भट्टराई परिवारमा कुल देवता र पूजा विधि

काशीराम भट्टराई

परिचय

इतिहासको काल खण्डवित्दै जाँदा मानिस एकै स्थानमा वसोवास गरि रहन सकेन्न । यसै कारणबाट मानिस बसाईसराई हुदै जाँदा मानिस बसोबास गर्ने स्थान उनीहरुको पेश र पद अनुसार थर परिवर्तन भएको पाइन्छ । शुरूका एउटै गोत्रका सन्तान पनि पछि फरक फरक थरमा रूपान्त्रण हुन पुगेको हो । वशिष्ठ गोत्रिय भट्टराई थर कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान गर्न निकै कठिनाइ रहेको छ । थर भनेकै उपनाम हो भन्न सकिन्छ । मानिसको थर कुनै पद पेशा मान भुमिका वा जिम्मेवारीबाट पनि रहने गरेको पाइन्छ । वशिष्ठ गोत्रमा भट्टराई मात्र होइन भट्ट चालिसे, भण्डारी, बयक क्षेत्री सुयलथापा, राउत, दवाडी, खरेल, घर्तिक्षेत्री, गौली, पनेरु, विष्ट, ओडारी, पाठक, धामी, कँडरिया, सोती, भुसाल, मुडबरी, पाण्डे, पुवारखड्का, श्रीपाली, बम र खनाल आदि थरहरु पर्दछन ।  भट्टराई थरका सम्बन्धमा प्रामाणिक आलेख नमिले पनि उपलव्ध शिलालेख ताम्रपत्र सनद आदिको आधारमा ईशाको दशौ शताब्दीका ऋषि भट्ट पछिका पाचौ पुस्ताका पुर्खा गर्भु भट्ट सिञ्जादेखि भट्टराई चलेको प्रमाण पाइन्छ । ऋषि भट्ट हालको वाग्लुङ्ग गलकोटका राजाका राजगुरु थिए । यिनै ऋषि भट्टका पाँचौ पुस्ता गर्भु भट्ट सिञ्जाका राजाका राजपुरोहित भए । यिनको पालामा राजाबाट प्राप्त विर्ताको लिखतमा राई उपाधि पाएको प्रमाणिक आलेख छ । यसरी भट्टमा राई उपाधि जोडिएर भट्टराई भएको मान्यता रहेको छ । युवराज यशोब्रहम शाहलाई लमजुङ्गको राजा बनाउदा पुरोहित भट्टराई पनि साथै आएका थिए । यिनको मृत्यु पछि नरहरि शाह र द्रव्य शाह विच मनमुटाव भएपछि विसं १६१६ मा गोर्खा विजय गरी द्रव्य शाह राजा हुदा भट्टराई संगै आएको कुरा उल्लेख गरिएको छ । राजाको पुरोहित हुदा भट्टराईलाई विभिन्न मान पदवी उपाधी इज्जत प्रतिष्ठा र विर्तासमेतबाट सम्मान गरेको पाइन्छ । ब्रहमा वशिष्ठ शक्ति पराशर ब्यास शुकदेव कृष्ण (यसपछि ऋषि भट्टसम्मको लता नभएकोले एकै पटक ऋषि भट्ट देखि लता अगाडि बढेको)  ऋषि भट्ट रघु कपिल लीला देवी गर्भु भट्ट (यिनैका पालादेखि राई उपाधी प्राप्त गरि भट्टराई भएका) थलु भट्टराई रिठ्ठा श्रीकृष्ण बह्रमानन्द लक्ष्मीश्वर शिव ऋषिश्वर भट्टराई रहेको पाइन्छ । यिनै ऋषिश्वर भट्टराईका सन्तान नेपालका विभिन्न स्थानहरूमा वसोवास गरेका छन । यसै क्रममा पाल्पा पर्वत खण्ड यज्ञश्वरका छोराहरु माधव र शक्ति थिए । शक्तिका छोरा दिननाथ थिए र यिनका छोरामा वासुदेव सुर्यमणि र रामकृष्ण थिए । यिनै रामकृष्णका छोराहरु हरेराम पुरण र तीलचन मध्ये तीलचनका छोरा दामोदर मनोरथ र यज्ञराज थिए । जेठाछोरा दामोदरका खडानन्द र पृथ्वु थिए । यिनै खडानन्दका छोराहरुमा जयवल्लभ मणिराम हरि काशिनाथ र मनिराम थिए । यिनै कान्छ छोरा मनिराम भट्टराई पुर्व वाग्लुङ्गबाट बसाइसराइ गरि साविक दैलेख जिल्ला सेरी गाविसको दर्नाकोटमा बसोवास गरेका हुन । हाल वीरेन्द्रनगर नगरपालिका १४ गढी सालडाडा सुर्खेतमा रहेका वशिष्ठ गोत्रिय भट्टराई लगाएत नेपालका विभिन्न भुगोलमा वसोवास गर्ने भट्टराईले आफु र आफ्नो सन्तान, सम्पति, वालिनाली तथा पशुपन्छीको रक्षाका लागि मष्ट कुलदेवताको पुजा गर्ने चलन रहेको छ । मष्ट कुल देवताको विषयमा अध्ययन गर्न सजिलो छैन । यसको वारेमा गहिरो अध्ययनको आवश्यकता पर्दछ । यसबाट सामान्य रूपमा पाठकवर्गलाई आत्मासन्तुष्टी वा जानकारीको लागि मष्ट कुल देवताको विषयमा उल्लेख गर्न प्रयास गरिएको छ ।

परापुर्वकाल देखि ऋषिमुनी र देवताहरूले तपस्या,ध्यान गरेर धार्मिक ग्रन्थहरु,वेद पुराण र शास्त्रहरू लेखिएको पाइन्छ । कुनै पनि परिवारमा रहेका सन्तानहरूको सुख शान्ति प्राप्तिका लागि आफ्नो कुल देवताको पुजाआजा गर्ने चलन चलेको पाइन्छ । कुल देवताको पुजा हुने स्थान वा कुल देवताको मन्दिरमा कुनै व्यक्तिको शरिरमा देवताको शक्तिका रूपमा अदृश्य शक्ति उत्पन्न भै सामान्य भाषा भन्दा फरक भाषामा वोल्ने र आफ्नो परिवारका सदस्यले भोगे गरेका कार्यहरूको वारेमा भन्ने काम गरेको पाइन्छ । यसरी शरिर कमाएर सामान्य वुझिने भाषा नवोली देवता उत्रिएकाले मात्र वुझ्ने भाषामा वोल्ने गरेको समयमा देवता काडेको वा धामी वसेको भनिन्छ । यसरी कुल देवताको मन्दिरमा पुजा गर्ने समयमा देवता वा धामी वस्ने व्यक्तिले कम्तिमा तीन दिन पहिला देखि चोखोनितो वा शुद्ध पवित्र भई वस्ने गरेको पाइन्छ । जसलाई देवता उत्रिएको छ उसलाई चोखोनितो वा शुद्ध पवित्र नवसेमा देवताले दुख दिन्छ भन्ने विश्वास गरिएको हुन्छ । सामान्य व्यक्ति भन्दा देवता उत्रिएको व्यक्ति वा धामीले आफ्नो एउटा पहिचान दैनिक नित्य सस्कार वनाएका हुन्छन । धामीको शरिरमा देवता उतार्दा धामी वस्ने स्थानमा गाइको गोवरले लिपेर पञ्चकव्य छरी शुद्ध पारी थर्पुस्थापना गरी देवता पुकारा गरेपछि देवता उत्रिन्छ । जतिवेला देवता उत्रिन्छ त्यतिवेला सामान्य भाषा भन्दा फरक नवुझिने भाषाको बोलिएको पाइनछ। आफ्नो शरिर कमाउने र देवभाषामा वोल्ने कार्य भएको हुन्छ।धामी वसेको अवस्थामा धामीसँग आफ्नो कुलको भविष्यको वारेमा वा कुनै दुख कष्टका वारेमा सोधपुछ गर्ने गरिन्छ। यसवारेमा देवता वा धामीले भनेको कुरा विश्वास गर्ने चलन नेपालका अधिकाङ्स जातिमा रहेको पाइन्छ । खास गरी कर्णाली प्रदेश र ७ नं प्रदेशमा अझ वढी धामी झाक्रीको विश्वास गर्ने चलन रहेको छ । यसरी उत्रिएको धामीले दिएको उपदेश अनुसार आफ्नो कुल देवतको पुजा गर्ने चलन चलिरहेको छ । मष्ट देवताको उत्पति कुन समय देखि कहाबाट भएको हो भन्ने विषयमा इतिहासकार तथा साहित्यकारहरूको फरक फरक भनाइहरू रहेको पाइन्छ । यहा मष्ट देवताको उत्पति रामराजाको पाला देखि सुरूवात भएको र देवतालाई दैत्यले सताउन थालेपछि हाराम हारामको प्रार्थना सुनेपछि देवतालाई पनि बचाएर उनले शरणमा लिएर उत्तराखण्ड पठाएको हो । देवताको वासस्थान उत्तराखण्ड वा हिमाल रहेको विभिन्न धर्मग्रन्थहरुमा समेत उल्लेख गरेको पाइन्छ । तत्कालिन अवस्थामा कुनै व्यक्ति वा घरमा पालिएका पशुहरू विरामी भएको अवस्थामा उपचारको लागि डक्टरहरु नभएको कारण देवता वा धामीबाट उपचारको कार्य गराउने गरिन्थ्यो । मष्ट देवताको उत्पति कर्णाली प्रदेश तथा ७ नं प्रदेशबाट भएको भएको मानिन्छ ।

मष्ट देवताका १२ भाई रहेका छन भने १८ वण्डाल्नी रहेको छन भन्ने मान्यता छ । यस सम्वन्धमा संस्कृतविद प्रा.डा.जगमान गरूङ्गको एक कार्यपत्रमा उल्लेख गरे अनुसार जुम्लाको सिंजाको पाण्डुसेरामा प्रचलित १२ मष्टका नामहरू उल्लेख गरेका छन । उनका अनुसार मष्ट देवताका १२ भाई मष्टहरूमा दाह्रे, दुधे, मण्डली, आदि, खापर, बाबिरो, काला, रूमाल, ढँडार, थार्पा, बान्नी र कावा उल्लेख गरेका छन् । मष्ट देवतालाई १२ भाई र १८ वण्डाल्नी भनेपनि यिनका नामको बारेमा विद्वानहरुको एक मत भएको पाइदैन। नेपाली संस्कृति र मष्टो पुस्तकका लेखक भिम राईका अनुसार मष्टहरूको नाम ८४ रहेको उल्लेख गरेका छन । जस अनुसार मष्टदेवताहरूलाई निम्न बमोजिम उल्लेख गरेका छन । दाह्रे, दुधे, दुदाल, कुवाँ, खापर, बाविरो, लाँकरी, बुड, सिम, बामदेव, लाटो, गुरौ, बनपाल, टुसापानी, टेढो, मुडुलो, कैलो, सुन्दर गाउँ, लणे, विनायक, सुनारगाउँ, रामपाल, बनपाल, दुवे, सुम्लेगुरो, रग्मचुला, भाइयार, रुमला, कालसिल, बान्की, थुर्पा, बाँ, लिउँडी, कुमी, दुगाँशिलत, क्षेत्रपाल, उखाडी, पुवाँले, बाहिरो, मण्डली, महादेव, महारूद्र, देविथान, छल, कालो, विजुवा, राउटकोट, सोलुपाल, लोहारसुर, सिमताडी, भइँगुरो, दयाहिला, कैलास, उत्तरे, हिमाल, भैरु, तेडिदेव, ठिगला, भइफुटा, महानै, धोलापुर, बास्को, कुलसैन, मशाला, लेखाडी, काफल, क्यूडी, धुरा, श्वता, बरनाथ, लेह, सिद्ध, धुर, शम्भु, बाझकोट, भातखोला, कुलदेव, राहदेव, सुपारी, धौत्यात्री, गन्याप, बार्यफल, शैन र तलिकोट गरी जम्मा ८४ मष्टदेवताको नाम उल्लेख गरेका छन । अर्का इतिहासकार राजाराम सुवेदीका अनुसार मष्ट देवताको मुल थलो कर्णाली क्षेत्रमा रहेको कुरा उल्लेख गरेका छन । कर्णाली क्षेत्रबाट खस आर्य जुन ठाउमा बसाइ सरी गए मष्टदेवता पनि संगै लगेको पाइन्छ । नेपालको इतिहासलाई हेर्दा मष्टदेवताको उद्गम स्थल कर्णालीको पनि जुम्लाको सिंजा क्षेत्र भएको हो । यसरी मष्ट देवताको वारेमा ढँडार मष्टको फागमा यसरी लेखेका छन ।

कुशाभट्ट बामनकी खान खुँवाउदो फटकशिलाकन छाग बलि दिंदो ।।

जुमलाराजाकीमान ढँडार पुग्या ढँडार पुग्या ढँडार पैंयाजडी बैसेगु भैगो ।।

यस फागसँग बझागका जगतप्रसाद जोशीको सम्बन्धी किंवदन्ति अनुसार जुम्लाका जुम्ली आएर बझागको ढँडार मष्ट देवतालाई घोणा (घण्ट) चढाउने र पुजा गर्ने चलन अझैपनि रहेको उल्लेख गरेका छन ।  संस्कृतविद तथा साहित्यकार सत्यमोहन जोशीका अनुसार मष्ट देवताको उदयको सन्दर्भमा उल्लेख गरेको पाइन्छ । उनका अनुसार नेपाली भाषाको उद्गम स्थल जुम्ला भएको हो । त्याहाका मान्छेलाई मान्ठ मन्ठ र मत्र्य लोकलाई मन्ठालोक भन्दछन । त्यसै गरी मष्टलाई मैठो भन्छन । उनका अनुसार यहि मान्ठ मैठो हुदै मष्ट भएको हुन सक्ने उल्लेख गरेका छन । जस अनुसार मष्ट देवताको उत्पति जुम्लाको सिंजाबाट भएको प्रमाणित हुन्छ । यसै गरी अर्का लेखक तथा पत्राकार प्रेम कैदी श्यामबहादुर खडकाको मष्टो संस्कृति र परम्पराको भुमिकामा मष्टो कर्णालीको आराध्यदेव देवता हुन भनेर व्याख्या गरेका छन । माथि उल्लेखित मष्ट देवता मध्ये मष्ट कुल देवताका रुपमा पुजा गरिन्छ । मष्टदेवताको बाहन लामालामा दाह्रा भएको बाघ भएकोले मष्टदेवता नाम दाह्रेमष्ट राखिएको हो । दाह्रे मष्ट कुल देवताको नियमित रुपमा पुजा गर्नाले कुलको साथै पशु धनको समेत रक्षा गर्ने विश्वास गरिएको छ।

कुल देवता पूजा विधि

कुल देवता मष्ट मानि कुल पुजा गर्ने परिवारमा उभौली र उधौली पारी पुजा गर्ने गरिन्छ । मंसिरे पूर्णिमा अथवा उभौलीमा धानको न्वागी र जेष्ठ पूर्णिमा वा उधौलीमा गहुको न्वागी देवतालाई चढाउने गरिन्छ । सो समय भन्दा पहिला नै न्वागी खाने भएमा देवतालाई छुट्टाएर मात्र खाने र सो पहिला छुट्टाएको न्वागी कुल पुजाको समयमा अनिवार्य कुल देवता पुजा मन्दिरमा पु-याउने चलन रहेको छ । मष्ट कुल देवता पुजामा सम्पुर्ण पालिहरू पूर्णिमाको अगिल्लो दिन शुक्ल चतुर्दशीको दिन कुल देवता पुजा स्थल वा थानमा जम्मा हुने र देवता वा धामीको आरधना गरी देवता वोलाइ रात भरी खणरात्री जगाउने गरिन्छ । यस खणरात्रीका दिन धामी झाक्री डाग्री र देवता जिउमा उत्रने जति नाच्ने कार्यलाई पैठ भन्ने चलन छ । पैठका क्रममा वजाइने पञ्चैवाजाहरु आ आफ्नै परमपरा अनुसार हुन्छन र सो पञ्चैवाजाको तालमा देवता वा धामी नाच्ने गरिएको हुन्छ । यसै क्रममा देवताबाट शुभ आशिर्वाद लिने र दुख विराम लागेकाले आफ्नो वारेमा धामीलाई हेराउने गरी रात भरी धुनी तापेर खणरात्री वस्ने गरिन्छ । खडरात्रीमा रातको समयमा पुरश्चयरण इष्ट देवता शिव र शक्ति स्वरूप मष्टमण्डली कुलदेवताको आरधाना गरिन्छ । कुलदेवता मष्टलाई थानको उत्तरपट्टीको कुनामा खणरात्रीमा वालिएको धुनीको कोइला राखी आध्येमष्ट र बाह्र मण्डली कुल देवता सम्झी सबै पालिबाट प्राप्त नौनी वा धुपको धुप हाल्ने नैवेद्यहरू चढाउँने पहिलो भाग मष्ट दोश्रो भाग वारामण्डली तेस्रोमा मष्टका गण र चौथो देखि आठौं भाग गोष्ठादि महारूद्रका गणलाई र अन्य मानिएका देव देवीलाई चढाउने गरिन्छ । पुत्रवढाइ वा मनोआकाक्षाहरू प्राप्त भएमा कुल मष्टदेवतालाई घाँट वा धण्ट वा पञ्चैवाजा मध्ये कुनै वाजा वा वोका वलि चढाउने चलन रहेको छ । मष्ट देवता चढेको मुल धामी गादीमा वसेर आफ्ना पालिहरूलाई हेराउने पालो दिने चलन रहेको छ । यस समयमा सवै उपस्थित व्यक्तिहरूले पालै पालो हेराउने चलन छ । हेराउने समयमा मष्टमाहाराज वा डाग्रेपरमेश्वरी भनि सम्वोधन गरि आफ्नो कार्य सिद्धिका लागि देवतासंग सोध्ने गरिएको हुन्छ । देवता वा धामीले तलाइ यस्तो उस्तो हुन्छ, भएको थियो, यसो गर्दा राम्रो होला, लाभ सिद्धि होला भन्दै थर्पुमा रहेका दाना (चामल) दिएर पठाउने चलन रहेको छ । यसरी धामीले दिएको दाना घरमा लगेर चोखो नितो गरी राखे सम्म आफ्ना मनमा लागेको कुरा पुरा हुने र भविष्यमा कुनै भवितव्य नपर्ने विश्वास रहेको छ । यसरी धामीले भनेका कुरा पुरा भएमा धामीमा शक्ति छ भन्ने कुराको विश्वास हुने र नभएमा धामीमा शक्ति प्राप्त नभएको भन्ने गरिन्छ । सो दिनमा आफ्नो गोठमा रहेका गाई दुधालाई नखाई चोकोनिष्ठा राखि विहान अर्थात पूर्णिमाको दिन विहान कुलपुजा स्थल वा मन्दिर (थान) मा लगेर देवतालाई चाढाउने र सोहि गाईको दुधमा पकाएको खिर कुल देवता मष्टलाई चढाउने र चढाएपछि बाँकीलाई प्रसादका रूपमा सबै उपस्थित व्यक्तिहरुले ग्रहण गर्ने गरिन्छ । गाईको दुध धारको लागि पनि प्रयोग गरिन्छ । भैसीको दुधबाट वनेको खिर उपस्थित व्यक्तिहरूले भोजनको रूपमा खाने गरिन्छ । पूर्णिमाको दिन विहान सवै पालिहरु थानमा जम्मा भइ यथा सक्य चढाएका दुध नौनी न्वागीबाट विभिन्न खाध्य परिकारहरु खिर पुडी आदि पकाइ कुल देवतालाई चढाउने र उपस्थित सवै पालिहरूले कुल देवता वा मष्ट देवताको प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पाइन्छ । लेखकः– (काशीराम भट्टराई , भट्टराई कुल वंश प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्षसँगै  नेपाल निजामति कर्मचारी यूनियन संघका कर्णाली प्रदेश सचिव समेत हुन् ।)

सन्दर्भ सामग्री

  1. भट्टराई वंश दर्पण २०७४,भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रिय समिति ,झापा
  2. कैदी,प्रेम मष्टो संस्कृति र परम्परा भुमिकाबाट
  3. नेपाल प्रगतिशील लेखक सङ्घ सुर्खेत रातो थुङ्गा 2074 वर्ष 27 अङ्क 17
  4. राई,भिम 2070 नेपाली संस्कृति र मष्टो राई ब्रदर्स
  5. सुवेदी,राजाराम खस आर्यहरूका कुल देवता मष्टोका फागहरु मष्टो 2073
  6. खड्का,श्यामवहादुर 2072 मष्टो संस्कृति र परम्परा एकता वुक्स डिस्ट्रिब्युटर्स प्रा.ली. काठमाण्डौं
  7. राई,भिम 2070 नेपाली संस्कृति र मष्टो राई ब्रदर्स
  8. गरुङ्ग,जगमान मष्ट एक चिनारी 207३
  9. भट्टराई, गंगाराम वीरेन्द्रनगर नगरपालिका ८, सुर्खेत।
Translate »