अझै उस्किन सकेनन् सैलुन व्यवसायी

‘कोरोनामा कपाल, दाह्री बढ्दैन कि, सैलुनमा कैंची खाली छ !’

स्काई न्यूज / असोज ८,सुर्खेत ।
कोभिड–१९ को महामारीको यो समयमा धेरैपछि पसल व्यवसायहरु सहज रुपमा खुलेपनि सर्वसाधारणमा त्रास हटिसकेको छैन । यो शंका, त्रास कोभिड निमूल नहुन्जेलसम्म भइरहन्छ नै । व्यवसायहरु खुलेपनि सामान्य अवस्थाको बेलामा जस्तो हुन अझै केही समय पक्कै लाग्नेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सैलुन व्यवसाय गरिरेहका नाइहरुले पनि यस्तै समसया भोगिरहेका छन् । सैलुन खोल्न थालेपनि दाह्री, कपाल काट्नेहरु पहिलेजस्तो नरहेको उनीहरु बताउँछन् । पहिले एकै सैलुन दुई तीन जना नाइसम्म व्यस्त हुन्थे, अहिले एकै जनालाई पनि खास काम छैन् । त्यसैले सैलुनले घर गएका सहकर्मी नाइलाई सुर्खेत बोलाउन सकेका छैनन् । कतिले कपाल काट्न आउँदा पिसिआर रिपोर्ट खोज्ने गरेको नाइहरु बताउँछन् । केहीले पिसिआर नेगेटिभ रिपोर्ट सिसामा टाँसेर पनि राखेका छन् । तर त्यो रिपोर्टको म्याद के कहिलेसम्म भन्ने कोभिड १९ को प्रकृति अनुसार यकिन भन्न सकिदैन । उनीहरु भन्छन, ‘उहाँहरु त हाम्रो पिसिआर रिपोर्ट खोज्नुहुन्छ, हामीले उहाँहरुको खोज्न मिलेन । हामी पनि जोखिममै छौं, तर सैलुन नखोली के गर्नु ? अहिले त धेरै घरै बस्छ, कपाल, दाह्री बढ्दैन कि के हो ? सैलुनमा खासै काम छैन ।’
संकट अझै हटेको छैन्
जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन् । आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ । विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ । तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ । कपाल काट्ने एक सिपमूलक व्यवसाय हो । आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नेहरु अहिले विचल्लीमा छन् । परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको  सैलुन व्यवसायीको गुनासो छ । कोभिडले सैलुन व्यवसाय धराशयी बनाएको जयकुमार ठाकुरको गुनासो छ । वीरेन्द्रनगरमा सैलुन पसल सञ्चालन गरेका जयकुमारको चैत ११ गतेदेखि व्यवसाय पूर्ण रुपमा बन्द थियो । लकडाउन खुकुलो भएसँगै डराई–डराई पसल खोलेपनि राम्रोसँग व्यवसाय चल्न नसक्दा उनलाई परिवार पाल्न धौधौ छ । जयकुमारका ३ भाइसँगै १४ जनाको परिवार वीरेन्द्रनगर हरियाली टोलमा एउटा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । यसका लागि मासिक साढे १७ हजार भाडा र पसलको २० हजार भाडा पनि तिर्नुपर्छ । ‘पसल बन्द हुँदा कोठा र पसलको भाडा तिर्न मुश्किल भयो’, जयकुमारले भने, ‘एउटा पसलको एक महिनाको भाडा छुट पाउँदा खुसी लाग्यो तर अर्को पसलको घरधनीले छुट दिनुभएन ।’ सैलुनमा ५० हजारदेखि ५ लाखसम्म लगानी छ ।

साना सैलुनमा कम्तीमा ३ जना र ठूलामा १५ जनासम्मले रोजगारी पाएका छन् । राज्यले सैलुन व्यवसायीको व्यवसाय जोगाउन विशेष ध्यान दिनुपर्ने उनले बताए । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको थियो । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।  दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले ६ महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । नेपाल नाई संघ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुमा २ सय युवाहरुको रोजगारी गुमेको छ । अर्जुन ठाकुरको वीरेन्द्रनगर बजारमा सैलुन छ । व्यवसाय चलाउन लिएको सटरको मासिक २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । जनकपुरका स्थायी बासिन्दा उनी दुई दशक बढी समयदेखि यहाँ अर्जुन केश सुधार गृह नामको सैलुन चलाउँछन् । वर्षौदेखि कपाल दाह्री काट्ने काम गरिरहेका उनलाई लकडाउन, निषेधाज्ञालगायतले निकै भारी भएको थियो । अहिले खुकुलो भएसँगै केही राहत पुगेको उनी बताउँछन् ।

Translate »