२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

सुर्खेतको गुटुमा ‘कठपुतली विवाह’ तयारी पुरा

# केटी–केटीबीच बिहे हुने अनौठो परम्परा # प्रचार–प्रसारमा सरकारी उपेक्षा



–फाइल फोटो

नवराज देवकोटा/शान्ति सुनार
पुस २९, (गुटु) सुर्खेत ।  राजनीतिमा ‘कठपुतली’ शब्द खुबै प्रयोग हुन्छ । अरु कसैको इसारामा चल्नु अर्थात् वास्तविक अर्कै तर देखिने रुप एउटा छ भने त्यसलाई कठपुतली भन्ने गरिन्छ । नेपाली राजनीतिमा सधैंजसो उच्चारण भइरहने ‘कठपुतली’ शब्द विवाहजस्तो विशुद्ध सामाजिक संस्कारमा प्रयोग नहुनु पर्ने हो । किनकि, विवाह एउटालाई देखाएर अर्कैसँग गरिन्न । पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ । जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । एक दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा कठपुतली विवाहको तयारी पुरा भएको छ । माघ १ गते हुने ‘कठपुतली’ विवाहका लागि स्थानीय बासिन्दाले सबै तयारीहरु पुरा भईसकेको गुटुका जीवन देवकोटाले स्काई न्यूजलाई जानकारी दिए । कठपुतली विवाहमा बालिकालाई नै दुलहाको भेषमा सजाउने चलन छ । तीन वर्ष अगाडी चौकुने गाउँपालिका–६, भाप्रका रामलाल बयकको घरमा ठूलै चटारो थियो । घरआँगनमा मानिसहरुको बाक्लो जमघट । पञ्चेबाजा घन्किरहेको थियो । ११ वर्षीया छोरी दीक्षालाई दुलहा बनाएर जन्तीको लावालस्करसहित डोली लिएर बयक परिवार दुलही लिन नजिकको अर्को गाउँ जाँदै थियो । सोही ठाउँ डाँबकी १३ वर्षीया किरण देवकोटा दीक्षाकी दुलही अर्थात् बयक परिवारकी बुहारी थिइन् । जन्तीलाई स्वागत गर्न र दुलही अन्माउन डाब टोलमा पनि उस्तै चटारो थियो । गाउँभरिका मान्छे दुलहा–दुलही हेर्न भेला भए । दुलही लिएर गएपछि बयकको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो । तीन वर्ष अगाडीको माघमा गुटु बजारकै मिलनचोकमा पनि विवाहको भव्य उत्सव थियो । मिलनचोककी १० वर्षीया पार्वती विसी दुलहा थिइन् । उनका घरपरिवारसहित छरछिमेकीहरु दुलही लिन सोही ठाउँकै मोतीसेरा टोल पुगेका थिए । मोतीसेराकी सम्झना बयकलाई दुलहीका रुपमा पार्वतीको घरमा अन्माइयो । यो बिहेमा कोसेलीका रुपमा माल्टाटा (मालुको रुखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लिने गरिन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ रामलाल भन्छन, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौदेखि चलिआएको उनी बताउँछन् ।


गुटुका ८६ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायका अनुसार हिउँद याममा भुवाको ठूलो जात्रा लाग्दो रहेछ । आगोको मुढा ताप्ने क्रममा बिहे गर्ने उमेरका (पहिले–पहिले निकै कलिलो उमेरमा बिहे गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ । घटनापछि छोरीको बिहे गर्ने सपना अधुरै भएछ । अनि, घटनाको एक वर्षपछि तिनै बालिकाको सम्झनामा उनका परिवार, इस्टमित्रले उनीहरुकै प्रतिरुप बनाएर विवाह गरेछन् । त्यस यताका हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने चलन रहेको छ । प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ गुटुका काशीराम देवकोटाले भने, ‘रजस्वला नभएकालाई वर–वधू बनाउने चलन छ ।’ उनले पश्चिम नेपालमा मनाईने कठपुतली विवाह यस क्षेत्रको यो मौलिक तथा पवित्र परम्परा रहेको बताए । यद्यपि ! सरकारले मौलिक कला, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्नुको साटो अपहेलित गरिहरेको गुटुका स्थानीय रमेश देवकोटा बताउँछन् । उनले गाउँमा स्थानीय सरकारका नाममा स्थानीय मौलिक रितिरिवाजलाई संरक्षण र सम्बद्र्धन गर्नुको साटो बेवास्ता गरेको आरोप लगाए । ‘स्थानीय सरकारले देशकै अनौठो र ऐतिहासिक परम्परा तथा रितिरिवाज रहेको कठपुतली विवाहलाई देश विदेशमै पहिचान दिलाउन सकिन्छ,’ उनले भने, ‘केन्द्र, प्रदेश तथा स्थानीय सरकारले भ्रमण वर्षको अवसर पारेर कठ पुतली विवाहको मुल मर्म सहित प्रचार प्रसार तथा संरक्षणका लागि यो सुनौलो मौका हो ।’ उनले कठपुतली विवाहको प्रचार प्रसारसँगै यस क्षेत्रको मौलिक कला, संस्कार तथा संस्कृतिलाई तीनै तहका सरकारले संरक्षण गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७७ पुस २९ गते बुधबार
Translate »