लकडाउन परिवेश कि प्रबृत्ति ?

जीतबहादुर शाह

उमेरको हिसावले आलोकाँचो हुँदा बुद्धि पनि त्यस्तै हुँदो रहेछ, केटाकेटी । मैले प्राथमिक तहमा पढ्ने समयमा अहिले जस्तो विद्यालयहरु गाँउगाँउमा थिएनन् । लामै बाटो हिडेर जानुपथ्र्यो विद्यालय । बाटो पनि सजिलो थिएन उकालो ओरालो भीर पहरा छिचल्नु पर्ने । एकपटक विद्यालय जाने क्रममा बाटोमा एक्लै एक्लै हिडिरहेको थिएँ । बाटोको भित्तोतिर एक्कासी आँखा प¥यो । वर्षा याम भएकाले जमीन चिसो चिसो थियो । चिसो माटोको ढिस्कोमा सानो प्वाल थियो । त्यही प्वालमा अरिङ्गालहरु भित्र पस्ने र बाहिर निस्कने गरिरहेका थिए । थाहा छैन मलाई त्यो अरिङ्गालसँग किन रिस उठ्यो । उनिहरु भित्र र बाहिर गर्ने प्वाल थुनिदिएर बाहिर निस्कन नदिने विचार फु¥यो । अर्को ठाउको चिसो माटो लिएर प्वाल थुनिदिएँ । थुनेको एक सेकेण्ड नहुदै मलाई बाहिरका अरिङ्गालहरुले आक्रमण गरे । टाउको लगायत जिउभरि एकैपटक खनिएँ । म दौडदै र रुदैकराउदै स्कूल होइन कि घरतिर हानिएँ । घरसम्म पुग्दा पनि मलाई अरिङ्गालले छोडेनन् । घरमा पुगेपछि आमाको सहयोगले बल्लतल्ल टाउको र शरीरका अन्य भागमा गडेका अरिङ्गालहरु फाल्ने काम भयो । हप्ता दिनसम्म थला परें । जे होस आफ्नै बुद्धिले निम्त्याएको ठूलो दुर्घटनाबाट बाल्यकालमा बालबाल बाँचियो ।  केटाकेटी उमेरको त्यतिबेलाको बुद्धिले बाहिरबाट आउने अरिङ्गालको बारेमा सोच्न सकेन । परिस्थितिको सिंहावलोकन गरेर विश्लेषण गर्ने सोच पनि थिएन त्यतिबेला । त्यसकै परिणामले मृत्युको मुखको नजीक नजीक गएर फिर्ता हुने काम सुसम्पन्न भयो । अहिले सम्झदा आफ्नै बुद्धिलाई थुक्क भन्न मन लाग्छ । बाहिर पनि अरिङ्गाल छन् भन्ने कुरा पनि थाहा नपाउने कति घटिया बुद्धि रहेछ भनेर आफैसँग घीन लागेर आउछ । भित्र प्रवेश गर्न नपाएपछि बाहिरकाले पनि मलाई टोक्नेछन भन्ने सम्मको सोच पनि आउन सकेन । लकडाउनको यो अवधिमा त्यो घटना हरेक दिन जस्तो स्मृतिपटलको दैलो घच्घच्याउन आइरहन्छ । हरेक घटनाको पछि कारण भए झै यसको पनि कारण छ यो पङ्तिकारसँग ।

हामीले कोरोनाबाट बच्नका लागि देशलाई लकडाउन त गरयौ । नागरिकहरुले सरकारको लकडाउनको उच्च सम्मान गर्दै यसको पालना पनि गरे.। यत्ति सम्म कि भोलिपल्ट विहान ८ बजेदेखि हुने एसइइको परीक्षाको पूरा तयारी गरिरहेका विद्यार्थीहरुको परीक्षा स्थगित गरियो अघिल्लो बेलुका ८ बजे । टाढाटाढा घर भएका विद्यार्थीहरुले परीक्षा केन्द्र नजीकै डेरा जमाएर परीक्षाका लागि कम्मर कसिसकेको अवस्था थियो । परीक्षाका सञ्चालकहरुले समेत प्रश्नपत्र परीक्षा केन्द्रमा लिने बाहेकका अन्य कामहरु सम्पन्न गरिसकेको अवस्था थियो । त्यतिबेला अर्थात चैत्र ५ गते एकजना चाइनाबाट आएको व्यक्तिमा मात्र कोरोना पुष्टी भएको थियाे । तथापि परीक्षा स्थगित भयो । शिक्षा मन्त्रालयले स्थगित हुदैन भनेर त्यही दिन दिउसो ५ गते जारी गरेको विज्ञप्ती समेत उच्च स्तरीय समितिले धोति लगाइदियो । बालबालिकाको मनोविज्ञानको बारेमा अलिकति पनि हेक्का नभएका मानिसहरुको निर्णयले बालबालिकालाई हेप्ने र चेप्ने मौका पायो ।
भित्रकालाई परीक्षा लगायतका अन्य महत्वपूर्ण काममा समेत बाहिर निस्कन नदिने । बाहिरकालाई भने बैध वा अबैध रुपमा त्यो पनि अव्यवस्थित किसिमबाट प्रवेश गराउन थालेपछि कोरोनाको सक्रमण बढ्न थालेको प्रष्ट छ । किस्सा मेरो जस्तै, प्वालभित्र गुडमा बसेका अरिङ्गाललाई बन्द गरेर बाहिरका अरिङ्गालको हेक्का नराखे जस्तै । यो सवैको कारण भनेकै बालबालिका र शिक्षालाई प्राथमिकता नदिने प्रबृत्ति हो भन्दा अन्यथा हुदैन ।
बालबालिकाहरु शारीरिक र मानसिक हिसावले कमजोर हुन्छन् । सरकार जनमुखी हुन सकेन भने त्यस्तो सरकारले शक्तिमा भएकाहरुको सम्मान गर्दछ र शक्तिविहीन एवम् आवाजविहीनहरुलाई पेलेर अघि बढ्ने गर्दछ । ठीक त्यस्तै भयो त्यतिबेला । परीक्षा अवधिभरका लागि अर्थात दश दिन जति एकजना पनि बाहिरबाट आउन नदिएर परीक्षा सञ्चालन गर्न सकेको भए परीक्षा पनि सानदारको साथ सम्पन्न हुन्थ्यो र कुनै एकजनालाई पनि कोरोना सर्ने सम्भावना पनि हुने थिएन । किनभने कोरोना चाइनामा उत्पादन भए झै नेपालमा पनि उत्पादन हुने सम्भावना त थिएन । त्यो आउने भनेकै बाहिरी मुलुकबाट हो । भित्रकालाई परीक्षा लगायतका अन्य महत्वपूर्ण काममा समेत बाहिर निस्कन नदिने । बाहिरकालाई भने बैध वा अबैध रुपमा त्यो पनि अव्यवस्थित किसिमबाट प्रवेश गराउन थालेपछि कोरोनाको सक्रमण बढ्न थालेको प्रष्ट छ । किस्सा मेरो जस्तै, प्वालभित्र गुडमा बसेका अरिङ्गाललाई बन्द गरेर बाहिरका अरिङ्गालको हेक्का नराखे जस्तै । यो सवैको कारण भनेकै बालबालिका र शिक्षालाई प्राथमिकता नदिने प्रबृत्ति हो भन्दा अन्यथा हुदैन ।

अहिले पनि मुुलुकका असी लाख विद्यालय जाने बालबालिकाहरु लकडाउनको नाममा घरभित्रै थुनिएर बसेका छन् । कसैलाई चिन्ता छैन यो बारेमा । केहीको हिसाव नगर्ने हो भने उनीहरुलाई दिने भनेर छपाइ गरी वितरण गरिएका पाठ्यपुस्तक समेत उनीहरुको हातमा पुरयाउने काम भएको छैन । किनभने त्यो कुरा अतिआवश्यक सामग्री अन्तगर्त परेन । उनिहरुले अध्ययन गर्ने विद्यालय पनि अतिआवश्यक अफिस अन्तर्गत परेनन । त्यसैले अहिले क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा मात्र थाहा भयो कि त्यहाँ गर्मीमा जस्ताको छाना भएकाले बस्न नसकिदो रहेछ । शौचालय पनि राम्रो रहेनछ । खानेपानी पनि व्यवस्थित रहेनछ । त्यतिमात्र होइन, त्यहाँ काम गर्ने इसीडीका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरु मुलुककै तल्लो दर्जाका बेतनभोगी परेछन् । उनीहरुलाई अन्तर्राष्ट्रिय श्रम कानूनले तोकेको न्यूनतम ज्याला पनि दिनु नपर्ने रहेछ। किनभने उनीहरु शक्तिमा भएकाहरुको होइन कि शक्तिविहीन र आवाजविहीन बालबालबालिकाहरुको पक्षमा काम गर्दा रहेछन ।

अनलाइन पठनपाठनको हल्ला चलाइएको छ । केही गरौं भन्ने सोचका शिक्षकहरु अनलाइन शिक्षण सिकाइका लागि क्षमता विकास गर्ने क्रममा स्वतस्फूर्त किसिमबाट संगठित भएर लागि परेका पनि छन् । तथापि यसका लागि सरकार भने तदारुकताका साथ अघि बढेको देखिदैन । सरकारले लकडाउन अवधिका लागि व्यवस्था गरिएको बैकल्पिक प्रणालीको सिकाइ सहजिकरण निर्देशिका बनाएर जिम्मेवारी पूरा भएको झै गरेको छ । यसका लागि अर्थात इन्टरनेट, वाइफाइ लगायत भर्चुअल सिकाइका लागि आवश्यक पर्ने तत्कालीन योजना र बजेट सरकारसँग भएको देखिदैन । सामुदायिक विद्यालयको समृद्धिको दशक भनेर २०७६ देखि २०८६ लाई भनिए पनि सामुदायिक विद्यालयको सुदृढिकरणको लागि संस्थागत विद्यालयलाई जिम्मा दिने जस्ता हाष्यास्पद कुराहरु अघि सारेको देखिन्छ । बजेट निर्माण गर्दा सम्बन्धित क्षेत्रका विज्ञ लगायत नागरिक समाजसँग समेत समन्वय गरिने भन्ने कुरा त हात्तीको देखाउने दाँत मात्र रहेछन् । विभागीय मन्त्रीको समेत आँखा छलेर अध्यारो कोठामा लुकी लुकी बजेट बनाउने । अनि हप्तादिनसम्म बजेटमाथिको छलफलको नाटक मञ्चन गरेर कमा र फुलिस्टपसमेत नसच्याएर हुबहु बजेट पारित गर्ने । गजव हुदोरहेछ लोकतान्त्रिक पद्धतिमा । यस्तो त मै हुँ भन्ने तानाशाहको पालामा पनि भएन होला सायद ।


अन्ततः एसइइको परीक्षा पनि नहुने भयो । पक्ष र विपक्षमा क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । विद्यार्थीलाई वर्षदिनभरि एउटा खाले परीक्षा र मूल्याङ्कन हुन्छ भनेर सहजीकरण गर्ने अनि अन्यायासै धोका दिएर मूल्यांकनको बाटो अर्कै रोज्ने काम गरियो । वेवकुफ आफू भए पनि बेवकुफ विद्यार्थीलाई बनाइयो । प्रश्नपत्रहरु छँदै थिए । तिनै प्रश्नहरु विद्यालयहरुलाई दिएर परीक्षा सञ्चालन गरी मूल्यांकन गरेर पठाउ भनेको भए पनि विद्यार्थीहरुलाई अलि कम धोका हुन्थ्यो होला सायद । त्यो पनि हिक्मत भएन सरकारसँग । हओस पनि कसरी ? देशभरिका विद्यालयहरु क्वारेन्टाइनको रुपमा परिणत भएका छन् । कोरोना अरुलाई नसरोस भनेर क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई नै एकअर्कोबाट कोरोना सार्ने काम भइरहेको छ । कारण प्रष्ट छ कि कोठाको क्षमता भन्दा बढि मानिसहरु राखिएको छ । भौतिक दूरी कायम गर्न सम्भव छैन । कोरोना लागेकोलाई कोडीलाई झै हेला र होचो अर्घेलो हुने गरी सामाजिक दूरी कायम गर्ने काम भने जारी छ ।

केही दिन अघि मात्र दाङ सल्यान जाने वीस जना क्षमता भएको गाडीमा भारतबाट आएका तेत्तीस जना मानिसहरु कोचेर दौड्दै गर्दा पूर्वपश्चिम राजमार्गको कुुशुम सडकखण्डमा दूर्घटना भयो । दर्जनभन्दा बढिको मृत्यु भयो । हिजोअस्तिमात्रै कालीकोटमा क्वारेन्टाइनमा लैजानका लागि टिप्परमा राखिएका ३९ जना मानिसहरु कर्णालीमा खसे । दूर्घटनाका कारण बाहिर आएका दृष्टान्तहरुमात्र हुन यी त । यो पाराले कसरी नियन्त्रण हुन्छ कोरोना ? बरु क्वारेन्टाइनमा एकजनालाई छ भने अरुपनि सवैलाई सार्ने काम भइरहेको छ कोरोना । यसको पहल सरकार आफैले गरिरहेको छ । यो भन्दा त विरामी भएका र लक्षण देखिएकालाई आइसोलेसनमा राखेर अरुलाई सुरक्षित किसिमले बस्नु भनेर विशेष प्रशिक्षण सहित घरमा पठाइदिएको भए धेरै जाति हुन्थ्यो जस्तो लाग्छ । मनोवैज्ञानिक तनाव पनि त्यति साह्रै बल्झिदैन्थ्यो होला ।

पहिले त मैले पनि सोच्ने गर्थें, माथिका मानिसहरुको जिम्मेवारी बढि भएकोले सोच पनि फराकिलो हुन्छ होला । एउटा मन्त्रालयको मन्त्रीले देशभरिको शिक्षा र त्योसँग आवद्ध मानिसहरुको बारेमा सोच्नुपर्दछ । मन्त्रालयको एउटा सचिवले आफू मातहतका सवैको न्यायको बारेमा सोच्नुपर्दछ । अव भने थाहा पाएँ । यी त सव भन्ने कुरा मात्र रहेछन् । व्यवहार भनेको गिद्धको जस्तै हुँदोरहेछ, जति आकाशमा गएपनि जमीनमा हेर्दा सिनो बाहेक अरु केही नदेख्ने । अर्थात जता गए पनि आफ्नो र आफ्नाका बारेमा मात्र सोच्ने ।

यो त सव मानिससँग अन्तरनिहित प्रबृत्तिमा भर पर्दोरहेछ । लकडाउनको अवधिमा परिवेश भन्दा पनि मानिसको प्रबृत्ति झनै लकडाउन भए झै देखिएको छ । अरुका कुरा नसुन्ने प्रबृत्ति । सुनेपनि अरुले भनेको ठीक उल्टो गर्ने प्रबृत्ति । दृष्टान्त दिनु पर्दा सका र विद्यालय कर्मचारीको तलव भत्ता । साराले बढाउनु पर्छ भन्दा पनि बढाउन मन भएन सम्बन्धितको । आफूले बढाउन नसके तलका सरकारहरुलाई निर्देशन जारी गर्न सकिन्थ्यो लागत सहभागितको नाममा । त्यो पनि हिक्मत गरिएन ।

त्यसैगरी समस्याले घाँटी नथिच्दासम्म म जस्तो विज्ञ अरु कोही छैन भनेर अहमको भरमा काम गर्ने प्रबृत्ति । राजनीतिक भाषामा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रवृत्ति । यो प्रबृत्तिले राज गर्दासम्म बालबालिकादेखि आम नागरिकसम्म जसलाई जे भनेर पेले पनि हुन्छ । यो पाराले शासन गरेर सुशासन र सफलताका सपना देख्नु भनेको अरिङ्गालको गुडको प्वाल बन्द गरेर सवै अरिङ्गाललाई बन्द गर्छु भन्ने मेरो बुद्धि भन्दा कुनै मानेमा पनि अब्बल हो जस्तो लागेन ।  [email protected]

Translate »