२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

काँक्रेविहारमा पिकनिक जानेको घुइँचो

प्रदेश आयुर्वेद औषधालयसँगै नेपाल फार्मेसी संघको वनभोज


स्काई न्यूज/ पुस २५, सुर्खेत ।
सुर्खेतको ऐतिहासिक स्थल काँक्रेविहारमा पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ । कोरोना महामारीको त्रासका वावजुद बुलबुले तालमा ‘पिकनिक खान रोक लगाईएपछि धार्मिक तथा सांस्कृतिरुपमै ऐतिहासिक रमणिय काँक्रेविहारमा पिकनिक खान जाने स्थानीय पर्यटकको घुइँचो लाग्ने गरेको हो । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार पर्यटकको रोजाई स्थलका रुपमा सजिलो पनि नजिकको पनि अनि गजबको गन्तव्य बनेको छ । अन्य समयमा सामान्य चहलपहल हुने काँक्रेविहारमा हिजोआज पिकनिक खानेको घुइँचो लाग्ने गरेको छ । यतिसम्म कि दैनिक ५ देखि ६ टोली सम्म काँक्रेविहारमा पिकनिक खान पुग्ने गरेका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेत बजारनजिकै अवस्थित काँक्रेविहार घुमघाम तथा पिकनिकका लागि सजिलो गन्तव्य बनेको छ । पिकनिक र भ्रमणका लागि बाँके, कैलाली, दाङ, बर्दियाखलगायतका जिल्लाबाट पनि अत्याधिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् । कुनै दिन त स्थानीय र विभिन्न जिल्लाका गरी २० टोलीले काँक्रेविहार भित्र पिकनिक खाएर फर्किने गरेको स्थानीय सुमन चौधरीले जानकारी दिए । ‘काँक्रेविहारमा आन्तरिक पर्यटकको घुईचो नै लाग्ने गरेको छ ।

अस्ति त एक दिनमा २०/२२ टोली पिकनिकका लागि काँक्रेविहार आएका थिए’, उनले भने ‘पिकनिकका लागि जिल्लासहित जिल्ला बाहिरका टोली पनि आउने गरेका छन् ।’ चर्चित पर्यटकीयस्थल काँक्रेविहारमा अन्य समयभन्दा चिसो समयमा पिकनिक खानेको भीड लाग्ने गर्छ । अग्लो ठाउँमा रहेको मनोरम काँक्रविहार मन्दिरको अवलोकनसँगै पिकनिक खाने उपयुक्त थलो भएकाले छोटो दूरीको यात्रामा रमाइलो गर्न चाहनेका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । काँक्रेविहारमा सवारी साधन लिन सकिने, न्यून प्रवेश शुल्क, पर्याप्त पानी, शौचालय, खुल्ला जंगललगायत सुविधा रहेका छन् । काँक्रेविहार प्रेमी प्रेमिकाको मिलनस्थलका रुपमा पनि चिनिँदै आएको छ । मायालु जोडी पनि काँक्रेविहारमा डेटिङका लागि जाने गरेका छन् । दैनिक हजारको हाराहारीमा काँक्रेविहार अवलोकन गर्न पुग्ने गरेका छन् । काक्रेविहार व्यवस्थापन समितिका अनुसार महिनामा १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसैवीच शनिबार काँक्रेविहारमा प्रदेश आयुर्वेद औषधालयका कर्मचारीसँगै नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले पिकनिक खानुका साथै वर्तमान कोरोना सन्त्रासको परिप्रेक्षमा आम जीवनलाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्ने चिन्तन–मन्थन समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार
Translate »