कर्णाली तरुलमा आत्मनिर्भर

स्काई न्यूज /माघ १, सुर्खेत ।
अधिकांश वस्तुको आयात भइरहेका बेला पछिल्लो समय कर्णाली प्रदेश तरुलजन्य कन्दमूलमा आत्मनिर्भर बन्दै गएको छ । स्थानीय स्तरमा पर्याप्त मात्रामा उत्पादन हुन थालेपछि तरुलमा आत्मर्निर्भर बन्न थालेको हो । माघे संक्रान्तिमा बजारमा तरुलको खपत धेरैे हुने गर्छ । माघे संक्रान्तिमा सबैले अनिवार्य रुपमा तरुलको उपभोग गर्ने भएकाले पनि बजारमा यसको खपत बढी हुने गरेको हो । बिहीबार माघे संक्रान्ति परेकाले पनि प्रदेश राजधानी सुर्खेतका मुख्य बजार वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, बड्डीचौर, बाबियाचौर र गुटु लगायतका बजारमा तरुल खरिद गर्ने ग्राहकको भीडभाड लागेको थियो । बजारमा तरुलको मूल्य प्रतिकेजी ५० देखि दुई सय ५० रुपैयाँसम्म रहेको छ । कृषि बजार सुर्खेतका अनुसार बुधबारसम्म मण्डीमा दुई सय ५० मेट्रिक टन तरुल भित्रिएको छ । सबैभन्दा धेरै तरुल पूर्वी सुर्खेतबाट आएको छ । वनतरुल, घरतरुल, सखरखण्ड, पिँडालु, हात्तीपाइले तरुल, सिमल तरुल र जिले तरुल बजारमा भित्रिएका छन् । कृषि बजार समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले यो वर्ष स्थानीय उत्पादनले माग धानेकोले बाहिरी जिल्लाबाट कम आयात भएको जानकारी दिए । कोरोना भाइरसको प्रभावले अघिल्लो वर्षको तुलनामा उत्पादन कम भएको उनको भनाइ छ । कोरोना भाइरसको प्रभावले गर्दा यो वर्ष अघिल्ला वर्षको तुलनामा कम खपत भएको व्यवसायीले बताएका छन् । कृषि बजारमा प्रतिकेजी ५० देखि दुई सय ७० रुपैयाँसम्म होलसेल बिक्री भएको उनको भनाइ छ । माघे संक्रान्तिलाई लक्षित गरेर बुधबारसम्म कृषि बजारबाट दुई सय ५० देखि ३ सय मेट्रिक टन तरुल बजारमा भित्रिएको उनले जानकारी दिए ।

व्यवसायीका अनुसार वनतरुल प्रतिकेजी दुई सयदेखि दुई सय ५०, घरतरुल ७० देखि ८० रुपैयाँ मूल्य रहेको छ । यस्तै हात्तीपाइले तरुल एक सयदेखि एक सय २०, सखरखण्ड प्रतिकेजी ४० देखि ५०, सिमल तरुल प्रतिकेजी ५० रुपैयाँ, पिँडालु प्रतिकेजी ५० रुपैयाँ होलसेल मूल्य रहेको छ । बाहिरी बजारमा खुद्रा व्यवसायीले भने बढी मूल्यमा बिक्री गरिरहेका छन् । चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्म पुस २९ गतेसम्म कृषि बजारमा ५ सय टन तरुलजन्य कन्दमूल भित्रिएको समितिले जानकारी दिएको छ । यस वर्षको माघे संक्रान्तिका लागि भारतबाट तरुलजन्य कन्दमूलको आयात नगन्य छ । अर्थात्, स्वदेशी उत्पादित तरुलको नै बढी कारोबार भएको छ । पुस महिना अवधिभर तरुलको सबैभन्दा बढी कारोबार हुने गरेको छ । कृषि बजारमा भित्रिएको मध्ये सबैभन्दा बढी पूर्वी सुर्खेत, दैलेख र सल्यानबाट तरुल आएको छ । बजारमा कारोबार भएकामध्ये ४ प्रतिशत परिमाणको सखरखण्ड (गन्जी) मात्रै तराईका जिल्लाबाट आएको व्यवसायीको भनाइ छ । एक महिनाको अवधिमा कषि बजारमा भित्रिएको मध्ये पूर्वी सुर्खेतबाट सबैभन्दा बढी ६७ प्रतिशत, दैलेखबाट १३ प्रतिशत, सल्यानबाट १३ प्रतिशत, पश्चिम सुर्खेतबाट ४ प्रतिशत र केही अन्य जिल्लाबाट ३ प्रतिशत तरुलजन्य कन्दमूल आयात भित्रिएको छ । खुद्रा बजारमा भने तरुलअनुसार मूल्य पनि फरक छ । माघे संक्रान्ति पर्वमा तरुलसँगै पिँडालु, घ्यू, फर्सी, खिचडी, चाकु खाने प्रचलन छ ।
माघे संक्रान्ति पर्व सम्पन्न
प्रत्येक वर्ष सौर मासअनुसार माघ महीनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व बिहीवार कर्णाली प्रदेशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाईएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले माग १ गतेका दिन विभिन्न नदीनाला तथा खोला, ताल तलैयाँलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लागेको थियो । पश्चिम सुर्खेतको गुटुमा भव्य रुपले ‘कठपुतली’ विवाह सम्पन्न भएको छ । हरेक वर्षको भाँती यस वर्ष गुटुमा केटी–केटी वीच विवाह गरि मनाईने अनौठो संस्कार जीवित रहेको छ । बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । विवाह तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ । कठपुतली विवाह धुमधानले सम्पन्न भएको गुटुका जीवन देवकोटाले स्काई न्यूजलाई जानकारी दिए । त्यस्तै तराईबाट पहाड चढेका बासिन्दाले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाएका छन् । वर्षभर ननुहाउने तराईवासीले माघ १ गते भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने शास्त्रमा उल्लेख गरिएको छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । माघ १ गते स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । माघ १ गतेका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।