ए हजुर ! पसल बिक्रीमा छ, कोठा खाली छ !!

समयले कोल्टे फेरेपछि......

शान्ति सुनार / असोज ६, सुर्खेत । कोभिड १९ को महामारी सुरु भएदेखि सडक, चोक, टोलहरुमा नयाँ नयाँ सूचनाहरु देखिए । ‘साबुनपानीले हात धोऔं’, ‘कोरोनाका कारण मन्दिर बन्द गरिएको छ’ देखि ‘कोरोना प्रभावित क्षेत्र’ भन्नेजस्ता सूचनाहरु पम्पलेट तथा तुलहरु देखिए । चैतमा लकडाउनपछि चलिरहेका साना ठूला व्यापार–व्यवसाय बन्द भए । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सटर भाडामा लिएर साना व्यापार–व्यवसाय गर्नेहरु धेरै सुर्खेतबाहिर रहेको आफ्नो स्थायी थलोतिर लागे । लकडाउन खुकुलो हुन थालेपछि धेरै सुर्खेत फर्किए पनि कोरोना प्रभाव भने घटेन र ती व्यवसायहरु खुल्न थाले पनि ग्राहकहरु भने पसलसम्म पुग्न मुश्किलै भयो । पुनः निषेधाज्ञाले त झनै मार परेकै थियो ।  आफ्नो व्यवसाय र जीविकोप्रति सबै चिन्ता बढ्दो छ । यससँगै सुर्खेतका सटरहरुमा ‘पसल बिक्रीमा छ’ भन्ने थुर्पै सटर अगाडि सूचना झुन्डिन थालेको छ । त्यस्तै कोरोना समयमा सहज हुनका लागि धेरै विद्यार्थी, पेशाकर्मी आफ्नो स्थायी थात्थलोतिर लागेपछि वीरेन्द्रनगरका भाडाका कोठाहरु खाली हुन थाले । आफै बस्न पनि आउन नसकिने र कार्यालयका कामहरु पनि नहुने अवस्थामा भाडा मात्र तिर्नुपर्दा मार पर्ने नै भयो ।

त्यसैले सामानहरु अन्यत्र स्टोर गरेर कतिपय नीजि बासका लागि लिइएका र कार्यालय प्रायोजनका लागि लिएका कोठा, फ्याटहरु छोडे । यससँगै अहिले वीरेन्द्रनगरका धेरै ठाउँमा ‘टु–लेट’ टाँसेर कोठा खाली छ भनेर सूचनाहरु प्रशस्त देखिन थालेका छन् । तर यो बेला भएकाले त छोडिरहेका छन् भने, अरु को आउला र ‘पसल बिक्रीमा’ खरिद गर्ला, कसले ‘टु–लेट’मा आएर कोठा भर्ला र ? । कुनै समय थियो वीरेन्द्रनगरमा भाडामा बस्न आउने नागरिकलाई कोठाभाडा पाउन मश्किल प¥थ्यो । पाएपनि कोठाको भाडा सुन्दा अचम्म लाग्थ्यो । वर्षैपिच्छे बढ्ने भाडाले धेरैलाई सोच्न बाध्य पा¥थ्यो । कोरोना भाइरस संक्रमणपछि परिस्थिति फरक पर्न थाल्यो ।

अब त समयले कोर्टे फेरेपछि परिस्थिति नसोचे जस्तो आउँदो रहेछ भन्ने हेक्का राख्नु पर्ने देखियो ।

वीरेन्द्रनगरमा अस्थायीरुपमा बस्दै आएका विद्यार्थी, मजदुर, व्यवसायीलगायत आ–आफ्नो घर लागेपछि एकपछि अर्को गर्दै खाली हुन थालेका छन् । घरधनीले पनि ‘घर खाली छ’ भन्ने सूचना टाँस्दै भाडामा बस्ने मानिस खोजी गर्न थालेका छन् ।

 

सडकपेटी, बिजुलीका पोल र घरका भित्तामा ठूला अक्षरले ‘कोठा खाली छ,’ ‘टु–लेट’ लेखिएको भेटिन्छ । कोभिड–१९, ले उत्पन्न बन्दाबन्दी (लकडाउन), निषेधाज्ञा जस्ता कारणले आर्थिक हैरानीमात्र होइन मानिस विभिन्न समस्याले घेरिन थालेका छन् । घर भाडा लगाएर जीविकोपार्जन गर्नेहरु समेत अहिले समस्यामा परेका छन् । प्रायः वीरेन्द्रनगरमा उच्च शिक्षा, रोजगारी, बालबालिकाको राम्रो शिक्षा र अन्य विभिन्न अवसरका लागि अन्य जिल्लाका  नागरिक भित्रिन्छन् । सेवा र सुविधाका हिसाबले  वीरेन्द्रनगरमा डेरामा बस्नेहरुको संख्या बाक्लो थियो । यद्यपि बसोबासका लागि घरभाडा सम्बन्धी कुनै नियम छैन । घरधनीले निर्धारण गरेको भाडा नै अन्तिम हुन्छ । हेरक वर्ष भाडा बढाउने र एउटाले छोडेर नयाँ आउँदा पनि बढाउने चलनले वीरेन्द्रनगरमा घरभाडा बढेको बढ्यै हुने गरेकोमा कोरोना कहरपछि डेरावालाको समस्या घरवालातिर सर्न थालेको छ । यस्तै कोरोना कहरपछि भाडामा बस्ने फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ संस्था तथा वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई घरभेटीले भेदभाव गरी कोठा सार्न दबाव दिइरहेका घटनाहरु नि सार्वजनिक हुने गरेका छन् । त्यसैले अब वीरेन्द्रनगरमा घर छ भन्दैमा महँगोमा भाडा लगाएर रसिलो स्वाँद लिईरहेका घरभेटीलाई नि कोरोनाको प्रभाव कुनै न कुनै रुपमा परेको सहज अनुमान लगाउन सकिन्छ । किनभने मानिस सामाजिक प्राणि भएकै कारणले समाजमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष असर व्यक्तिसम्म आईपुग्दो रहेछ । समयले मान्छेलाई कहिले तल कहिले माथि पु¥याउँछ, हेक्का राखौं ।

Translate »