शिक्षकको विवरण पठाउन देशभरका स्थानीय तहलाई परिपत्र

कात्तिक १, काठमान्डौं ।
देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको विवरण कात्तिक मसान्त भित्र पठाइ सक्नु पर्ने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई एकसाथ परिपत्र गरिएको छ। पत्र अनुसार दरबन्दी मिलान तथा पुनः वितरणको सन्र्दभमा कटौती हुने (खुद पुल दरबन्दी रहेका) स्थानीय तहबाट तोकिएको सोहि जिल्लाको अर्को दरबन्दी थप हुने स्थानीय तह वा सोहि प्रदेशको दरबन्दी थप हुने अर्को जिल्लाको स्थानीय तहमा दरबन्दीसहित सरुवा भइ जान इच्छुक शिक्षकहरुको निवेदन माग गरी जिल्ला भित्रको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले दरबन्दी सहित सरुवा व्यवस्थापन गरी त्यसको जानकारी केन्द्रमा पठाउनुपर्ने हुन्छ। दरबन्दी कटौती हुने जिल्लाबाट सोहि प्रदेशको दरबन्दी थप हुने जिल्लामा सरुवा भइ जाने शिक्षकलाइ सरुवा सरुवा छोड्ने सम्बन्धित इकाइको सरुवा सहमतिसहित सरुवा व्यवस्थापनका लागि सम्पूर्ण विवरण केन्द्रमा पठाउनसमेत परिपत्र गरिएको छ। अपाङ्गता भएका विद्यार्थीको साविक देखि स्रोत कक्षा सञ्चालन हुदै आएको (स्रोत कक्षा सञ्चालनका लागि अनुदान प्राप्त) विद्यालयमा प्रति स्रोत कक्षा १ जना प्राथमिक तहको स्रोत शिक्षकको दरबन्दी कायम गरी अन्य शिक्षकको हकमा मात्र दरबन्दी मिलान गर्ने कार्य अघि बढाउनसमेत मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तह तथा शिक्षा समन्वय इकाइलाई परिपत्र गरेको छ।

 

केन्द्रको संयोजकको हकमा जुन स्थानीय तहमा दरबन्दी रहेको छ, सोहि स्थानीय तहमै दरबन्दी कायम गरी यथावत् कामकाज गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ। विशेष शिक्षा परिषद् अन्र्तगत अनुमति स्वीकृत पाइ साविकदेखि सञ्चालनमा रहेका विषेश विद्यालयमा रहेका शिक्षक दरबन्दी र सामुदायिक विद्यालयमा एकिकृत शिक्षा कार्यक्रमका लागि उपलब्ध भएको विषेश शिक्षा परिषद् अन्र्तगतको शिक्षक दरबन्दी मिलानमा गणना नगरिएकोले उक्त दरबन्दीलाई सोहि स्थानीय तहको स्वीकृत संख्या मानी सोहि विद्यालयमा कामकाज गर्ने व्यवस्था मिलाउनु पर्ने परिपत्र गरिएको छ। सम्बन्धित जिल्लाका लागि स्वीकृत दरबन्दी तथा अनुदान कोटा शिक्षा विकास तथा समन्वय इकाइमा रहेको अभिलेख अनुसार स्थानीय तहगत रुपमा रहेको दरबन्दी र अनुदान कोटा संख्या एकिन गरेर मात्र दरबन्दी तथा अनुदान कोटा वितरण गरिने भएको छ। कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालन गर्ने विद्यालयका लागि उपलब्ध अनुदानमा कार्यरत प्रशिक्षक र सहायक प्रशिक्षकको शिक्षक संख्यालाई दरबन्दी मिलान गर्दा गणना नगरिएकोले उनीहरुलाइ यथावत् स्थानमा सोहि प्रयोजनमा कामकाजमा लगाउन भनिएको छ।

स्थानीय तहमा रहेको प्राथमिक तहको पुल दरबन्दीमा निम्न माध्यमिक तथा माध्यमिक तहमा वितरण गर्दा माथिल्लो तहमा पुल दरबन्दी कायम हुने विद्यालयको विषयगत आवश्यकता, शिक्षककको योग्यता एवम् चाहना समेतको आधारमा व्यवस्थापन गर्न शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले परिपत्र गरेको हो। शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ को परिच्छेद २ अनुसार हिमाल, पहाड र तराइमा क्रमशः४०, ४५ र ५० जना विद्यार्थी संख्याका आधारमा एकजना शिक्षक दरबन्दी कायम गर्ने र यसोगर्दा स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकताको पहिचानको आधार कायम गर्ने भनेको छ। यस्तै दरबन्दी पुर्नवितरण गर्दा साविक कायम रहेको प्राथमिक तह (१–५), निम्न माध्यमिक तह (५–८) र माध्यमिक तह (९–१०) र उच्च माध्यमिक तह (११–१२) आधारको रुपमा लिने उल्लेख छ। दरबन्दी पुर्नवितरण गर्दा नेपाल सरकारले विद्यालयलाई उपलब्ध गराएको प्राथमिक (महिला शिक्षा परियोजना), निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहको दरबन्दी र राहत अनुदानलाई समेत गणना गर्ने व्यवस्था छ।(नागरिक)

Translate »