तीन दशकपछि गति लिँदै खलङ्गा–कुपिण्डे–बालुवासंग्रही सडक खण्ड
स्काई न्यूज / कात्तिक २१,सल्यान ।
सल्यान सदरमुकाम ‘खलंगा–कुपिण्डे–बालुवासंग्रही सडक’ले निर्माण तीन दशकपछि गति लिन थालेको छ । प्रदेश राजधानी जोड्ने सडक निर्माणलाई गति दिन संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेर काम गरिरहेका हुन् । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट पश्चिम बनगाड क्षेत्र जोड्ने उक्त सडकको उद्घाटन गरेका थिए । सडक उद्घाटन भएको ३३ वर्ष बितिसक्दा पनि सडकमा बाह्रै महिना सवारी सञ्चालनमा आउन सकेका छैनन् । खलंगा–सितलपाटी–कुपिण्डेसम्म सडक डिभिजन कार्यालय दाङ र बालुवासंग्रही–कुपिण्डेसम्म पूर्वाधार विकास कार्यालय सल्यानले हेर्दै आएको छ ।खलंगादेखि ९ किलोमिटर सडक कालोपत्रे गरिसकिएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर रिकेश महर्जन बताए । बाँकी कुपिण्डेसम्मको सडक कालोपत्रे गर्न दुई प्याकेजमा निर्माणकै क्रममा रहेको इन्जिनियर महर्जनको भनाई छ । ‘पहिलो ज्यामिरे प्याकेज अन्तरगत एक करोड ५६ लाखमा क्रिष्टल निर्माण सेवा श्रीनगरले काम गरिरहेको छ’ महर्जन भने, ‘कुपिण्डेसम्मको दोस्रो प्याकेज एक करोड ४२ लाखमा गत वर्ष ठेक्का आह्वान भएर प्रकृति मिशन जेभीले काम गरिरहेको छ ।’ दुवै प्याकेज चालु आर्थिक वर्षको मंसीरसम्म म्याद थप गरेर निर्माण भइरहेको महर्जन बताउँछन् ।
दुबै प्याकेजमा नाला तथा वाल निर्माण र कालोपत्रे गरिनेछ । पश्चिम रुकुम र सल्यानको पूर्व क्षेत्रलाई प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यति मात्रै हैन सरकारले सार्वजनिक गरेको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक कुपिण्डे ताल यही सडक खण्डमा पर्दछ । खलंगा–कुपिण्डे–बालुवासंग्रहीसम्म सडकको कुल लम्बाई झण्डै ३३ किलोमिटर छ । बालुवासंग्रहीदेखि कुपिण्डेतर्फको तीन किलोमिटर सडक कालोपत्रे गर्न हाल कटिङ्गको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानका सव–ईन्जिनियर कुमार बोहोरा बताए । ‘वाल, नाला र कालोपत्रेका लागि ग्याल्बो निर्माण सेवा सल्यानले काम गरिरहेको छ’ बोहोरा भने, ‘बाँकी कुपिण्डेसम्मको सडक कालोपत्रे गर्न बहुवर्षीय योजनामा समावेश गरिएको छ ।’ वहुवर्षीय अन्तरगत चालु आर्थिक वर्षमा २४ करोड लागतमा ११ किलोमिटर सडक निर्माण गर्न ग्याल्बो–धुलिखेल जेभीले जिम्मा पाएको छ । बहुवर्षीय योजनामा सडक समावेश भएकाले दुई वर्षसम्म सडक निर्माणको काम सम्पन्न हुने सव–ईन्जिनियर बोहोराको दावी छ । यसअघि सरकारले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत यो सडकमा करोडौ बजेट विनियोजन गरेपनि सडक निर्माणले गति लिन सकेको थिएन् ।