रुकुम पश्चिमका विद्यार्थीलाई टोल शिक्षामार्फत शिक्षण शुरु
असोज १३, रुकुम पश्चिम ।
कोरोना महामारीका कारण विद्यालयहरू बन्द भएको झण्डै छ महीना बितिसक्दा पनि अझै खुल्ने अवस्था नआएपछि टोल शिक्षा सञ्चालन गर्न शुरु गरिएको छ । गत चैतको दोस्रो सातादेखि बन्द भएका विद्यालय खुल्न नसकेपपछि केहि स्थानीय तहको प्रयासमा टोल कक्षा सञ्चालन गर्न थालिएको हो । यदि अवस्था सामान्य हुन्थ्यो भने यतिबेला विद्यालयहरूमा धमाधम पढाइ भइरहेको हुन्थ्यो । कतिपय विद्यालयहरूमा पहिलो त्रैमासिक परीक्षा समेत सम्पन्न भएको हुन्थ्यो । तर अवस्था सामान्य नभएपछि गत शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षा समेत नहुँदा बालवालिकाको भविष्य नै अन्योल वनिरहेको छ । कतिपय कक्षाको स्वमूल्यांकन विधि मार्फत कक्षा वृद्धिसमेत गरिएको छ । सरकारले सिकाई सहजीकरण गर्न भन्दै प्रविधियुक्त शिक्षा र सामाजिक दुरी कायम गरी पठनपाठन गर्न निर्देशन गरेको छ । तर यसको कार्यन्वयनतर्फ रुकुमका धेरै विद्यालयले अझै पहल गरेका छैनन् भने स्थानीय सरकार पनि मौन रहेका छन् । इन्टरनेटको माध्यमबाट शहर बजारका बालवालिकाहरूको (भर्चुअल )डिजिटल माध्यमबाट पठन–पाठन सञ्चालन भएपनि यहाँका दुर्गम गाँउका बालवालिका शिक्षाबाट बञ्चित रहेका छन् । दुर्गम गाँउका केही शिक्षक शिक्षीकाहरू भने यतिखेर विद्यार्थीहरूको भविष्यप्रति चिन्तित बन्दै टोल–टोलमा पुगेर विद्यार्थी–अभिभावकलाई शिक्षा दिन शुरु गरेका छन् ।
स्थानीय त्रिवेणी गाउँपालिका वडा नं.–६ स्थित जनचेतना आधारभूत विद्यालय व्यवस्थापन समितिको पहलमा विद्यार्थीहरूको पढाई सुचारु गर्न टोल–टोलमा पुगेर विद्यार्थी अभिभावकलाई शिक्षा प्रदान गर्न शुरु गरेको शिक्षिका निर्मला ओलीले जानकारी दिएकी छिन् । उनले भनिन, ‘कोभिड–१९ का कारण लामो समयसम्म विद्यार्थीको पढाई अवरुद्ध भएपछि पढाई नबिग्रीयोस् भन्ने उद्देश्यले अभिभावक र विद्यार्थीका लागि टोलशिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।’ विद्यार्थी विद्यालयमा नियमित आउन नसक्ने अवस्थामा अभिभावकलाई आफ्ना वालवालिकाहरूलाई कसरी सिकाइमा ध्यान दिन सकिन्छ भनेर अभिभावकहरूलाई शिक्षा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जानी दर्लामीले बताइन् । उनका अनुसार अभिभावकहरूलाई बालवालिकाको सिकाई सुधारका लागि शुरु गरिएको अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ । स्थानीय मिना वली भन्छिन्, ‘पहिले बालबालिकाहरू खेल्ने मात्रै गर्थे, अहिले अभिभावकलाई समेत तालिम तथा सिकाई व्यवस्थापन कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरूले पढाईमा ध्यान दिन थालेका छन् ।’यहाँका शिक्षक शिक्षिकाहरूले टोलमै पुगेर घरदैलो शिक्षा दिने गरेका छन् । जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लालबहादुर विष्टले भने, ‘विद्यार्थीहरूलाई गृहकार्य दिनुका साथै चेक गर्ने र अभिभावकलाई बालबालिकाहरूको सिकाई सम्वन्धी घरेलु विधिबाटै पठन पाठन गर्ने विधि सिकाइएको छ ।’ यस्तो कक्षामा कथा, कविता, खेल विधि र मनोरञ्जनकै माध्यमबाट स्थानीय रुपमा रहेका फूल र चित्रद्वारा सिकाइ सिकाउँदा विद्यार्थीहरूले रमाइलो मान्ने र पढाईमा ध्यान दिने गरेको स्थानीय टीका विकको अनुभव छ । उनले भनिन्, ‘पहिले केटाकेटीहरू घरमा पढ्नै मान्दैनथे, अहिले खेल्दै सिकाउँदै गर्दा विद्यार्थीहरु खुसी भएर रमाएर पढ्न थालेका छन् ।’ यस्तै त्रिवेणी गाउँपालिका–७ स्थित शारदा नमूना आधारभूत विद्यालयले सञ्चालन गरेको टोल शिक्षा कार्यक्रम पनि प्रभावकारी देखिएको छ ।
विद्यालयका प्रधानाध्यापक खीमबहादुर पुनले विद्यालयले आफ्नै सृजनशिलतामा टोल विभाजन गरेर टोल शिक्षा प्रदान गरेको बताए । टोल शिक्षा अन्तर्गत विद्यार्थीहरूलाई गृहकार्य दिने, जाँच्ने र अभिभावकहरूलाई बालबालिकाहरूको पढाईमा ध्यान दिन आग्रह गरेको विद्यालयका प्रधानाध्यापक उनले बताए । विद्यालयको सेवा क्षेत्रभित्र रहेका पारिखा, तलिगाउँ, रजैपाले, दाङवाङ, स्याला लगायतका वस्ती तथा टोलमा गएर टोल शिक्षा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह पुनले बताए । उनले भने, विद्यालयले पहिलो चरणमा स्वास्थ्य सचेतना फैलाउने, दोस्रोचरणमा अभिभावक र विद्यार्थीलाई भेटेर शैक्षिक गतिविधि सञ्चालन गर्ने गरिएको छ ।’ यस जिल्लाका केही विद्यालयले आफ्नै पहलमा टोल शिक्षा शुरु गरेपनि यहाँका छ ओटै स्थानीय तहका २७९ओटा विद्यालयमा अध्ययनरत ५३ हजार ५२३ जना विद्यार्थी अहिले पढाईबाट बञ्चित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका समन्वय प्रमुख ताराप्रसाद पुनको भनाइ छ । यस जिल्लामा छात्रको संख्या २५ हजार ९२० जना छ भने छात्राको संख्या २७ हजार ६०३ जना रहेको छ । उता जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा विएमले कोभिडको बेला कसरी विद्यालय सञ्चालन गर्ने भन्ने स्पष्ट नीति नभएको र जिल्ला प्रविधियुक्त नभएकैले कक्षा सञ्चालन गर्न नसकेको बताइन् ।
शिक्षामा लगानी शून्य
रुकुम पश्चिमका छ ओटा स्थानीय र जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना न्यूनीकरणको लागि गत आर्थिक वर्ष २०७६/ ०७७ को अन्त्यसम्म रू।१० करोड २२ लाख ६८ हजार ३३४ खर्च भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि रू.१९ लाख ९९ हजार २०१ खर्च गरेको गरेको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट खर्च गरिएको रकमबाट सबै पालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । स्थानीय तहमध्ये सबैभन्दा वढी चौरजहारी नगरपालिकाले खर्च गरेको छ । तर रुकुममा स्थानीय तहहरूले शिक्षा क्षेत्रमा भने कुनै लगानी गरेका छैनन् ।
डिजिटल शिक्षा आकासको फल
विद्यालय बन्द भएपनि कतिपय विद्यालयले इन्टरनेटको माध्यमबाट शहर बजारमा भर्चुअल कक्षा सञ्चालन गरेका छन् । अनलाईन, टेलिभिजन, रेडियो, टोल शिक्षा लगायतका विभिन्न वैकल्पिक शिक्षा अपनाएर कक्षा सञ्चालन गर्न थालिएको छ । भौगोलिक रुपमा निकै विकट मानिएको यो जिल्लामा टेलिफोन तथा मोवाइलको सहज पहुँच हुन नसकेको अवस्थामा टेलिभिजनको पहुँच पनि सोचेजस्तो भएको छैन । संचार माध्यमका विभिन्न उपकरणमध्ये यहाँका नागरिकले रेडियो बढी प्रयोग गर्ने गर्छन् । अहिले यहाँका अभिभावक तथा केहि विद्यालयले रेडियोको पहुँच भएपनि प्रभावकारी पठनपाठनका लागि टोल शिक्षालाई प्राथमिकता दिन थालेका छन् । प्रविधीको विकास नहुँदा डिजिटल शिक्षा आकासको फल झैं बनेको स्थानीय नागरिकले बताएका छन् । छ महीनासम्म विद्यालय बन्द हुँदा पनि स्थानीय सरकारले शिक्षा क्षेत्रमा कुनै नीति तथा कार्यक्रम ल्याउन नसकेको शिक्षक तथा अभिभावकहरूले गुनासो गरेका छन् । मुसीकोटस्थित श्री प्रभात माध्यामिक विद्यालयलक प्रधानाध्यापक विजय ओलीले भने, ‘दुर्गमका विद्यालय आर्थिक रुपमा कमजोर भएका कारण शिक्षा सम्वन्धी गतिविधि सञ्चालन गर्न नसकेको अवस्थामा स्थानीय सरकारले रेडियो कार्यक्रम सञ्चालन गरेको भए निकै प्रभावकारी हुने थियो ।’
सूचनाको प्रभावकारी माध्यम रेडियो
रुकुम पश्चिममा सूचनाको प्रभावकारी माध्यम सामुदायिक रेडियो नै हो । छ ओटा स्थानीय तहका ३० हजार ६४७ घरधुरीमध्ये झण्डै १८ हजार ३२९ घरमा रेडियोको पहुँच पुगेको जिल्ला तथ्यांक कार्यालयका अधिकृत मेघराज पौडेलले बताए । उनका अनुसार नेपालको जनगणना २०६८ का अनुसार रुकुम पश्चिममा सूचना सञ्चारको प्रभावकारी माध्यम रेडियो नै रहेको छ भने टेलिभिजनको पहुँच कुल घरधुरीमध्ये ३ दशमलव ७ प्रतिशतको मात्र रहेको छ । त्यस्तै रुकुम पश्चिमका ३३ वडा मध्ये इन्टरनेटको पहँच ३५० घरधुरीमा मात्र रहेको छ । यो तथ्यांकले पनि सूचना प्रबाहको मुख्य माध्यम रेडियो रहेको जिल्ला तथ्यांक कार्यालयले बताएको छ । उता कर्णाली प्रदेश सरककारले १० ओटा जिल्लामा रहेका २ हजार ९४२ विद्यालयहरूमा गरेको सर्बेक्षणमा सबैभन्दा वढी रेडियो कै पहुँच रहेको छ भने २६२ ओटा विद्यालयमा टेलिभिजन तथा इन्टरनेटको पहुँच पुग्न नसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले बताए ।
कर्णाली प्रदेशको ११ करोड बजेट शिक्षा
कर्णाली प्रदेश सरकारले कोरोनाका कारण अप्ठेरोमा परेका बालबालिकाहरूलाई शिक्षाको मुलधारमा ल्याउन रू।११ करोड विनियोजन गरेको छ । कोरोनाका कारण कर्णाली प्रदेशका १० जिल्लामा शैक्षिक गतिविधि सञ्चालनको लागि बजेट विनियोजन गर्नुको साथै शैक्षिक गतिविधि सञ्चालन गर्न सूक्ष्म अध्ययन भइरहेको सामाजिक विकास मन्त्री दल रावलको भनाइ छ । उनले भने, ‘पहिलो चरणकोे विश्लेषण गर्ने, कोरोना संक्रमण न्यून भएका जिल्लाहरूमा स्थानीय तहको समन्वयमा विद्यालय खोल्ने र जोखिम उच्च भएको जिल्लाहरूमा भर्चुअल कक्षा सञ्चालनको तयारी गरिएकोे छ ।’