चाडपर्व लक्षित बजार अनुगमनमा तात्यो वीनपा
स्काई न्यूज / असोज २५, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमनमा तातेको छ । नेपालीहरुका महान पर्वहरु नजिकिएसंगै नगरपालिका बजार अनुगमनमा तातिएको हो । चाडपर्व नजिकिएसँगै स्थानीय सरकार अहिले बजार अनुगमनतर्फ केन्द्रित भएको पाइएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको अरु बेला अनुगमन नगर्ने स्थानीय सरकार चाडपर्वको बेला मात्र तातिने गरेका छन् । प्रायः गरी चाडपर्वको मौका छोपि व्यापारीहरुले उपभोक्ता ठग्ने गर्छन् । त्यसो नहोस भन्नका लागि अनुगमन गर्न लागिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको हित संरक्षणसम्बन्धी विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एवं समन्वयको लागि नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन हुने गरेका छन् । नगर उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति बन्ने कानुनी प्रावधान छ । तर, चाडपर्वको बेलामा मात्र बजार अनुगमन गर्ने गरिएको भन्दै नागरिकले बेला बेला गुनासो समेत गर्ने गरेका छन् । नगरपालिकाका नगर उपप्रमुख मोहनमाया ढकालको संयोजत्वमा आइतबार वीरेन्द्रनगरमा बसेको बैठकले बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४ माथि छलफल गर्दे उपभोक्रा हित संरक्षणका लागि बजार अनुगमनलाई कडाईका साथ गरिने बताएको छ । बैठकले खाद्यन्न, तरकारीजन्य, मासुजन्य, दुधजन्य, मिठाईपसल, मासुजन्य, होटल तथा नास्ता पसल, लत्ताकपडालगायतका अतिआवश्यकीय वस्तुको आपूर्ति तथा वितरणमा अनुगमन निर्णय भएको उपप्रमुख ढकालले जानकारी दिईन् । उनले नियम विपरित कार्य गर्दे आईरहेका व्यवसायीलाई सचेत गराउँदा समेत उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्नेलाई तत्कालै कार्वाहीको दायरामा ल्याईने बताईन् ।
‘पालिकाहरु’ले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै मासिक रुपमै बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बजेट छुट्टाएको हुन्छ । तर, ‘पालिकाहरु’ले चाडपर्व लक्षित मात्र अनुगमन गर्ने, अनुगमन शीर्षकको बजेट सकाउन झारो टार्ने हिसाबकिताबले अनुगमन गर्ने, भदौ र असोज महिनाबाहेक अरु महिना अनुगमन नगर्दा ‘पालिकाका’ जनप्रतिनिधि र कर्मचारीबाटै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड भइरहेको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले बताए । उनले बजार अनुगमन निर्देशिका २०७४ पालना नगर्ने पसलका व्यापारीहरुलाई ‘पालिकाहरु’बाट गठित अनुगमन समितिले बजार अनुगमनको क्रममा चेतावनी दिएर छाड्ने परम्परागत चलनलाई नै दोहोराउँदा सुर्खेत जिल्लाको बजार अनुगमन प्रभावकारी हुन नसकेको जनाए । ‘झारो टार्ने हिसाबले अनुगमन गर्नुको कुनै औचित्य हुँदैन । अनुगमनको क्रममा गल्ती भेटिएका पसलका व्यापारीलाई ‘पालिकाहरु’ले तत्काल निर्देशिकामा उल्लेख भएबमोजिम दण्ड तथा जरिवाना तोकेर कारबाही गर्नुपर्छ,’ उनले भने, ‘संघीय संरचनाअनुसार बनेको निर्देशिका बमोजिम स्थानीय तहबाट हुने गरेको बजार अनुगमन काम देखाउने, बजेट सक्ने र समाचार बनाउनेबाहेक उपभोक्ताको हितमा उपलब्धिमूलक काम भएको देखिदैन् ।’
उनले बजारमा अहिले कालाबजारी गर्नेले महँगीको मूल्यमान्यतानै तोडेर प्याज प्रतिकिलो २५० रुपैयाँ पु¥याउँदा समेत कार्वाही नहुँदा उपभोक्ता मारमा परेको जानकारी दिए । ठगी गर्ने व्यापारीलाई कारबाही हुन नसक्दा सुर्खेतको बजार अराजक बन्दै गईरहेको उनको भनाई थियो । ‘बजार अनुगमन स्थानीय तहले पूर्वसूचना दिएर गर्छ, त्यस्तो पनि अनुगमन हुन्छ, सूचना पाएपछि उपभोक्ता ठग्ने व्यापारी पसल बन्द गरेर भागी हाल्छ नि’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि सबै कानुन हामीलाई थाहा छ भन्दै अनुगमन गर्न जान्छन, तर उनीहरुलाई अनुगमनको कानुन केही पनि थाहा हुँदैन, जसले गर्दा उपभोक्ता ठगी रहनु परेको छ ।’ उनले जिल्लाकै कतिपय स्थानीय तहले बजार अनुगमन निर्देशिका नै पालना नगरेको दावी गरे । उनका अनुसार अहिलेपनि जिल्लामा करिब ४० प्रतिशत व्यापार व्यवसाय दर्ता विनै सञ्चालनमा रहेका छन् । यता सुर्खेत सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले व्यापारी तथा उपभोक्ता दुबैको हक, हित र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमन अगाडि बढाउन आग्रह गरे । उनीहरुले अतिआवश्यकीय वस्तुको मूल्य एवं विक्री वितरणमा कुनै कैफियत तथा कमिकमजोरी रहेको पाईएमा आफुहरु व्यवसायी साथीहरुलाई सच्याउन लगाउने प्रतिबद्धता व्यक्त गरे । नगर अनुगमन समितिका अनुसार अनुगमन टोलीले निर्देशिकामा उल्लेख भएबमोजिम अखाद्य वस्तु बिक्री वितरण गर्ने, व्यवसाय दर्ता तथा नवीकरण नगर्ने, मुल्यसूची नराख्ने, प्रतिबन्धित वस्तु बिक्री गर्ने जस्ता पसलका व्यापारीलाई दण्ड तथा जरिवाना गर्ने बताएको छ ।