जडीबुटी संकलन गर्न जुम्लीवासी पाटनतिर

स्काई न्यूज / भदौ ३०,खलंगा ।
जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी संकलन गर्न पाटनतिर लागेका छन् । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन् । रावत केही युवाको समूह लिएर जडीबुटी संकलनमा जुटेका छन् । ‘आम्दानीको कुनै स्रोत छैन’, उनले भने ‘परिवारकोे गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले ५ महीना पनि खान पुग्दैन ।’ त्यसैले पैसा कमाउनका लागि जडीबुटी संकलन गर्न पाटनतिर गएको उनको भनाइ छ । रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी संकलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी संकलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी संकलन गर्न हिँडेका छन् । उनले २ दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । १ दिनमा सेतोचिनी संकलनबाट न्यूनतम रू.१ हजारसम्म आम्दानी गर्न सकिने उनीहरू बताउँछन् ।

सेतो चिनी सुकाएको प्रतिकिलो रू. ५०० र काँचो प्रतिकिलो रू. २५ मा विक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् । जडीबुटी संकलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवक भन्छन्, ‘सबै बोकेर लानुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ ।’ ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवकले सुनाए । तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैं खर्च जुटाउनका लागि एक महीना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढंगले सेतोचिनी संकलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए । उनका अनुसार यसको बीउ नपाक्दै संकलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मंसिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ । तर, आजभोलि नै संकलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए । जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔंले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।

Translate »