जनै समेत विदेशबाट आयात

नेपालीको बढ्दो परनिर्भरता

स्काई न्यूज /साउन १९, सुर्खेत ।
हिन्दुधर्मले अनिवार्य मानेको अधिकांश जनै समेत विदेशबाट आयात गर्नु परिरहेको छ । भन्सार विभागको गत वर्षको तथ्यांक अनुसार नेपालले जनै र गुन्द्रुक जस्ता वस्तु समेत विदेशबाट आयात गर्ने गरेको पाइएको हो । नेपालले भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिरहेको छ । गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ भन्ने संकेत दिन्छ । यसैगरी, भारतबाट पुजा सामाग्रीका नाममा जनै आयात हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमै सहजरुपमा उत्पादन गर्न सकिने वस्तुमा समेत परनिर्भरता चुलिएपछि देशको ब्यापार घाटा अनियन्त्रित बनेको बुझ्न कठिन छैन ।


श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमालाई तागाधारीहरुले विशेष किसिमले मनाउने गरेका छन् । हिन्दु समाजमा पुरुषहरुले विशेष मन्त्रोच्चारण सहित तयार पारिएको जनै धारण गर्ने गर्दछन् । तर हिन्दु धर्मले अनिवार्य मानेको अधिकांश जनै भने तेस्रो मुलुकबाट आयात हुने गरेको छ । नेपालको परम्पराअनुसार आफैंले जनै बनाउने एउटा तरिका यो पनि हो । संघीय राजधानी काठमाडौंमै अहिले पनि कतिपयले आफूलाई आवश्यक जनै आँफै बनाउने गर्छन् । आफैंले छानेको वा तयार पारेको कपासको वा सिमलको भुवाको धागोबाट जनै बनाएर वैदिक यज्ञबाट मन्त्रण गरेर रक्षासूत्रसंगै यज्ञोपवित बनाउने गरिन्छ । यसरी आँफै जनै निर्माण गर्नेहरु घटेका छन् भने जनै धारण गर्नेहरुको संख्या बढेको जनैको बिक्री बढेबाट पुष्टि भएको छ । पछिल्लो दशकमा जनै लगाउनेहरुको संख्या बढ्नुको यकिन कारण त पत्ता लागेको छैन तर पहिचानको राजनीतिको असर स्वरुप पनि विदेशबाटै आयात गर्नुपर्ने गरी जनैको प्रयोग बढेको अनुमान गरिन्छ । आदिकालमा महिलाले पनि यज्ञोपवित धारण गरेका भएपनि हाल त्यस्तो चलन छैन । जनैका ६ वटा डोराले तागाधारीहरुका ६ कर्तव्य–दान लिनेदिने, पढ्नेपढाउने र यज्ञ गर्ने गराउने सन्देश बोकेका हुन्छन् । सन्देश बुझेपनि नबुझेपनि जनै लगाउने मात्र नभई पूजापाठ र पितृभक्ति बढ्नाले त्यस्ता अनुष्ठान बढेका र अनुष्ठानहरुमा पनि प्रशस्त जनै आवश्यक पर्ने गरेको धर्मशास्त्रीहरुले बताएका छन् । जन्मदेखि मृत्युसम्मका हरेक कर्म गर्नुअघि र धारण गरेको ४ महिनामा जनै फेर्नै पर्छ भने जन्मदेखि मृत्युपछिसम्मका संस्कारहरुमा पनि जनै आवश्यक पर्दछ । यसरी मन्त्रण गरेको जनै लगाउनाले रोगव्याधी एवं खराव तत्वहरुबाट बच्न सकिने धार्मिक विश्वास छ भने जनै धारण गर्नेहरुको आत्मबल र संयम दुवै वृद्धि हुने ठानिन्छ ।

नेपालमा करीब २ करोड वटा जनै खपत हुने ब्यापारिक अनुमान छ । त्यसका लागि वार्षिक रुपमा २० करोड रुपैयाँ भन्दा बढी खर्च हुने गर्दछ । करिब दुइ करोड थान जनै मध्ये ६० प्रतिशत जनै तेस्रो मुलुकबाट आयात हुने गरेको छ । वस्तु विक्री गरेर विदेशी मुद्रा आर्जन गर्ने स्रोत कमजोर हुने र विदेशीलाई पैसा तिरेर किन्ने वस्तुको मात्रा बढ्ने क्रम गत आर्थिक वर्षमा पनि निरन्तर रह्यो । आन्तरिक उत्पादन र कृषि उपज माथिको परनिर्भरता अन्त्य गर्न सरकारले विशेष ध्यान नदिए दिर्घकालमा ठूलो असर मुलुकले भोग्नुपर्छ । विश्वका कुल १५८ देशसँग नेपालको द्विपक्षीय व्यापार सम्बन्ध रहेकोमा २२ देशसँग मात्रै नेपालको व्यापार नाफामा छ । खासै नाम नसुनिने स्लोभानीया, इष्टोनिया, आईसल्याण्ड, साल्भाडोर लगायतका देशमा नेपालबाट एकाध वस्तु निर्यात हुने भएकाले नाफा देखिएको हो । सबैभन्दा ठूलो व्यापार घाटा भारत र चीनसित छ । यस्तै, यूएई, फ्रान्स, अमेरिका, क्यानाडा लगायतका मुलुसँगको व्यापार घाटाको खाडल गहिरो छ ।


अब सरकारले स्वदेशी वस्तु निर्यात वृद्घि गर्न प्रोत्साहन गर्न व्यावसायिक जडीबुटी, सुन चाँदीको गरगहना, कार्पेट, पस्मिना, छालाका वस्तु, यार्न, जुत्तााचप्पल, हिमाली मिनरल वाटर तथा प्रशोधित पानी, अलैंची, अदुवा, तयारी पोसाक, बहुमूल्य पत्थरजस्ता वस्तुको उत्पादनलाई प्रोत्साहन दिनु पर्छ । माछा, चिया, दूध, ताजा तरकारीजस्ता वस्तुको उत्पादन वृद्घि गरी निर्यात गर्न वातावरण बनाउनु पर्छ । तोकिएको अवधिमा उत्पादन वृद्घि गर्न सहुलियत ऋण र कर छुट, कृषि तथा पशुपन्छीजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्सार शुल्क वृद्घि, तुलनात्मक लाभका वस्तुको प्रशोधन तथा ब्रान्डिङमा सहयोग र अत्यधिक आयात हुने पेट्रोलियम पदार्थको अनवेषण, उत्खनन र उत्पादनसम्बन्धी अध्ययन गर्न उपयुक्त देखिन्छ । सिमेन्टको क्लिंकरको उत्पादन बढाइ ५० प्रतिशत आयात नियन्त्रण गर्नुका साथै २ वर्षभित्र उत्पादन वृद्घि गरी चिनी, सिमेन्ट र औषधिको आयात ५० प्रतिशतमा झार्ने योजना बनाउनु पर्छ । त्यस्तै सुन र चाँदीका गरगहना निर्यात गर्न भन्सारमा लकरको सुविधा, कार्पेट, पस्मिना, छालका वस्तु, यार्न र जुत्तााचप्पलको वृद्घि वर्षमा ५० प्रतिशतले उत्पादन वृद्घि गर्ने र आलु, तरकारी, दुग्ध पदार्थ, माछा, मासु, अण्डाको २ वर्षमा उत्पादन बढाउन सहुलियत कर्जा दिनु व्यवस्था मिलाउनु पर्छ ।

Translate »