विपत्तिमा सञ्चारको वैकल्पिक व्यवस्था
यतिबेला हामी कोरोना महामारीको सँघारमा छौं । विश्वलाई नै त्रस्त बनाएको यो महामारीबाट बच्न नेपाल पनि प्रयासरत छ । अनेकौं सीमितता, कमजोर इच्छाशक्ति र तयारीले नेपालले यसबाट निकै क्षति व्यहोर्ने निश्चित छ । यस रोगविरुद्धको मोर्चामा यतिबेला राजनीतिक नेतृत्व, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका साथ साथ सिंगो सञ्चार क्षेत्र क्रियाशील छ । निरन्तरको सूचना र जानकारीले मात्र यस्ता महामारीबाट बच्न सकिने भएकाले महामारीका बेला सञ्चार क्षेत्रको दायित्व र भूमिकाबारेमा यहाँ चर्चा गरिएको छ ।
परिवर्तित दायित्व र भूमिका
आलोचनात्मक दृष्टिकोण र निरन्तरको निगरानी गर्नुपर्ने सञ्चारमाध्यमहरू महामारीको बेला राज्यको सहयोगीका रूपमा देखा पर्छन् । महामारीविरुद्धको मोर्चामा एकाकार हुन्छन् र सरकार वा नेतृत्वलाई सहयोग गर्छन् । विश्वभर हुने यो अभ्यासलाई नेपाली सञ्चारमाध्यमहरूले पनि निरन्तरता दिएका छन् । आफूलाई समेत जोखिममा राखेर जनतालाई तत्काल सूचना प्रदान गर्ने काममा नेपाली सञ्चारमाध्यमहरूले योगदान गरिरहेका छन् ।
महामारी वा विपत्तिका बेला तथ्यमा आधारित भई सूचना प्रदान गर्ने र सम्भावित जोखिम वा जनधनको क्षति हुनबाट रोक्ने दायित्व सार्वजनिक, निजी वा सामुदायिक सबै खालका सञ्चारमाध्यमको हुन्छ। महामारी वा विपत्तिका बेला सरकार वा नेतृत्वबाट भएका गल्ती र कमजोरीलाई रचनात्मक रूपमा उठाउन भने सञ्चारमाध्यम चुक्नु हुँदैन र चुक्दैनन् पनि ।
महामारीका चरण
सामान्यतया महामारीलाई तीन चरणमा विभाजन गरी हेर्ने गरिन्छ । महामारीपूर्वको चरण, महामारीको चरण र महामारीपछिको चरण । यी तीन चरणमा गर्नुपर्ने तयारी र दायित्व भिन्नभिन्न हुन्छन् ।
महमारीपूर्वको चरणः महमारी वा विपत्ति अप्रत्यासित रूपमा आउने, क्षतिको अनुमान गर्न नसकिने खालको हुन्छ । ‘विश्वभर नै अप्रत्यासित रूपमा आउने सम्भावित महामारीलाई दृष्टिगत गरी सबै प्रकारको तयारी गर्ने चलन भए पनि नेपालमा त्यस्तो अभ्यास हुने गरेको पाइँदैन। तर यसपटकको महमारी भने समय र सूचना दुवै दिएर नेपाल भित्रिएको छ । दुई महिनाभन्दा बढी दिएर आएको यो महामारीविरुद्ध सामना गर्न हामी कति तयार भयौं बादिएको समय खेर फाल्यौं ।’ यो परिणामले देखाउला ।
पूर्वसूचना दिएर आएकाले यस महामारीका बारेमा जनतालाई सुसूचित गराउने काममा सञ्चारमाध्यमले प्रशस्त काम गरे । हात धुने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, अत्यवश्यक काममा बाहेक बाहिर ननिस्कनेजस्ता सूचनाका साथै कोरोना के हो ? कसरी सर्छ ? लक्षण कस्तो हुन्छ ? र कसरी बच्ने भन्नेबारेमा यथेष्ट सूचना सम्प्रेषण भए ।
महमारीको चरणःयतिबेला नेपाल महमारीको चरणमा प्रवेश गरिसकेको छ । संक्रमितको दर बढ्ने क्रममा छ भने मृत्यु हुनेको संख्या पनि अब बढ्दै जाने छ। यस्तो बेलामा कैयन् सञ्चारगृहका पत्रकार, कामदार र कर्मचारीहरू संक्रमित हुन सक्छन्। कतिपय सञ्चारमाध्यम सिल गर्नुपर्ने, पत्रकार तथा कामदारलाई क्वोरन्टिनमा राख्नुपर्ने हुन सक्छ । कतिपय सञ्चार गृह बन्दसमेत हुन सक्छन्। महामारीले व्यापकता लिएको अवस्थामा सूचना सम्प्रेषणको सञ्जालसमेत टुट्न सक्छ ।
महामारीका बेला मुख्य जिम्मेवारी बोकेका सार्वजनिक सञ्चारमाध्यम (नेपालको सन्दर्भमा सरकारनियन्त्रित सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन) समेत सिल गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आए वैकल्पिक व्यवस्था के गर्ने, कुन माध्यममार्फत सूचना सम्प्रेषण गर्नेजस्ता कुराको तयारी हामीकहाँ भएको छैन । कुनै सञ्चारमाध्यम सिल गर्नुपरे वा प्रकाशन वा प्रसारण रोकिन गए के गर्ने भन्ने तयारी भएको देखिँदैन ।आफू र आफ्नो परिवारलाई समेत जोखिममा राखेर निरन्तर कर्मक्षेत्रमा खट्ने सञ्चारमाध्यमका लागि मुलुक संवेदनशील हुन जरुरी छ ।
महामारीपछिको चरण यो चरण महामारी सकिएपछि पुनः जनजीवन सामान्य भएपछिको अवस्था हो । यो अवस्थामा महामारीबाट भएको क्षतिको लेखाजोखा गर्ने, पु नःकार्यलाई अगाडि बढाउने र जनजीवनलाई सामान्य बनाउने चरण हो । महामारीको चरण लम्बिएको खण्डमा कतिपय सञ्चारमाध्यमले आफूलाई टिकाइरहन सक्ने अवस्था देखिँदैन । त्यस्तो अवस्थामा कतिपय पत्रकार तथा कामदारले रोजगार गुमाउने सम्भावनासमेत देखिन्छ ।
महामारीका बेला गर्नुपर्ने तयारी
महामारी वा विपत्तिका बेला जनतालाई निरन्तर सुसूचित गर्न जरुरी हुन्छ । त्यसका लागि विशेष प्रकारको तयारी गर्ने चलन विश्वभर छ । महामारीका बेला तत्काल सूचना पठाउने, प्राप्त सूचनालाई तत्काल सम्प्रेषण गर्ने, डर, त्रास तथा उत्तेजना गराउने खालका समाचार वा सूचनालाई प्रकाशन तथा प्रसारण नगर्नेजस्ता व्यवस्था मिलाइएको हुन्छ । साथै आफू आबद्ध सञ्चारमाध्यम बन्द, सिल वा सञ्चालन नभएको अवस्थामा अर्को सञ्चारमाध्यममा सूचना सम्प्रेषण गर्नेजस्ता तयारी गरिएको हुन्छ। कम्युनिकेसन ट्रीको निर्माण गरी सूचनालाई व्यवस्थित गर्ने चलन विश्वभर भए पनि नेपालमा त्यसको प्रयोग नहुँदा संकटको सञ्चार प्रभावकारी हुन सकेको छैन ।
सञ्चारको वैकल्पिक व्यवस्था
महामारी वा विपत्तिका बेला प्रसारणलाई सञ्चारको प्रभावकारी माध्यम मान्ने गरिन्छ। भूकम्प, आँधीबेहरी, बाढीपहिरो, आगोलागीजस्ता विपत्तिका बेला घरबाहिर बस्नुपर्ने भएकाले रेडियोलाई प्रभावकारी साधन मानिन्छ भने घरभित्रै बस्नुपर्ने यस्तो संक्रमणका बेला टेलिभिजनको प्रभावकारिता बढी हुन्छ । सूचनालाई केन्द्रीकृत गरिने भएकाले टेलिभिजनमा पनि सार्वजनिक प्रसारण वा नेपालको सन्दर्भमा सरकारी स्वामित्वको टेलिभिजनको प्रभावकारिता र लोकप्रियतासमेत बढी हुन्छ ।
स्रोतमा पहुँच सीमित गर्नुपर्ने वा सबैलाई प्रवेश दिन नसकिने अवस्थामा त्यस्ता माध्यमले मात्र प्रवेश पाउने भएकाले पनि तिनको प्रभावकारिता र लोकप्रियता बढ्ने हो । नेपालको सन्दर्भमा रेडियो नेपाल र नेपाल टेलिभिजनले हाल त्यो भूमिका निर्वाह गरिरहेका छन्, जुन स्वाभाविक पनि हो । त्यस्तो दायित्व बोकेको यी दुई माध्यममा संक्रमण भए के वैकल्पिक व्यवस्था के गर्ने, निजी वा सामुदायिक रेडियो वा टेलिभिजनमा संक्रमण देखिए वैकल्पिक व्यवस्था के गर्ने भन्ने विषयमा छलफल नहुँदा कुनै पनि बेला कुनै पनि सञ्चारमाध्यम बन्द हुने अवस्था उत्पन्न हुन सक्छ । आशा गरौं– अवस्था त्यस्तो नहोस् कि सूचनाको सञ्जाल नै विच्छेद भई जनताको सूचना पाउने संवैधानिक अधिकारको हनन नहोस्। त्यसतर्फ गम्भीर हुन जरुरी छ ।
अन्त्यमा
दैनिक समाचार संकलन, प्रशोधन र प्रकाशन वा प्रसारणमा संलग्न संचारकर्मीलाई राज्यले भिन्न व्यवहार गर्नु उचित होइन । आफू र आफ्नो परिवारलाई समेत जोखिममा राखेर निरन्तर कर्मक्षेत्रमा खट्ने यो वर्गका लागि मुलुक संवेदनशील हुन जरुरी छ । जनतासँगको सूचना सञ्जाललाई निरन्तरता दिन आवश्यक वैकल्पिक व्यवस्था तत्काल मिलाउन आवश्यक छ । विपत्तिका बेला कुनै पनि पत्रकार वा सञ्चार गृहले मेरो र तेरो नभनी प्राप्त सूचनालाई जुनसुकै सञ्चारमाध्यममार्फत प्रकाशन वा प्रसारण हुन सक्ने व्यवस्था मिलाउनुपर्छ ।
सरकारी अस्पतालले मात्र सेवा दिन नसक्ने अवस्थामा निजी अस्पताललाई परिचालन गर्न जति जरुरी छ, त्यति नै जरुरी सरकारी सञ्चारमाध्यम सिल गर्नुपरेको वा सञ्चालन हुन नसकेको अवस्थामा निजी सञ्चारमाध्यम प्रयोग गर्ने नीति लिन आवश्यक छ । यसबाट निरन्तर सूचना सम्प्रेषण गरी थप जनधनको क्षति हुनबाट रोक्नेतर्फ सोच्न ढिलाइ गरिनु हुँदैन ।
विपत्तिका बेला कुनै पनि सञ्चारकर्मीले आफू सुरक्षित रहने, आफ्नो सञ्चारगृहलाई सुरक्षित राख्ने, तत्काल सूचना सम्प्रेषण गर्ने, तथ्यमा आधारित हुने, समाजमा डर, त्रास, उत्तेजना फैलाउने खालका समाचार सम्प्रेषण नगर्नेतर्फ ध्यान दिन जरुरी हुन्छ । सञ्चारकर्मीबीच सञ्चार सञ्जाल निर्माण गरी निरन्तर सम्पर्कमा रहने, छिटो माध्यमबाट सूचना सम्प्रेषण गर्नेतर्फ ध्यान दिन सके कोरोनाविरुद्धको मोर्चामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्न सक्ने देखिन्छ।(अन्नपूर्ण पोष्ट)
हुमागाईं प्रसारणविज्ञ हुन्।