प्रधानमन्त्रीको सम्बोधन : लकडाउन खुकुलो पार्ने संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी अझ बढी फैलन सक्ने चिन्ता व्यक्त गर्दै जारी लकडाउन केही खुकुलो बनाउने संकेत गर्नुभएको छ । सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीको संक्रमण अझै केही अवधि जारी रहने हुँदा समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ केही नयाँ कदम चालिने बताउनुभएको छ ।

कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सृजित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले प्रमुख दायित्व ठानेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था गर्न लागिएको बताउँदै त्यस सम्बन्धमा विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडल परिवर्तन हुन सक्ने संकेत गर्दै महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गर्ने बताउनुभएको छ । यसअघिका अभिव्यक्तिमा उहाँले अर्थतन्त्रभन्दा जीवन ठूलो भएको बताउँदै आउनुभएको थियो । सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाउनुका साथै थप उद्योग सञ्चालनको अनुमति दिने पनि उहाँले बताउनुभयो । ‘काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस गर्न नदिने शर्तमा श्रमिकहरूको कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तर, समुदायमा कोरोना संक्रमण फैलन नदिन मानिसको आवागमनलाई सीमित गर्ने गरी प्रशासनिक कडाइ भने कायमै राखिनेछ ।’

 

प्रधानमन्त्रीले सम्बोधनमा अवस्था हेरी विकास निर्माणका काम शुरू गर्ने, दैनिक आवश्यक वस्तुहरूको आन्तरिक ढुवानी र आयात र निर्यात सहज बनाइने तथा विदेशबाट फर्किएका र स्वदेशमै रहेका बेरोजगारहरूलाई श्रममा जोड्ने पनि बताउनुभयो ।कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि सरकारले राहत सुविधाको व्यवस्था गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाहा, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवम् विद्युत्लगायत क्षेत्रमा दिइने छूट दिइने र शिथिल बन्न पुगेको अर्थ व्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ,’ सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘कोरोना महामारीका बीच पनि राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको छ । अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योग सञ्चालनको अनुमति दिइनेछ ।’ तीनै तहको सहकार्यमा पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको श्रममूलक विकास निर्माणका कार्यहरू सञ्चालन गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकका रूपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले एक मात्र प्रयोगशालाबाट शुरू भएको कोभिड–१९ को परीक्षणलाई सातओटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीव्र बनाइएको बताउनुभएको छ । परीक्षणको दायरा फराकिलो बनाउन किट तथा औषधिको प्रबन्ध द्रुत गतिमा गरी कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिए तापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरू सफल भएको दाबी गर्नुभएको छ ।

क्वारेन्टाइनको संख्या बढाउने र त्यसको स्तरमा पुनरवलोकन गरी व्यापक सुधार गर्न आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटेल तथा उपयुक्त सार्वजनिक संरचनाहरूलाई समेत क्वारेन्टाइनका रूपमा प्रयोग गर्नेबारेमा समेत योजना बनाइएको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख गर्नुभएको छ । महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको भन्दै प्रधानमन्त्रीले एसईईका परीक्षार्थीहरूको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने बताउनुभएको छ । आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाइने उहाँले बताउनुभएको छ ।

सरकारले सामाजिक सुरक्षाका लागि प्रदान गर्दै आएको सहयोग कटौती नगरिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा विरोध आइरहेको सन्दर्भमा प्रधानमन्त्रीले यो स्पष्ट पार्नुभएको हो । उहाँले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने दाबीसमेत गर्नुभएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने र यसमा आबद्ध सबैलाई हालका लागि सरकारी कोषबाटै मिलान गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीका केही महत्वपूर्ण घोषणा
–    महामारी विस्तार भएको ठाउँलाई शिल गरी त्यहाँ ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइने
–    स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने
–    नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगलाई सञ्चालनको अनुमति दिइने
–    जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने
–    आवश्यक वस्तुको आन्तरिक ढुवानी र आयात र निर्यात सहज बनाइने
–    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिने
–    सबै विद्यालयमा नयाँ शैक्षिक वर्षअन्तर्गतको ‘भर्चुअल कक्षा’ सञ्चालनको काम अघि बढाइने (आर्थिक अभियान )

 

Translate »