार राति मात्रै बबईबाट उद्दार गरेर ३५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । योसँगै वीरेन्द्रनगरको क्वारेन्टाइनमा पछिल्लो दुई दिनमा ६५ जना पुगेका छन् ।


वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ घर फिर्ता
वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना सङ्क्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो । खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी थियो । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए ।

नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए । क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् । उनीहरुलाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी क्वारेन्टाईनबाट घर पठाइएको थियो ।

Translate »