स्थानीयको अवरोधले भेरी–बबई डाईभर्सनको काम ठप्प

राष्ट्रिय गौरवको आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढ्यो

स्काई न्यूज / असोज ११, सुर्खेत ।
स्थानीय जग्गा धनीको अवरोध कारणले राष्ट्रिय गौरवको भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । जग्गा लिजमा उपलब्ध गराए वापत परिवारका सदस्यलाई रोजगारीको माग राख्दै जग्गा धनीले तीन दिनदेखि आन्दोलन गरेपछि आयोजनाको काम ठप्प भएको हो । स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीलाई दिए वापत १७ जनालाई रोजगारी नदिएसम्म काम सुचारु गर्न नदिने माग राख्दै ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध गरिएको आन्दोलनरत पक्षका अगुवा टेकबहादुर सार्कीले बताए । उनले आफ्ना तीन सुत्रीय मागहरु सम्बोधन नभएसम्म आयोजनाको काम सुचारु हुन नदिने जनाए । उनका अनुसार लिजमा जग्गा दिएका परिवारका सदस्यलाई रोजगारी दिनु पर्ने, कन्ट्¥याक्टर क्षेत्रमा ढल निकासको व्यवस्था गर्नुपर्ने र कन्ट्¥याक्टर क्षेत्र निर्माण गर्दा नष्ट भएका रुखविरुवाको क्षतिपूति दिनु पर्ने माग छन् । यता आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटाले स्थानीयको अवरोधका कारण तीन दिन देखि आयोजनाको काम रोकिएको बताए । उनले आयोजनाको काम कोभिड—१९, लगायत प्रोजेक्टकै समस्याले ड्याम साईट (हेड वक्र्स) को काम पूर्णगतिले सञ्चालन गर्न नसकिएकाले बेला तत्काल स्थानीयको मागलाई सम्बोधन गर्न नसकिने जनाए । उता स्थानीयबाट ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध बारे जानकारी लिन खोज्दा भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजना प्रमुख सुरेशकुमार शर्माको मोवाईलको घन्टि बजेपनि फोन उठाएनन् । अहिले ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध हुँदा ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका २६५ जना कामदार कामविहिन भएका छन् ।


निर्माण कम्पनीलाई धम्की
आयोजनाको भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माणाधिन ड्याम साईट (हेड वक्र्स) स्थलमा निर्माण कार्य शुरु भएदेखि नै स्थानीयले निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका प्रतिनिधिसँग विवाद गर्दे आईरहेका छन् । विगत एक वर्षदेखि स्थानीयले मुख्यतः रोजगारीको माग राख्दै निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका प्रतिनिधिसँग पटक–पटक विवाद गर्दे आएका हुन् । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ्ग खन्ने काम सकिएपनि अहिले ड्याम साईट (हेड वक्र्स) र पावर हाउस निर्माणको काम बाँकी छ । करिब ७ सय करोडको गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम साईट (हेड वक्र्स) निर्माणको काम गत वर्ष असारबाट शुरु भएको थियो । यसवीच स्थानीय र निर्माण कम्पनीको प्रतिनिधिहरु वीच विभिन्न बहानामा पटक–पटक विवाद हुँदै आएको छ । शुरुका दिनमा आयोजनाले राम्रै गति लिएपनि लकडाउनपछि सहजरुपले निर्माण सामाग्रीको अपर्याप्ततासँगै स्थानीयको विरोधले सोचेजस्तो प्रगति हुन नसकेको निर्माण कम्पनीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटा बताउँछन् । उनले आयोजनाको ड्याम साईट (हेड वक्र्स) र पावर हाउस निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य राखिएपनि स्थानीयबाट हुने पटक–पटकको अवरोधले समस्या हुँदै आएको जनाए । ‘स्थानीय टोले गुण्डाहरुले कुटपिट गर्ने, ज्यान मार्ने धम्कि दिने जस्ता अराजक गतिविधिले कुनैपनि समय अप्रिय घटना हुने देखिएकाले आयोजनाको काम ठप्प जस्तै भएको छ,’ उनले भने, ‘आयोजना कार्यस्थलसँगै मुख्य कार्यालयमा आएर विभिन्न नाजायज माग राखि कामदारसँग मिलेर तालाबन्दी गर्ने, बाटो अवरोध गर्ने लगायतका काम स्थानीयबाट हुँदै आएका छन् ।’ उनले स्थानीयको अराजक गतिविधि स्थानीय प्रशासनसँगै आयोजना कार्यालयलाई जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको दुःखेसो पोखे ।


प्रोजेक्ट म्यानेजरसहित ५ जनाको राजीनाम
स्थानीयको धम्की आउन थालेपछि निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका प्रोजेक्ट म्यानेजर सुदन बस्नेतसहित ५ जना प्राविधिकले नौकरीबाट राजीनामा दिएका छन् । भेरीगंगा नगरपालिका–११, चिप्ले स्थित ड्याम साईट (हेड वक्र्स) कार्यस्थलमा कार्यरत उनीहरुलाई स्थानीय बासिन्दाले विभिन्न माग राखेर धम्काउन थालेपछि काम गर्नु भन्दा छोड्नु नै उपयुक्त ठानेर नौकरीबाट राजीनामा दिएको बताउँछन् । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सुदन बस्नेतले स्थानीयबाट आउने पटक–पटकको धम्कीसँगै आयोजना कार्यालयको वेवास्ताले आजित भएर नौकरीबाट राजीनाम दिएको बताए । उनले देशकै महत्वपूर्ण मानिएको गौरवको आयोजनामा शान्तिपूर्ण तरिकाले काम गर्ने वातावरण नरहेकाले जोखिममा काम गर्न उपयुक्त नठानेर राजीनामा दिएको जनाए ।यद्यपि आयोजना स्थलमा काम गर्ने वातावरण नरहेको भन्दै राजीनामा दिएका प्रोजेक्ट म्यानेजरसहित केही प्राविधिकहरुको राजीनामा हालसम्म स्वीकृत नभएको गुआंग्डोङ युआनियन/रमन जेभीले जनाएको छ ।


आयोजना कार्यालयको लापरवाही
कर्णालीको समृद्धिसँग जोडिएको राष्ट्रिय गौरबको भेरी–बबई डाईभर्सन आयोजना ठूला आयोजना मध्ये एक भएपनि पटक–पटक आउने स्थानीयको धम्कीले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका बढेको छ । लामो समयदेखि स्थानीय र निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका प्रतिनिधि वीच उत्पन्न विवादमा आयोजना कार्यालयले मध्यस्तकर्ताको भूमिका खेल्न नसक्दा थप जटिलता बढ्दै गएको हो । निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीले स्थानीयबाट उत्पन्न बारे आयोजना कार्यालय सुर्खेतसँगै मुख्य कायालय काठमाडौंमा पटक–पटक जानकारी गराउँदा समेत मौन रहेको जनसम्पर्क अधिकारी सापकोटा बताउँछन् । उनले आयोजना कार्यस्थलमा निर्माण कम्पनीले भोग्नु परको समस्या बारे आयोजना प्रमुखलाई जानकारी गराउँदा समेत चित्त बुझ्दो उत्तर पाउन नसकिएको जनाए । उनका अनुसार यस्ता समस्या ठेकेदार कम्पनी स्वयंमले मिलाउनुपर्ने र यसमा आयोजनाले केही गर्न नसक्ने जस्ता जवाफ पाईन्छ । यता यस सम्वाददाताले समेत आयोजना प्रमुख सुरेशकुमार शर्मालाई फोन सम्पर्क गर्दा घन्टि बजेपनि उठाएनन् ।

प्राविधिक समस्या बढ्दै
आयोजना तोकिएकै समयमा सम्पन्न गर्न केही प्राविधिक समस्याहरु देखा पर्न थालेका छन् । फाईनल डिजाईन गरिएपछि सोही अनुसार ठेकेदार कंपनीले काम शुरु गरेपछि कुनै समस्या देखिएमा डिजाईन परिमार्जन गर्नुपर्ने चलन छ । तर ठेकेदार कम्पनीले काम शुरु गरेको एक वर्ष भन्दा बढी भईसक्दा समेत पुनः डिजाईनको काम हुन नसक्दा निर्माण कार्यमा ढिलासुस्ती भईरहेको प्राविधिकहरु बताउँछन् । आयोजनाको मुख्य भाग मध्येको एक पावरहाउस निर्माण कार्य रि–डिजाईनको अभावमा हालसम्म निर्माण कार्य शुरु नै हुन सकेको छैन् । ठेकेदार कम्पनीका अुनसार साइट हस्तांतरण कार्य हुन नसकेकाले हालसम्म पावरहाउस निर्माण कार्य शुरु गर्न नसकिएको हो । नियमतः गौरवका आयोजना निर्माण कार्यमा आयोजना तथा कन्सल्टेन्टको अनिवार्य उपस्थिति हुनुपर्ने भएपनि हालसम्म उनीहरुको उपस्थिति रहेको छैन् । प्रत्यक्ष सरोकार राख्ने निकायको अभावमा एक वर्ष वित्नै लाग्दा समेत तोकिएको समयमा पावर हाउस निर्माणको काम शुरु हुन नसक्दा ठेकेदार कम्पनी समेत हतोतसाहित भएको बताउँछ । कम्पनीका जनसम्पर्क अधिकारी सापकोटाले प्रोजेक्टको डिजाईन वीचमै बद्लिने, साईट समयमा हस्तान्तरण नहुँने, ठेकेदारलाई समयमा भुक्तानी दिन नसक्ने जस्ता समस्याले आयोजना निर्माण कार्यमा ढिलाई हुने गरेको बताए । उनले पाँच वर्ष भित्रै सक्नु पर्ने आयोजनाको काम एक वर्ष वितिसक्दा समेत सन्तोषजनक कार्य प्रगति हुन नसकेको जनाए ।


आयोजनाको तोकिएको लक्ष्य
टनेल बोरिङ मेशिन (टीबीएम) को सहायताले दुई वर्ष पहिले १२ किलोमिटर २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सम्झौता भन्दा एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र चिनियाँ कम्पनी कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए । त्यस्तै, दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माणको कार्यको जिम्मा चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी पाएका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युतगृहलगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।


आयोजनाबाट उपलब्धी
चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किलोमिटर २१० मिटर लामो सुरुङमार्फत् सोही नगरको वडा नं ११ हात्तीखालस्थित बबईमा भेरीको पानी खसालिनेछ । जहाँ नेपाल सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याईने छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करीब चार अर्ब तीन करोड र बाह्रै महीना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड रूपैयाँ अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’का रुपमा परिभाषित गरिएको छ ।

Translate »