तीन वर्षदेखि पश्चिम सुर्खेतका नागरिक मदन भण्डारी राजमार्ग बन्ने प्रतीक्षामा

ट्¥याक खुलेको साढे तीन दशक बित्दासमेत नागरिकले पक्की सडक देख्न पाएनन्


स्काई न्यूज /माघ १२, सुर्खेत ।
सरकारले २०७५ जेठमा चुरे क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्ने राजमार्गलाई मदन भण्डारी राजमार्गका रुपमा विकास गर्ने लक्ष्य लिएसँगै स्थानीय जनता व्यग्र प्रतीक्षामा छन् । मदन भण्डारी राजमार्गले खासगरी चुरे क्षेत्रका विकट भेगलाई जोड्छ । समयमै राजमार्ग निर्माण हुने हो भने आधारभूत सुविधाका लागि भौँतारिएका जनतालाई सहज हुने पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका समाजसेवी काशीराम देवकोटाले बताए । ‘वर्षामा हामी त विजु र गुटु खोलाले थुनिएका हुन्छौं । कोही बिरामी प¥यो भने पनि अस्पताल लैजान सक्ने अवस्था छैन । आफ्नै सदरमुकाम पुग्न पनि वर्षाको भेल पर्खिनु पर्ने बाध्यता छ । वीरेन्द्रनगर हाम्रो दैनिक गुजारा चलाउने ठाउँ पनि हो । केटाकेटीले शिक्षा पनि वीरेन्द्रनगरमै लिन्छन्,’ उनले भने, ‘राजमार्गसँगै पश्चिम सुर्खेतका सबै खोलामा पुल बन्छ । राजमार्ग बन्छ र हाम्रा सुखका दिन आउँछन् भन्ने अपेक्षामा छौं । राजमार्ग बन्न ढिलाइ नहोस् ।’ सुर्खेतमा मदन भण्डारी राजमार्ग अन्तर्गत मालारानीको काल्चेदेखि चौकुने गाउँपालिकाको बेनीघाटसम्म १ सय ३२ किलोमिटर कच्ची सडकलाई पक्की बनाउनु पर्छ । त्यसमध्ये बड्डीचौरदेखि पश्चिम चौकुने गाउँपालिकाको बेनिघाटसम्म ९४ किलोमिटर सडक डीपीआर पुरा भएसँगै बाँकी काम छिटो अघि बढाउनु पर्ने यस क्षेत्रका नागरिकको सरकारसँग माग छ । ट्¥याक खुलेको साढे तीन दशक बित्दासमेत नागरिकले पक्की सडक देख्न पाएका छैनन् । जर्जर कच्ची सडकमा विहान बेलुका ओहोरो दोहोरा गर्दा सर्वसाधारणले पाउनु सास्ती पाएका छन् । यही राजमार्गको सुर्खेतकैपूर्वी क्षेत्रमा पर्ने धुलियाबिट–भेडाबारी खण्डको ३७ किलोमिटर सडकमा पनि डीपीआर पुनरावलोकनको काम सम्पन्न भईसकेको छ । धुलियाविटदेखि भेडाबारीसम्म कच्ची सडकका उपभोक्ताले समेत बहुत दुःख पाईरहेको स्थानीय हर्क विकले बताए । उनले सुर्खेत खण्डमा कुनै विवाद नरहेपनि काम अघि बढ्न नसक्नुमा यस क्षेत्रका जनप्रतिनिधिको केन्द्रमा कमजोर पहुँच रहेको ठहर गरे । उनका अनुसार विगत तीन दशक बढी समयदेखि यिनै कच्ची बाटोलाई पक्की बनाउने आश्वासन दिएर नेताहरुले आफ्नो राजनीति रोटी सेक्दै आईरहेका छन् । ‘अन्य प्रदेशमा मदन भण्डारी राजमार्ग आयोजना कार्यालय नै स्थापना भईसकेका छन् । सुर्खेत खण्डमा सर्भेको साइड क्लियर गर्ने काम सम्पन्न भईसकेको छ,’ उनले भने, ‘पञ्चपुरी नगरपालिकामा केही समस्या देखिएको थियो, त्यो पनि समाधान भइसक्यो । पश्चिम बड्डीचौरदेखि बेनीघाटसम्मको कुल ९४ किलोमिटर क्षेत्र साइडमा कहीं पनि समस्या छैन । फेरीपनि काम अघि बढ्न नसक्नु सरकारकै कमजोरी हो ।’

निर्माण सुरु भएको तीन वर्षभित्र राजमार्ग सक्ने सरकारको योजना छ । तर, ठेक्का प्रक्रियासमेत सुरु भइ नसकेकाले जनप्रतिनिधि र नेताले दिएका आश्वासन अब जनतालाई बेकार लाग्न थालेका छन् । बहुवर्षे आयोजनाको रुपमा हेरिएको राजमार्गको पश्चिम सुर्खेत खण्डको बड्डीचौरदेखि बेनीघाटसम्मको सडक दुरावस्थाले सर्बसाधारण वषौंदेखि सास्ती भोग्दै आएका छन् । स्थानीय तहले पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्ग बन्ने पक्का भएकाले उक्त सडकमा मर्मत सम्भार बाहेक अरु कुनै बजेट नछुट्टाएको बताउँछन् । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले केन्द्रीय योजनामै समावेश भएको राजमार्ग आयोजनामा पालिकाले हरेक वर्ष मर्मत सम्भार बाहेक रकम विनियोजना नगरेको जनाए । उनले संघीय सरकारबाटै देशको पूर्वपश्चिम जोड्न राजमार्गको काम अघि बढाएको परिप्रेक्षमा गाउँपालिकाको सानो बजेटले हस्तक्षेप गर्न मुनासिब नहुने जिकिर गरे । उनका अनुसार संघीय सरकारले नै पश्चिम सुर्खेतको पक्की सडक अभावलाई पुरा गर्न छिट्टै मदन भण्डारी राजमार्गको काम शुरु गर्नु पर्छ । यता सुर्खेत निर्वाचन क्षेत्र नम्वर दुई बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले राजमार्ग निर्माणका लागि प्राविधिक सर्भे, सडक डिजाइन र माटो परीक्षणको काम सकिएसँगै अब वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सक्ने र चालु आर्थिक वर्षमै टेण्डर आव्हान गराउन आफु निरन्तर प्रयासरत रहेको जनाए । उनले मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतको दशा र दिशा नै बद्ल्ने भएकाले तोकिएकै समयभित्र काम सम्पन्न गराउन लागि परेको बताए ।


औचित्यहिन बन्दै राजमार्ग योजना
विस्तृत परियोजना अध्ययन नसकी नयाँ आयोजनालाई रकम विनियोजन नगर्ने सरकारकै नीति तथा कार्यक्रम विपरीत मन्त्रिपरिषद् निर्णयका आधारमा झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म प्रस्तावित मदन भण्डारी राजमार्गका लागि रकम छुट्टाउँदै आईएको छ । राजमार्गको नयाँ बनाउनुपर्ने खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाई सकिएको छ । यद्यपि ! संवेदनशील चुरे र भित्रीमधेश भएर जाने यो सडकको औचित्य कतैबाट हालसम्म पुष्टि हुनसकेको छैन । किनभने, पूर्वपश्चिम राजमार्गको दक्षिणतिर हुलाकी राजमार्ग निर्माणाधीन छ भने उत्तरतिर मध्यपहाडी लोकमार्ग निर्माधिन अवस्थामा छन् । यी दुवै परियोजना वर्षौंदेखि लथालिङ्ग रहेका बेला थप अर्को राजमार्ग किन चाहियो ? भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारीहरुले यो छुट्टै राजमार्ग नभएको र पहिल्यै बनिसकेका सडकका विभिन्न खण्डलाई जोडेर राजमार्गको रुप दिइएको बताउँछन् । उनीहरुका भनाइमा, यो राजमार्गको दाङदेखि सुर्खेतको बोटेचौरसम्म कालोपत्रे भइरहेको छ भने बोटेचौरदेखि डडेलधुरासम्मको खण्ड केही चुनौतीपूर्ण छ । यो राजमार्गले देशको करिब एक हजार दुई सय किलोमिटरमा पूर्व पश्चिम जोड्नेछ । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी मदनभण्डारी राजमार्ग बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । राजमार्गले पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म जोडिनेछ । मन्त्रालयका अनुसार यो सडक घोराही–सुर्खेत, सुर्खेत–वीपीनगर (डोटी) गरी विभिन्न १० वटा खण्डको एकीकृत रुप नै मदनभण्डारी राजमार्ग हो । यो राजमार्गको पूर्वी खण्डतर्फको तीन सय किलोमिटर दुई गत वर्ष पहिले नै ठेक्का लगाई सकिएको छ भने पश्चिमी खण्डमा कुनैपनि काम शुरु नहुँदा जनतामा निराशा बढ्दै गईरहेको छ । मदन भण्डारी राजमार्गलाई पूर्वबाट पश्चिम जोड्दा करिब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यद्यपि ! चुरेमा सिमेन्ट सडक
भित्री मधेशका धेरै जिल्लामा प्रशस्त चुनढुंगा खानी छन । ती मध्ये कतिपय स्थानमा सिमेन्ट उद्योगहरु खुलिसकेका छन् भने कतिपय ठाउँमा खुल्ने क्रममा छन । चुनढुङ्गाका खानी र सिमेन्ट उद्योगलाई लक्षित गरेर औद्योगिक करिडोरका रुपमा मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारी बताउँछन् । उनीहरु यसलाई सिमेन्ट सडक पनि भन्न सकिने बताउँछन् । यो राजमार्गले सिमेन्ट उद्योगमा चुनढुङ्गा पु¥याउन मात्र होइन, कृषि उत्पादनको बजारीकरणमा पनि योगदान दिने मन्त्रालयका अधिकारीहरुको दाबी छ । तर, राजमार्ग निर्माणमा बजेट समेत विनियोजन भइसक्दा यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन । राजमार्गका विभिन्न खण्ड पहिल्यै बनेका सडक भएकाले वातावरणमा धेरै हानि नपुग्ने उनीहरुको जिकिर छ । खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यहींबाट बग्ने हुँदा नेपालको चुरे क्षेत्र भूकम्प तथा अन्य प्राकृतिक विपतको दृष्टिबाट अत्यन्त संवेदनशील मानिन्छ । त्यही चुरेबाट राजमार्ग निर्माण शुरु भइसक्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको छैन । वन तथा वातावरण मन्त्रालयका अनुसार, मदन भण्डारी राजमार्गका विषयमा कुनै ठोस समन्वय तथा पहल मन्त्रालयसँग गरिएको छैन । सडक बनाउँदा त्यहाँको भूगोल, वनजंगल, पर्यावरण र आम जनजीवनमा पर्ने नकारात्मक प्रभाव मूल्यांकन गरेर त्यसलाई कम गर्ने उपाय पहिल्याउन पनि पहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पार्नै पर्छ । प्रतिवेदन अनुसार काम भयो भने मात्र क्षति कम गर्न सकिन्छ । १४ जिल्ला जोड्ने मदन भण्डारी राजमार्गमा पर्ने सुर्खेत, दाङ, अर्घाखाँची, पाल्पा, नवलपरासी, सिन्धुली, उदयपुर, सुनसरी, मोरङ, झापा र इलामको धेरै भूभाग चुरेमा पर्छ । विकास र वातावरणको सन्तुलन मिलेन भने त्यसको लाभ कसैले पाउँदैन । ईआईए प्रतिवेदन बेगर काम शुरु गरिएका कतिपय ठाउँमा बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्दै गएको देखिन्छ ।

Translate »