सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने

मंसिर २२,काठमाडौँ ।
आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो । स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो । सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रवीन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए । २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गरेका थिए ।

४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए । सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोेसेसिङ गरेका थिए । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए । सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्वरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह सुझाव मागेको थियो । उक्त गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्याण्ड, बेलायतलगायतका देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पु९याएका बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । हाल चीनले पनि मापन पूरा गरेको छ । हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ । यस मापनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको छ । यो मापन सन् १९५ मा जिएल गुलाटी कम्पनीले गरेको थियो। (नागरिक)

Translate »