यौन हिंसाविरुद्ध लडाइँमा पाइलैपिच्छे ठेस

२ वर्षदेखि यौन हिंसामा परेपछि अब बोल्नुपर्छ भनेर निस्किएकी उनले घरदेखि अदालतसम्म पुग्दा ठाउँ–ठाउँमा यातना खप्नुपर्‍यो । तारिखमा छुटेका पीडक अहिले गाउँमा खुलेआम डुल्दा उनी विस्थापित जस्तै भएकी छन् । प्रहरीमा जाहेरी दिने र अदालत जाने बताएपछि वडाध्यक्षसहित गाउँलेले मुद्दा अघि नबढाउन दबाब दिए । उनी घटना मिलाउन सहमत नै भइनन् । गाउँले महिलाले पनि उल्टै गाली गरे ।

असोज १८,काठमाडौँ ।
ड्याम्म १ गत भदौ ११ गते मध्यरातमा उनी सुत्ने कोठाको झ्यालमा कसैले हिर्कायो । जोडको आवाजले उनका आँखा र झ्याल सँगसँगै खुले । उनले झ्यालबाहिर जल्याङजुलुङ गरिरहेको पुरुषलाई चिनिहालिन् । त्यही राति ९ बजे पनि झ्यालमा यसैगरी हानिएको थियो । राति कहिले कोठाको झ्याल र कहिले ढोकालाई जोडले बजार्ने यो उपक्रम पहिलो थिएन । दुई वर्षदेखि आफूलाई दुःख दिइरहेको त्यही पुरुषले राति पनि पिछा गर्दो रहेछ भन्ने थाहा पाएपछि उनले मौनता तोड्ने निधो गरिन् । ‘त्यो रातभर म निदाउनै सकिनँ, अब पनि कुरा बाहिर नल्याए ममाथि झन् ठूलो अन्याय हुन्छ भन्ने ठानें,’ उनले सुनाइन् । २ वर्षदेखि भोग्दै आएको शारीरिक र मानसिक यातनाबाट पार पाउन घरपरिवार, समाज, प्रहरी र न्यायालयसम्म उनले जुन कष्ट बेहोरेकी छन्, त्यसको व्याख्या गर्नुअघि २ वर्षदेखिका घटनातिर फर्किऔं ।०७५ को निक्लँदो वैशाख हो या लाग्दो जेठ उनी यसै सम्झिन सक्दिनन् । तर त्यही बेलाको एउटा साँझले उनलाई हरपल झस्काइरहन्छ, अहिले भोगिरहेको पीडाको पहिलो बिन्दु उनले त्यही घटनालाई नै मानेकी छन् । त्यस दिन उनी लमजुङमा रहेको आफ्नै घरमा बसिरहेकी थिइन् । छिमेकी मोहन त्रिपाठी आइपुगे । मोहन र उनको घर एउटा पर्खालले मात्रै छुट्याएको छ, भौतिक दूरीका हिसाबले उनीहरू सबैभन्दा नजिकका छिमेकी हुन्, टाढाको साइनो पनि पर्छ । ४६ वर्षीय मोहनले उनलाई कति बज्यो भनेर सोधे । उनको हातमा घडी थिएन, साथमा मोबाइल पनि थिएन । त्यसैले उनी ‘पख्नुस् है अंकल, म घडी हेरेर आउँछु’ भन्दै कोठाभित्र छिरिन् । कोठामा ढोकाबाट छिर्नेबित्तिकै विस्तारा छ । मोहन पनि पछिपछि उनकै कोठा छिरे र उनलाई समाए । त्यतिखेर मोहनले रक्सी खाएका रहेछन्, उनी फुत्किएर बाहिर आइन् र मलाई किन यस्तो गरेको भनेर सोधिन् ।

आफूलाई बलात्कार गर्न खोजेको भन्दै सबै गाउँलेलाई भेला गरेर सबै कुरा भनिदिने बताइन् पनि । तर मोहन झन् जब्बर सुनिए । ‘मैले तँलाई बिगारेको हुँ भनेर गाउँलेलाई भनिदिन्छु, मैले बलात्कार गरेको हुँ भनिदिन्छु । अनि तेरो बिहे पनि हुन्न, बेइज्जत पनि हुन्छ, तेरो जिन्दगी नै बिग्रिन्छ भनेर उल्टै धम्क्याए,’ उनले भनिन् । बाहिर कुरा ल्याए साँच्चिकै मोहनले भनेको जस्तो हुने त होइन भनेर उनी झन् धेरै बिथोलिइन् । ‘यस्तो घटना ममाथि पहिलोचोटि भएको थियो, आफ्नो कुराभन्दा गाउँलेले नि पत्याइदिएनन् भने आफ्नै बेइज्जत हुने हो कि भनेर ४र५ महिनासम्म कसैलाई भन्न सकिनँ,’ उनले सुनाइन् ।मोहनले उनलाई पछ्याउने र दुःख दिने क्रम झन्झन् बढ्दै गयो । बाटोघाटोमा एक्लै हिँड्दासमेत मोहनकै डरले सताउँथ्यो । बाटोमा भेट भए मोहनले ‘म एकपटक तँसँग सुत्छु, अनि केही गर्दिन, सुत्दैमा तँ बिग्रिने हैनस् नडरा,’ भन्थे । उनी झन् हायलकायल हुन थालिन् । चार–पाँच महिनासम्म पनि मोहनले पछ्याउने र दुःख दिने गर्न थालेपछि उनले मोहनका दाइकी छोरी ९जो उनकै पनि मिल्ने साथी हुन्० लाई सबै कुरा बताइन् । साथीले एकपटक मोहनकै श्रीमतीलाई भन्न सुझाव दिइन् । रक्सी खाने, जथाभावी गर्ने र घरमा आएर कुट्ने मोहनको बानीसँग उनका श्रीमती र दुई छोराछोरी पनि दिक्दार थिए ।त्यसैले उनकै परिवारका सदस्यलाई कुरा भनेपछि केही समाधान त निस्केला नि भन्नेमा उनीहरू आशावादी देखिएका हुन् । तर उनी त्यतिखेर छाँगाबाट खसेझैं भइन्, जब मोहनकी श्रीमतीले उनको कुरालाई हावामा उडाइदिइन् । ‘तँलाई छोएको त रैछ नि, बलात्कारै त गरेको हैन रैछ, एकचोटि बलात्कार गरोस् न अनि मैले जानेकी छु,’ उनको उत्तर थियो ।

यसले आफूमाथि भएको यातना सार्वजनिक गर्ने उनको पहिलो प्रयासमै ठेस लाग्यो । त्यसपछि मोहनको मनपरी झन् बढ्दै गयो, उनलाई कोठाभित्रै लुगा फेर्न र घरअघिल्तिरको धारोमा नुहाउन पनि डरमर्दो हुन थाल्यो । ‘म झन् कमजोर बन्दै गएँ, बुबा डिप्रेसनको बिरामी हुनुहुन्छ, आमालाई हजार थरी समस्या छ, घरमा दिदीबहिनी छैनन्, कसलाई समस्या सुनाउने रु’ काठमाडौंमा उनले कान्तिपुरसँग भनिन्, ‘रातभरि रोएर, कराएरै मेरा दुई वर्ष सकिए ।’ दुई वर्षका बीचमा उनी कतिसम्म सताइन् भने उनले धारोमा नुहाउँदा मोहनले आफ्नै घरबाट क्वारक्वार्ती हेर्न थाले, कोठाभित्र पसेर लुगा फेर्दा झ्यालकै छेउमा आइपुगेर ठिंग उभिन्थे । पछिपछि उनलाई नुहाउँदा पनि घरमा बुबाआमा भएको दिन पर्खेर बस्नुपर्ने भयो । एक्लै हुँदा जहिले ढोका लगाएर बसिन् । अफिसबाट फर्किंदा घरमा आमालाई फोन गरेर आमा छिन् भने मात्रै घरमा आउने गर्न थालिन् । ‘अहिले तँमाथि बलात्कार नै त भइसकेको छैन नि भनेर गाउँलेले सजिलै भन्छन्,’ उनले भनिन्, ‘म आफ्नै आँगन छेउको ट्वाइलेटसम्म जान नसकेर कोठाभित्रै कोपरा राखेर दिसापिसाब गरें, भोक लाग्दा त्यहीं बसेर खाएँ, मेरोजस्तै दुःख उनीहरूका छोरीबुहारीलाई हुँदा के गर्छन् ?’ उनी एनजीओको कामले टाढा–टाढाका गाउँसम्म एक्लै पुग्थिन्, जंगलको बाटो पनि हिँड्नुपर्थ्यो तर कहिल्यै डराइनन् । ‘जब घर फर्किने बेला हुन्थ्यो, म उसले केही गर्छ कि भनेर डराउँथें, गाउँमा सबैको घरमा उज्यालै बत्ती बल्दा म कोठाभित्र छिरेर ड्यामडुम ढोका लगाउँथें,’ उनले भनिन्, ‘म आफ्नै घरमा असुरक्षित बन्दै गएँ ।’ गत असार २४ गते फेरि उस्तै घटना दोहोरियो । उनी सम्साँझै खाना खाएर सुत्न कोठामा गइन् । भूकम्प गएपछि उनीहरूले मूल घरको छेउमा दुई कोठाको सानो घर बनाएका छन् । त्यही घरको एउटा कोठामा उनी सुत्ने गर्थिन् । बुबाआमा भान्छासँगैको मूल घरमै सुत्छन् । त्यस दिन मोहनले पर्खालनिर ढुकेर बसेका रहेछन् । ‘म कोठामा छिरेर ढोका लगाइनसक्दै ऊ पनि छिर्‍यो र मलाई विस्तारामा लडाइहाल्यो,’ उनले लामो सास फेरिन्, ‘त्यो दिन पनि धन्न म जोगिएँ, बेडको छेउमै डन्डी थियो, त्यसैले हानेर म बाहिर निस्किएँ ।’ त्यस दिन बाहिर निस्किएर त बचिन्, उनलाई यो उकुसमुकुस पनि मनबाट निकाल्नु थियो । रातभरि मनमा कुरा खेलाएर ओल्टोकोल्टो फर्किंदा अनेक तर्कना आउँथे । म मरे पनि मर्छु तर यसलाई सजाय दिएर छाड्छु भन्ने पनि सोचिन् उनले । ‘एउटा चिठी लेखेर मर्छु र उसलाई जेलमा सडाउँछु भनेर मैले धेरै रात योजना बनाएँ,’ उनले भनिन्, ‘तर म त बुबाआमाकी एक्ली छोरी हुँ, मामाघर हजुरबुबा, हजुरआमाकी एक्ली नातिनी हुँ, म मर्दिनँ, लड्छु भन्ने अठोटले जितेपछि बाहिर निस्केकी हुँ ।’ त्यसैले उनले असार २५ गते बिहानै आमासित सबै कुरा खोलिन् । ‘ममी त्यो मान्छे आएको आएै गर्छ, मलाई साह्रै गाह्रो भयो, के गर्ने हो भनेर सोधें,’ उनले भनिन्, ‘तर मम्मीले बाहिर जाऔं र उसलाई कारबाही गराऔं भन्नै सक्नुभएन ।

बरु यो यस्तै छ, आफैंलाई जोगाउनुपर्छ भन्नुभयो ।’ आमाको जवाफले उनको नौनाडी गलेर फतक्कै भए । उनी हेरेको हेर्‍यै भइन्, आमाले सम्झाएको सम्झाइ गरिन् । ‘हामी गाउँमा एक्लै छौं, उनीहरूका मान्छे धेरै छन्, हामीले आफैंलाई केही गर्न सक्दैनौं, आफूले आफैंलाई जोगाउनुपर्छ नानी,’ आमाले भनेको कुरा उनी सम्झिन्छिन्, ‘तेरो बिहेको कुरा पनि आएको छ, यस्तो कुरा बाहिर ल्याउँदा झन् गाह्रो पर्छ, तेरो बिहे नै हुन्न ।’ अति भएपछि उनले अस्ट्रेलियामा रहेका मोहनका छोरालाई घटना सुनाइन् । उनले सुरुमा एकदमै राम्रो कुरा गरे । ‘मेरो बा त्यस्तै छन्, मैले बिहे गरेपछि पनि मेरी श्रीमतीलाई कुन विश्वासले घरमा राख्ने रु सजाय दिनैपर्छ, म तिम्रो साथमा छु,’ उनले भनेका थिए । छोराले नै यसो भनिसकेपछि उनको मनमा आँट आयो, यो लडाइँमा साथ दिने मान्छे छन् भनेर केही आस पनि पलायो । तर यता मोहनकी श्रीमतीले उनलाई घटना बाहिर ल्याउँदै नल्याउन कहिले हारगुहार गर्थिन्, कहिल्यै ‘इमोसनल ब्ल्याकमेल’ । ‘श्रीमती र छोराछोरीले सम्झाएपछि उसले केही दिन हाम्रो घरतिर हेर्न छाड्यो । आफ्नै घरमा थुनिएर बस्दा दिक्क लाग्थ्यो । एकपटक म घरबाहिर बसिरहेकी थिएँ, मलाई देखेर ऊ आयो, म हत्त न पत्त भित्र छिरें,’ उनले सुनाइन्, ‘चुकुल नलाउँदै ऊ आइहाल्यो, मलाई बेडमा लडाइहाल्यो, मैले डन्डीले टाउकामा हानें र भागें । मान्छे बटुल्छु भने । उनकी श्रीमतीले छोराछोरीको मुख हेर, एकपटक छाडिदेऊ भनिन्, उसले पनि अब दुःख दिन्नँ भनेपछि मैले छोडिदिएकी थिएँ तर झन् पछ्याउन थाल्यो ।’ तै उनले केही गाउँलेलाई भेला गरेर आइन्दा आफ्नो घरको आँगन नटेक्न मोहनलाई चेतावनी दिइन् । ‘दुई–चार दिन त आउँदैनथ्यो पनि, अब त आनन्दै भयो भन्ठान्यो, बाहिर निस्किएर बस्यो, फेरि आउने र जथाभावी बोल्ने गर्न थाल्थ्यो,’ उनले भनिन् । घर छाडेर बाहिर बसेका उनका काकाहरूले समेत उनीहरूको घरको रखबार गर्न उही मोहनलाई भन्ने भएकाले पनि उनी धम्क्याइरहन्थे । उनले संघीय संसद्मा सांसदसमेत रहेकी फुपू र प्राध्यापक काकालाई सुनाइदिन्छु पनि भनेकी हुन् । तर ‘तिमीहरू कमजोर छौ, कसैले हेर्दै हेर्दैन’ भनेर उल्टै धम्की दिए । राति बल्लतल्ल निदाइनसक्दै कसैले ढोका ड्यामड्याम पारेको आवाज आउँथ्यो, उनी डरले थुरथुर हुन्थिन् । ‘धन्न दाइले मेरो कोठामा बलियो चुकुल हालिदिएको थियो,’ उनले भनिन् । काठमाडौंमै बस्ने उनका दाइ घटना थाहा पाएपछि हरदम उनको साथमा छन् । दाजु र काकाको साथकै कारण यो लडाइँमा डटेर लाग्ने र जितेरै छाड्ने उनको आँट भरिलो भएको छ ।भदौको गर्मी अचाक्ली भएकाले उनी झ्याल खुलै राखेर सुत्ने तरखरमा थिइन् । त्यस दिन छेउमा उनकी आमा निदाइरहेकी थिइन् । राति ९ बजे आएर कसैले झ्यालबाट हेर्‍यो । उनले हत्त न पत्त झ्याल बन्द गरिन् । आँखा चिम्लिएरै बसिरहिन् । १२ बजे राति फेरि झ्याल ड्याम्म गर्दै खुल्यो, उनले आँखा पनि खोलिन् र देखिन् उही मोहन त्रिपाठीलाई ।

दिउँसो र बिहान मात्रै होइन, रातिसमेत आफूलाई पिछा गर्ने रहेछ भन्ने भएपछि उनले अब कानुनी बाटो रोज्नै पर्छ भनेर अठोट गरेकी हुन् । भदौ १२ गते बिहान आमासँग फेरि सल्लाह गरिन् । चितवनमा रहेका काकालाई फोन गर्न भनिन् तर आमाले मान्दै मानिनन् । उनी आफैंले फोन गरेर घटनाबारे काकालाई सुनाइन् । काकाले सुन्दर बजार र बेंसीसहरमा प्रहरीलाई फोन गरेर घटनाको विवरण सुनाए । वडाध्यक्षलाई पनि छोरीले पाएको दुःख बताए । तार्कुटार गएर घटनाबारे बुझ्न आग्रह पनि गरे । थाहा पाउनेबित्तिकै उनको गाउँमा पुगेको प्रहरीले सोधीखोजी गर्‍यो । गाउँलेले जानेसुनेसम्म सबै कुरा प्रहरीलाई बुझाए, त्यही दिन मोहन पक्राउ परिहाले । ‘मैले घटनाको प्रारम्भिक जानकारी पाउनेबित्तिकै पीडकलाई पक्रेर ल्याएँ, भोलिपल्ट उनीहरूले जाहेरी दिए,’ लमजुङ जिल्लाका प्रहरी प्रमुख गंगाबहादुर थापाले भने, ‘घटनाको विवरण र प्रकृति हेर्दा पीडितलाई घरीघरी यौन हिंसा भएको देखिन्छ ।’ पीडकले भने इन्कारी बयान दिएको र दुवैको बयान आफूहरूले जस्ताको त्यस्तै अदालतमा बुझाएको थापाले बताए । यता प्रहरीले मोहनलाई पक्रियो, उता गाउँमा जान्ने सुन्नेहरूको भेला भयो, भेलामा वडाध्यक्ष जयराम रेग्मी गए । सुरुमा प्रहरीलाई फोन गरेर घटनास्थलमा बोलाउने वडाध्यक्ष रेग्मी नै थिए । तर उनले प्रहरीमा जाहेरी दिने र अदालतमा मुद्दा लड्ने बताएपछि भने वडाध्यक्षसहित सबै गाउँलेले मुद्दा अघि नबढाउन दबाब दिएको पीडितको गुनासो छ । ‘एकातिर मैले दुई वर्षदेखि यातना भोगिराछु, अर्कातिर गाउँलेले केस गाउँमै मिलाउनुपर्छ, उसलाई खुट्टा ढोगेर माफी माग्न लगाउँछौं भने,’ उनले भनिन्, ‘मैले जे भोगेको छु, कसैले महसुस गर्न सक्दैन भनेर मान्दै मानिनँ ।’ केही समय अगाडि तार्कुटारमै १३ वर्षीया बालिका बलात्कार गर्नेलाई पनि खुट्टा ढोगेर माफी मगाइएको थियो । तर पोखरा बस्ने बालिकाका बुबाले थाहा पाउनेबित्तिकै प्रहरीमा उजुरी गरेपछि पीडक थुनामा छन् । यी पीडित भने गाउँमै घटना मिलाउन सहमत नै भइनन् । उनलाई गाउँले महिलाले पनि उल्टै गाली गरे । साक्षी बस्न गाउँले तयार भएनन् । उनलाई साथ दिन वडा सदस्य लक्ष्मी पोखरेल र कार्यपालिका सदस्य भवानी केसी अघि सरेका थिए । तर प्रहरीले घटना विवरणको कागज बनाउँदा नै विस्तृत नलेखेको पीडितका काकाको गुनासो छ । पीडित पनि मुचुल्का उठाउन आउने प्रहरीले सुरुमा विस्तृतमा बयान लिएपछि अर्कोपटक आएका प्रहरी भने घरमै नआएको र आफ्नो साक्षीको कुरै नसुनेको गुनासो गर्छिन् । ‘कतै हाम्रो मुद्दा कमजोर बनाउने खेल दोस्रो पटक मुचुल्का उठाउन आउँदा त भएन ?’ उनको मनमा संशयको ढ्याङ्ग्रो बजिरहन्छ ।

प्रहरीले अदालतमा बुझाउन भनेर तयार पारेको घटना विवरण कागजमा आफूले भनेका सबै कुरा राम्रोसँग नलेखिदिएको गुनासो उनले गरिन् । ‘अरू त अरू, हाम्रा ५ जना साक्षी थिए, प्रहरीले जम्मा दुई जनाको कुरा त्यो पनि आधा मात्रै राखिदिएछन्,’ उनले भनिन् । भदौ १५ गते प्रहरीमा जाहेरी दिएपछि उनी काकासित चितवन गइन् । केही दिनपछि काठमाडौं आइन् । उता मोहनविरुद्धको मुद्दाको सुनुवाइ अदालतमा चलिरहेको थियो, यता उनी न्याय पाइन्छ भन्नेमा आशावादी थिइन् । तर गत असोज ७ गते मोहन २ लाख धरौटीमा छुटेपछि उनी खङ्ग्रङ्ग परिन् । घटनापछि झन् बिरामी परेका बुबालाई काठमाडौं छाडेर सुन्दरबजार फर्किने उनको योजना अलपत्र पर्‍यो । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले मुद्दाका क्रममा सरकारी वकिलले प्रस्तुत गरेको कागजपत्रले पीडितमाथि बलात्कार प्रयास गरेको यथेष्ट प्रमाण नभएको भन्दै २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पीडित युवतीले बारम्बार आफूमाथि बलात्कारको प्रयास हुँदा छरछिमेकीलाई बोलाउने र पीडक मोहनकै श्रीमतीलाई समेत भनेको बयान प्रहरीलाई दिएकी थिइन् । उनका साक्षीहरूले पनि त्यही व्यहोराको बयान दिएका थिए । उनको बयान सुनेका जिल्ला प्रहरी प्रमुख थापा उनीमाथि ज्यादती नै भएको आफूले बुझेको र आफूमातहतका प्रहरीले त्यहीअनुसारको कागजपत्र तयार पारेर प्रहरीसमक्ष बुझाएको बताउँछन् । न्यायाधीश ढुंगानाको आदेशमा उल्लेख छ, ‘प्रतिवादीले आफूलाई समात्दा वा झिझ्याउँदा निजले चिच्याएको वा कराएको वा कुनै प्रकारले प्रतिकार गरेको अवस्था मिसिलबाट देखिएन, गत असार २४ गतेको घटनालाई लिएर भदौ १५ गते मात्रै जाहेरी दिएको देखियो । साक्षीले समेत प्रतिवादी थुनामा परेपछि मात्रै घटनाबारे थाहा पाएको भनेको पाइयो ।’ तर प्रहरीले साक्षीका रूपमा प्रस्तुत गरेका दुईमध्ये एक लक्ष्मी पोखरेलले भने मुचुल्का उठाउने बेलामै बदमासी भएको दाबी गरिन् । पोखरेल घटना भएको वडा नम्बर ७ र सुन्दरबजार नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।

‘सुरुमा मुचुल्का उठाउन आउने प्रहरीले राम्रो कुरा गरेका थिए, सबैसँग बुझेर घटनाको विवरण लिएर गएका थिए,’ पोखरेलले कान्तिपुरसँग भनिन्, ‘१५र२० दिनपछि फेरि अर्का प्रहरी आए, मुद्दा फाँटको भाइ अन्तै गएको र तुरुन्तै केस अघि बढाउनुपर्ने भएर हामी फेरि मुचुल्का उठाउनुपर्ने भएकाले आएको हो भने । उनीहरूले न प्रश्न राम्ररी सोधे न हाम्रो कुरा सुने ।’ उनले घटना भएको भदौ ११ गते राति नै पीडितले आफूलाई रुँदै फोन गरेको र आफूले सबै विवरण बुझाएको बताए पनि जाहेरी दिएपछि मात्रै साक्षीले घटना थाहा पाएको भनेर विवरण लेखिएको प्रति आश्चर्य व्यक्त गरिन् । उनले दोस्रो पटक मुचुल्का उठाउन आउने प्रहरीले पीडककै पक्षमा आफूसँग दहलफसल गरेको पनि बताएकी छन् । पछिल्ला ३ महिनामा मात्रै जिल्ला अदालत लमजुङले उनको सहित जबर्जस्ती करणी उद्योगका चारवटा मुद्दामा पीडकलाई धरौटीमा छाडिदिएको छ । धरौटीमा छाडेको दिन पनि मोहनलाई लिन २५र३० जना मान्छे अदालतमा पुगेका थिए । २३ दिन हिरासत बसेका उनी तुरुन्तै धरौटी बुझाएर सिधै तार्कुटारमा रहेको घरमा गए । यता जाहेरी दिने निर्णय गरेलगत्तै गाउँमै बस्न नसक्ने अवस्था आएपछि सुरुमा चितवन र त्यसपछि काठमाडौं आएकी उनी अब झन् के हुने हो, अन्योलमा छिन् । ‘अहिले गाउँमा ममी एक्लै हुनुहुन्छ, यहाँ मेरो मन पोलेको छ,’ उनले कुराको बिट मारिन्, ‘जाम त मेरो यसै बेइज्जत उसै बेइज्जत भो भन्दै समायो भने के गर्ने ?’

Translate »