कोरोनाले बालबालिका ‘बढी जोखिममा’
भदौ १४,सोल/लन्डन ।
वैज्ञानिकहरूले गरेको एक अध्ययनमा बालबालिकाको नाकमा तीन सातासम्म कोरोना भाइरस रहन सक्ने देखिएको छ । दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।यसअघिका अध्ययनमा अधिकांश बालबालिकामा भाइरसका लक्षणहरू नदेखिने पत्ता लागेको थियो भने केहीमा मध्यम खालका लक्षणहरू देखिने जनाइएको थियो । तर पछिल्लो अध्ययनका नतिजाले बालबालिकाले कसरी कोरोना भाइरस सार्छन् भन्ने अनुत्तरित प्रश्नलाई प्रस्ट पारिदिएको छ । बालबालिकाहरू विद्यालय जान थालेपछि सामाजिक दूरी कायम गर्न, गराउन तथा शारीरिक सफाइमा विशेष ध्यान दिन पनि अध्ययनले जोड दिएको छ । रोयल कलेजको बाल चिकित्सा तथा बाल स्वास्थ्यका अध्यक्ष प्राध्यापक रसेल भिनरले आफ्नो नेतृत्वमा खासगरी बालबालिका र भाइरससम्बन्धी विभिन्न पक्षबारे अध्ययन गरिएको बताए । बालबालिकामा भाइरसको आक्रमण, त्यसका कारण हुने बिरामी र अरूलाई सार्ने जोखिम मुख्य छन् ।बालबालिकालाई भाइरस लाग्ने कुरालाई नकार्न नसकिने भए पनि प्राध्यापक भिनरले खासगरी १२ वर्षभन्दा मुनिकालाई अन्य व्यक्तिहरूको तुलनामा भाइरसले कम असर गर्ने उनीहरूको रगतको एन्टिबडी परीक्षणबाट पुष्टि भएको बताए । बेलायतका वैज्ञानिकहरूको एक अध्ययनले पनि कोरोना भाइरस संक्रमित बालबालिकाहरू अन्य संक्रमितहरूको तुलनामा कम बिरामी पर्ने पुष्टि गरेको छ । लक्षण कम देखिएका वा नदेखिएका बालबालिकाहरूको स्वाबमा तीन सातासम्म भाइरस क्रियाशील रहने देखिएको हो । यसको अर्थ संक्रमित बालबालिकाले तीन सातासम्म अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने अध्ययनमा जनाइएको छ । उक्त अध्ययन ९१ जना संक्रमित बालबालिकाहरूमा गरिएको बीबीसीले उल्लेख गरेको छ ।जसरी दक्षिण कोरियाले लक्षण नदेखिएकाहरूलाई पनि परीक्षण गर्ने, ट्रेसिङ गर्ने र आइसोलेसनमा राख्ने गरेको छ । त्यसरी नै यो समूहकालाई फरक स्थानमा राख्ने गरेको छ । संक्रमित रहेको पत्ता लागेपछि त्यस्ता बालबालिकालाई तीन सातासम्म बारम्बार परीक्षण गरी भाइरस नरहेको यकिन गर्ने गरिएको छ ।
यसका आधारमा उक्त अध्ययनले बालबालिकाहरू भाइरसको वाहक रहेको नयाँ तथ्य सार्वजनिक गर्न सकेको हो । तर अन्य अध्ययनले जस्तै यसले पनि केही प्रश्नहरू अनुत्तरित नै छाडेको छ । बालबालिकाको नाकमा भाइरस हुनुको अर्थ त्यतिबेला नै उनीहरूले अन्य व्यक्तिहरूलाई सार्छन् भन्ने कुराको भने कुनै प्रमाण देखिँदैन । अमेरिकाको वासिङ्टन डीसीस्थित एक अस्पतालका बालरोग शाखाका प्रमुख डा.रोबर्ट डिबियासीले ‘भाइरस संक्रमणमा बालबालिकाको कुनै भूमिका हुँदैन भन्नु तर्कपूर्ण नहुने’ बताउँछन् । तर बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक कालुन सेम्पलले ‘यथेष्ट खकार र सिंगान निस्कने संक्रमितको तुलनामा लक्षण नदेखिएकाहरूबाट भाइरस सर्ने सम्भावना निकै कम’ रहेको बताउँछन् । डिबियासीको भनाइमा सामान्यतः लक्षणहरू कम देखिएका वा नदेखिएका जुनसुकै उमेर समूहका संक्रमितहरू भए पनि तिनीहरूले खकार र सिँगान निकाल्दैनन् । र, त्यस्ता संक्रमितले अन्यलाई भाइरस सार्ने सम्भावना निकै न्यून हुन्छ ।