बढ्दो आत्महत्या दरप्रति सरोकारवाला चिन्तित

एक्लिएर बस्नु पर्ने अवस्था भोगेका, सामाजिक तनाव र आर्थिक कठिनाइहरुसंग जुधिरहेका पुरुष, महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श उपलब्ध गराउन जरुरी छ ।


स्काई न्यूज / पुस १५, सुर्खेत ।
वीरेन्द्रनगर—१०, का टिकाराम सुनार कलिलै उमेरमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित भए । डिप्रेशनका कारण झन्डै २२ वर्षअघि आफूले आत्महत्या प्रयास गरेको उनी बताउँछन् । भाग्यवश आफू बाँचेको बताउने उनी आत्महत्याको सोच आएमा मनका कुरा सुनिदिने वा सुनाउने वातावरण बनाउनुपर्ने बताए । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि आत्महत्या गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको प्रहरीको भनाइ छ । कर्णालीमा आत्महत्याको दर निकै बढि भएको प्रति सरोकारवाला चिन्तित भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा कोरोना महामारी यता मात्र प्रदेशमा दुई सय ५० जना बढीले आत्मा हत्या गरेको पाईएको छ । गत चैतदेखि हालसम्म, अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवं आघात र विविध क्षतिहरुका कारणले गर्दा बालबालिका, महिलासहित दुई सय पचास बढीले आत्महत्या गरेका छन् । यी संख्याहरुमा प्रहरीको अभिलेखमा रहेका आत्महत्याहरु मात्रै समावेश छन् । यसमा अभिलेखमा नरहेका घटनाहरु, आत्महत्याका प्रयासहरु वा आत्महत्या गर्ने सोच बनाएका मानिसहरुलाई समेटिएको छैन् । हरेक आत्महत्याले उनीहरुको नजिकका मानिसहरुमा गहिरो शोक छोड्ने गर्दछ । ‘मानसिक अस्वस्थताका धेरै लक्षणहरु १४ वर्षको उमेरभन्दा अगाडि देखि नै शुरु हुन्छ र अहिले आत्महत्या युवाहरुको मृत्युको प्रमुख कारणमध्ये पर्दछ,’ प्रदेश अस्पताल सुर्खेतका मनोचिकित्सक डाक्टर सुशील समदर्शीले भने, ‘कमजोर मानसिक स्वास्थ्य भएका थुप्रै बालबालिका र उनीहरुका परिवारहरुको लागि यदि हामीले समयमै सहायता गर्न सकेनौं भने यसको मूल्य चुकाउनुपर्ने देखिन्छ ।’ उनले आत्महत्या गर्नेमा बालबालिका र आर्थिकरुपमा सक्रिय रहने उमेर भएको हुँदा रोकथामका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउन आवश्यक रहेको औल्याए ।

उनका अनुसार आत्महत्याको समस्यालाई सबै मिलेर कम गर्न सकिने भएपनि यसमा आउने समस्याबारे खुलेर कुरा गर्न नसक्दा अप्रिय घटना हुने गरेको छ । उनले एक्लिएर बस्नु पर्ने अवस्था भोगेका, सामाजिक तनाव र आर्थिक कठिनाइहरुसंग जुधिरहेका पुरुष, महिला तथा बालबालिकालाई बढी मनोसामाजिक परामर्श आवश्यक रहेको बताए । टीपीओनेपाल सुर्खेतका मनोविमर्षकर्ता शर्मिला बिसीले आत्महत्याका घटना बढ्दै गएको भन्दै आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्ने र उचित मनोसामाजिक परामर्श सेवा दिन आवश्यक भएको बताईन् । उनले सरोकारवाला सबै निकायले आ–आफनो स्थानबाट आत्महत्या न्यूनीकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायतका कार्यक्रम चलाउनु पर्नेमा जोड दिईन् । उनका अनुसार बालबालिका तथा युवाहरुको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी, उपचारलाई पनि मुलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रुपमा विकसित गर्न आवश्यक रहेको छ । कार्यक्रममा आत्महत्याका घटना सिधै प्रहरीसँग जोडिने भएकाले पनि यसको रेकर्ड प्रहरीसँग हुने तर किन आत्महत्या बढिरहेको छ भन्ने कारण नहुने हुँदा यस्ता कारणबारे छलफल गरेर यसलाई न्यूनिकरण गर्न तर्फ जानुपर्नेमा समेत जोड दिईएको थियो । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा सुर्खेतमा प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ति मगर,सामुदायिक प्रहरी सेवा केन्द्र छिन्चुका अध्यक्ष यज्ञप्रसाद ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र सुर्खेतका अध्यक्ष ललित भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Translate »