अपांगता भएकाहरूलाई झन् गाह्रो
साउन ३२ /शर्मिला विश्वकर्मा ।
बन्दाबन्दीको असर विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरू, दीर्घरोगीहरू, ज्येष्ठ नागरिक तथा बालबालिकालाई बढी पर्यो । दैनिक औषधि सेवन गर्ने अपांगता भएकाहरूलाई औषधि किन्न कठिन भयो । एक त पसलमै औषधि कम आयो, अर्को काम गर्न नपाएपछि औषधि किन्ने पैसा पनि भएन । अपांगता भएका केही व्यक्तिलाई बिहान–बेलुका छाक टार्न पनि ज्यादै मुस्किल भयो । यसले उनीहरूलाई मानसिक तनाव दियो । धेरैले रोजगारी गुमाए । ऋणमा सञ्चालन गरेका व्यवसायहरूमा पनि घाटा बेहोर्नुपर्यो ।एक हप्ता, दुई हप्ता भन्दाभन्दै बन्दाबन्दी साउनसम्मै लम्बियो । बन्दाबन्दीका बेला स्वास्थ्य संस्थाहरूले भरपर्दो उपचार दिन सकेनन् । दुर्घटनामा परेका अपांगता भएकाहरूले औषधि–उपचारको अभाव झेल्नुपर्यो । सरकारले कोरोना भाइरसबाट सुरक्षित रहन जानकारीमूलक सन्देश प्रवाह गर्यो तर ती सूचनामूलक सामग्री अपांगमैत्री हुन सकेनन् । कान नसुन्ने व्यक्तिहरू यस्ता सूचना प्राप्त गर्नबाट वञ्चित भए ।
अपांगताभित्र पनि विविधता छ । कान नसुन्ने र बोल्न नसक्नेले सांकेतिक भाषाको प्रयोग गर्छन् । त्यस्तै, अपांगता भएका कतिपयलाई दैनिक क्रियाकलाप सम्पन्न गर्न सहयोगीको आवश्यकता पर्छ । ह्वीलचियर प्रयोग गर्ने अपांगता भएकाहरूले अरूको सहयोग लिनुपर्छ र त्यस्ता व्यक्तिलाई कोरोना संक्रमणको जोखिम अधिक हुन्छ । राज्य स्तरबाट यस्ता प्रकारका अपांगता भएकाहरूलाई सुरक्षित राख्नका लागि राहत कार्यक्रमअन्तर्गत न त स्यानिटाइजर वितरण गरियो न मास्क न साबुन नै ।कोरोना भाइरसबाट सुरक्षित रहन अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने र पटक–पटक साबुन–पानीले हात धुनुपर्ने भनेर सञ्चारमाध्यममार्फत सूचना जारी गरियो । अपांगता भएकालाई यस्ता अति आवश्यक सामग्रीहरूको अभाव छ । बन्दाबन्दीमा उनीहरू एउटै कोठामा सीमित भएर दिन बिताउन बाध्य हुनुपर्यो । बन्दाबन्दी हटेसँगै भीडभाड बढ्यो । संक्रमितको संख्या पनि बढिरहेको छ । बन्दाबन्दी खुले पनि जनजीवन सुचारु हुन सकेको छैन । सार्वजनिक सवारीसाधनहरू त चल्न थालेका छन् तर एकै जनाले तीन जनाको भाडा तिनुपर्छ । सवारीसाधनभित्र भौतिक दूरी कायम गरिएको पाइँदैन । केही गरी अपांगता भएकाहरूले यात्रा गर्नुपर्यो भने निकै गाह्रो छ । निम्न आय भएकाहरूलाई खाद्यान्न संकट परिरहेको छ । केही स्थानमा राज्य तथा सामाजिक संघसंस्थाले खाद्यान्न सामग्रीको वितरण गरे तर त्यस्ता राहत सामग्री अपांगता भएकाहरूसम्म पुग्न सकेन । पक्षाघात तथा अन्य अपांगताका कारण ह्वीलचियर तथा विभिन्न सहयोगी सामग्री प्रयोग गर्नेहरू र दृष्टिविहीन लगायतका अति अशक्त अपांगता भएकाहरू खाद्य सामग्रीभन्दा पनि दैनिक रूपमा नखाई नहुने औषधि र सहयोगीको अभावमा छटपटाउनुपर्यो । मेरुदण्ड पक्षाघात अपांगता भएकाहरू कोठाभित्रै खुम्चिन बाध्य भए । यसरी एकै ठाउँमा रहँदा उनीहरूको शरीरको बस्ने ठाउँमा घाउ भयो । दैनिक प्रयोग गर्नुपर्ने क्याथेटर, पिसाब निकाल्न सहयोग गर्ने पाइप, डाइपर आदि सरसफाइका सामग्रीको अभावमा उनीहरूको दैनिकी झन् कठिन भयो । दृष्टियुक्त अपांगता भएकाहरूले आँखामा प्रयोग गर्ने औषधि पाएनन् । हिमोफेलिया अपांगता भएकाहरूले शरीरको आन्तरिक वा बाह्य रक्तस्राव रोक्न आवश्यक फ्याक्टर, क्रायो तथा प्लाज्मा नपाउँदा रगतका धारा बगाउँदै छटपटाउनुपर्यो । मनोसामाजिक अपांगता भएकाहरूले नियमित सेवन गर्ने औषधिको अभावमा दुनियाँको हाँसोको पात्र भएर दिन गुजार्नुपर्यो ।
राज्यले अपांगता भएकाहरूलाई खाद्यान्नका साथै दैनिक रूपमा प्रयोग नगरी नहुने सामग्रीहरू उपलब्ध गराउनेतर्फ खासै ध्यान दिएको पाइएन । देशका विभिन्न स्थानमा कोरोना संक्रमितलाई १४ दिनसम्म छुट्टै राख्न बनाइएका क्वारेन्टिन तथा आइसोलेसन वार्डहरू अपांगतामैत्री छैनन् । कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीहरूमा अपांगताको विषयमा राम्रो ज्ञान छैन । बहिरा अपांगता भएकाहरूसँग कसरी सञ्चार गर्ने भन्नेबारे स्वास्थ्य संस्थाले कुनै तयारी गरेको छैन । यस्तोमा ह्वीलचियर तथा अन्य सहयोगी सामग्रीहरू प्रयोग गर्ने व्यक्ति वा कान नसुन्ने वा अन्य गम्भीर अपांगता भएकाहरू संक्रमित भए उनीहरूलाई ती क्यारेन्टिनमा कसरी राख्ने भन्ने जस्ता विषयमा पनि सरोकारवाला निकायहरूले ध्यान दिन जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबारे जानकारी तथा परामर्श लिन हटलाइनहरूको व्यवस्था गरेको छ । सञ्चारमाध्यम तथा टेलिकम र एनसेलजस्ता संस्थाले कोरोना भाइरस कसरी सर्छ र यसबाट कसरी सुरक्षित रहने भनेर जानकारी दिइरहेकै छन् । बहिरा अपांगता भएकाहरूले सुन्न र बोल्न नसक्नाले अनि बौद्धिक अपांगता भएकाहरूले बुझ्न नसक्ने हुनाले कोरोनासम्बन्धी सूचना, राहत र सेवामा उनीहरू सहजै समेटिन सकेका छैनन् । सरकारी तथा सरोकारवाला निकायहरूले जानकारीमूलक सूचना प्रकाशन तथा प्रसारण गर्दा अपांगताको प्रकृतिअनुसार अपांगमैत्री बनाउन र ती सूचना अपांगता भएकाहरूको पहुँच पुग्ने गरी बनाउनु जरुरी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना महामारीविरुद्धको अभियानमा अपांगतासम्बन्धी सरोकारवालाहरूका लागि मार्गनिर्देशन–२०७७ ल्याएको छ ।
उक्त मार्गनिर्देशनमा अपांगता भएका व्यक्ति तथा परिवारले सम्भव भएसम्म हिँडडुल कम गर्ने, भीडभाडमा नजाने, खोक्दा वा हाच्छ्युँ गर्दा नाकमुख टिस्युपेपरले छोप्ने, सरसफाइमा ध्यान दिने लगायतका सुरक्षा उपाय प्रस्ट रूपमा उल्लेख गरिएको छ । त्यसै गरी सरकारले मजदुर, आर्थिक रूपमा कमजोर र खाद्य सहयोग चाहिनेहरूलाई राहतको व्यवस्था गर्ने, राहत लिन जान नसक्नेहरूलाई वडा कार्यालयमार्फत व्यक्ति बसेकै ठाउँसम्म पुर्याइदिने, सार्वजनिक सेवा उपयोगमा अपांगता भएकाहरूलाई प्राथमिकता दिने, कुनै सहयोगको आवश्यकता परे सम्बन्धित सरकारी निकायसँग समन्वय गराउने, संक्रमणबाट बच्ने उपायहरूबारे आधिकारिक सूचना धेरैभन्दा धेरै अपांगता भएकाहरूसमक्ष पुर्याउने लगायतका व्यवस्था मार्गनिर्देशनमा छन् । तर अपांगता भएका अधिकांश व्यक्ति यस्ता सूचना प्राप्त गर्नबाट वञ्चित छन् । अबका दिनमा सरकार तथा सरोकारवाला निकायहरूले सेवासुविधा दिँदा र राहतसम्बन्धी कुनै कार्यक्रम सञ्चालन गर्दा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको समान रूपमा पहुँच पुग्ने गरी अर्थपूर्ण सहभागिता गराउँदै उनीहरूका सवालहरूलाई सम्बोधन गर्नुपर्छ । (कान्तिपुर )