सुर्खेतका उद्योगी, व्यापारी आन्दोलित
स्काई न्यूज /असार २७, सुर्खेत ।
बैंक किस्ता तथा ब्याजमा देखिएको समस्या विरुद्ध सुर्खेतका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । लकडाउनका कारण उद्योग व्यवसायमा ठूलो क्षति भएको बताउँदै सुर्खेतका उद्योगी, व्यवसायीले उठाएको मुद्दा र समस्या बैंक तथा वित्तीय संस्था र सरकारी निकायले नसुनेपछि बाध्य भएर आन्दोलित हुनु परेको दुःखेसो गरे । शनिबार सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीसँग विविध समस्या हुँदा हुँदै हाल बैंकको ब्याज तथा किस्ता सबैको प्रमुख र साझा समस्या भएको संयुक्त संघर्ष समितिका संयोजक गणेशकुमार बस्नेतले बताए । उनले आत्महत्याको घटनामा वृद्धि भइरहेको हालको परिप्रेक्षमा यस किसिमको बैंकको दवाबले नकारात्मक असर पार्ने जनाए । ‘अब कोरोनासँगै वित्तिय तथा बैंकको सन्त्रासले व्यवसायीहरु सडकमै उत्रन बाध्य भएका छौं,’ उनले भने, ‘मौद्रिक नीतिबाट राहत व्यवस्था गर्न सरकारलाई स्थानीय प्रमुख जिल्ला अधिकारीमार्फत यसअघि नै ज्ञापनपत्र समेत बुझाएका छन् । सबै व्यवसाय समस्यामा हुँदा हुँदै बैंकले पनि सधैं नाफा मात्र नभनी सामाजिक उत्तरदायित्व बहन गर्न तयार हुनु पर्छ ।’ उनले व्यवसायीका सबै समस्याको समाधानको जिम्मेवारी सरकारको भएको बताए । ‘लकडाउनको सीमा तय नभएकाले व्यवसायीको कर्जा व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले जिम्मेवारीपूर्वक कदम चाल्नु पर्छ,’ उनले भने ।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्ता तिर्न फोन गरिरहँदा आफुहरुलाई मानसिक तनाव हुने गरेको गुनासो गरे । उनले व्यवसायीहरुलाई पुरानो किस्ता तिर्न पनि कम्तीमा ५÷६ महिनाको समय दिनुपर्ने माग गरे । कोरोना भाइरसका कारण अहिले नेपालका नीजि क्षेत्रहरु घाटामा गएको अवस्थामा भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफुहरुका लागि कुनै पनि ठोस योजना नल्याएको बताउँदै आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ थियो । बन्द अवस्थामा पनि बैंकले किस्ता तिर्न र सरकारबाट कर तिर्न समयसीमा तोकेर ताकेता दिइएकाले आगामी दिनमा निजी क्षेत्रलाई ऋण दिन मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन गर्न सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले आग्रह गरे । उनले यस्तो परिस्थितिमा सरकारले राहत र अर्थतन्त्रलाई गति दिन आवश्यक क्रियाशीलता देखाई निजी क्षेत्रलाई टिकाउनेतर्फ संवेदनशील बन्नु पर्नेमा जोड दिए ।
यता उद्योग र वाणिज्य क्षेत्रलगायत सम्पूर्ण प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत यथोचित र अनिवार्य सम्बोधन गरिनु पर्ने सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश अधिकारीले जोड दिएका छन् ।
‘व्यवसायीले लिएको ऋणको ब्याज तथा किस्ताका लागि अनावश्यक दबाब नदिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दछु,’ स्काई न्यूज दैनिकसँगको विशेष सम्वादमा बोल्दै पूर्व सुउवासं अध्यक्ष अधिकारीले भने, ‘वर्तमान विषम् अवस्थामा कर्जा भुक्तान गर्न ताकेता गरी मानसिक तनाव दिए आपूmहरुले सञ्चालन गरेको व्यवसायको साँचो सम्बन्धित वित्तीय संस्थालाई बुझाउने छौं ।’ उनले कोरोना संकटको प्रभाव कम्तीमा २ वर्षसम्म रहने भएकाले थप पुर्नकर्जा उपलब्ध गराउनुका साथै किस्ता अवधि बढाउनु पर्नेमा जोड दिए । ‘पुर्नकर्जाको सुविधा पर्यटन क्षेत्रका होटल, रेष्टुराँ, ट्राभल, ट्रेकिङ, सहासिक गतिविधि, नीजि शिक्षा क्षेत्र एवं यातायातलगायत व्यवसायीलाई सहज र सहजरुपमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्छ,’ उनले भने । कोरोना भाइरसका कारण थला परेको उद्योग, व्यवसायलाई उकास्न सरकार समक्ष माग राख्दै नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा उद्योगी, व्यवसायीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको सुझाव छ ।
व्यवसायीलाई परेको समस्याबारे राज्यले ठोस योजना ल्याई समस्या समाधानका लागि प्रभावकारी कार्यक्रम ल्याउन सुर्खेत उद्योग बाणिज्य संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा सुर्खेत स्थित सम्पूर्ण निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी संयुक्त संघर्ष समिति गठन गरेको छ । समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आइतवार दिउँसो मंगलगढीमा विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर माग पत्र बुझाइ एक घन्टा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसपछि मात्र थप अर्को चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिले बताएको छ । ८० प्रतिशत प्रत्यक्ष निजी क्षेत्रबाट फाइदा लिने सरकारले राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै व्यवसायीहरु माग सम्बोधन गराउन आन्दोलित भएका हुन् । पत्रकार सम्मेलनमा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीसहित निर्माण व्यवसायी, यातायात व्यवसायी, होटेल एसोसिएशन, प्याब्सन तथा एनप्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।