‘दुर्गम गाउँका के कुरा गर्नु, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमै फोन लाग्दैन’

मोवाईल फोन नलाग्दा सेवाग्राहीलाई सास्ती # टेलिकमको क्षमता विस्तार अभाव


स्काई न्यूज /माघ १९, सुर्खेत ।
सुर्खेतका कतिपय ठाउँमा टेलिकमको पहुँच छैन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । किनभने, कर्णाली प्रदेश राजधानी जस्तो सदरमुकाम रहेको वीरेन्द्रनगरमा फोन नलाग्ने पनि हुन्छ र ! । तर यो सत्य हो । सदरमुकाम वीरेन्द्रनगरको धुलियाविट, भेरी नदी पुल आसपाससँगै बाङ्गेसीमलदेखि रानीघाट क्षेत्रमा टेलिकमको मोवाईल कमजोर पहुँच रहेको छ । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी विनोद ढकालले धुलियाविट क्षेत्रमा गतिलो पहुँच अभावमा टेलिकमको मोवाईलले राम्रोसँग काम नगर्दा धेरै समस्या भोग्नु परेको बताए । उनले टेलिकमको जिल्लादेखि केन्द्रसम्म टेलिकम मोवाईलको पहुँच विस्तार गरि दिन आग्रह गरेपछि धुलियाविटमा सर्वे भएपनि हालसम्म टावर जडान नहुँदा एनसेलको नम्वरबाट काम चलाउनु परेको जनाए । घरदेखि अलि पर अधिंकाश समय कुरा नबुझिने, रिङटोनका नाममा नियमित पैसा काटिने समस्याबाट नागरिक पीडित हुने गरेको उनको भनाइ छ । ‘दुर्गम गाउँका के कुरा गर्नु, वीरेन्द्रनगर भित्रै गहिरो र कोल्टो ठाउँमा मोबाईलले टावर पाउदैन,’ उनले भने, ‘नेपाल टेलिकमको चरम लापरबाहीका कारण वीरेन्द्रनगरबासीले टेलिफोन तथा इन्टरनेटको भरपर्दो सेवा पाउन नसकेका छैनन् ।’ उनले टेलिकमबाट नियमित रुपमा टावर र विटीएसहरुको मर्मत तथा सम्भार गर्ने, नयाँ टावर निर्माण गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगायतका कार्य नगर्दा फोन तथा इन्टरनेटको भरपर्दो सुविधा नभएको बताए । प्रदेश राजधानीकै शहरमा कमजोर पहुँच राख्ने टेलिकमको दुरदराजका गाउँहरुमा टेलिकमको मोवाईल नेटवर्कको धेरै समस्या रहेका छन् । अहिलेपनि जिल्लाका झण्डै दुई दर्जन गाउँहरुमा टेलिकम मोवाईलको पहुँच पुग्न सकेको छैन् । अहिले पनि सदरमुकाम वीरेन्द्रनगरका कतिपय ठाउँमा मोवाईलले काम गर्दैन् । कतै काम गरि नै हालेपनि राम्रोसँग सुनिदैन् । नेपाल सरकारले सबै नेपालीमा गुणस्तरीय सञ्चारको पहुँच पु¥याउने घोषणा गरे पनि जिल्लाका बेतान, लगाम, विजौरा, गुटु, घाटगाउँ, चिङ्गगाड गाउँपालिकाको पाम्का, रजेना, मटेला, सिम्ता गाउँपालिकाको घोरेटा, खानीखोला लगायतका नागरिक मोबाइल फोन सुविधाबाटै वञ्चित छन् । चौकुने गाउँपालिकाको हडाकानामा राखिएको नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगर्दा चौकुनेका कतिपय गाउँका बासिन्दा सञ्चारको पहुँच बाहिर रहेका हुन् । भौगोलिक विकटता रहेको ती गाउँका क्षेत्रमा साँझ परेपछि मोबाइल फोन सम्पर्क हुँदैन ।

विद्युत् विस्तार नभएका कारण दुर्गममा रहेको नेपाल टेलिकमको बीटीएस टावर सोलारमार्फत सञ्चालन हुन्छ । तर पर्याप्त पावर नहुँदा घाम अस्ताएसँगै त्यसले काम गर्न सक्दैन । चौकुनेका अधिकांस गाउँहरुमा बिहान ९ बजे नेटवर्क आउने र साँझ ४ बजे जाने गरेको छ । चौकुने गाँउपालिका वडा नं १, ३ र ४, ५, ८ र ९ वडाको केही भुभागबाहेक बाँकी सबै ठाउँमा रातभर सञ्चार हुँदैन । पञ्चपुरी छाप्रेमा रहेको टेलिकमको टावर सोलार प्यानलको ब्याट्रीमार्फत सञ्चालन हुन्छ । विद्युत् नभएकै कारण सेवा प्रभावकारी नभएको स्थानीय मानबहादुर थापाले बताए । ‘घाम झुल्केपछि नेटवर्क आउन शुरु गर्छ,’ उनले भने, ‘रातभर र बिहान फोनको कामै छैन । केही सूचना दिनुपरेमा पैदल हिँड्नुपर्छ ।’ अहिले यहाँका बीटीएस टावरमा रहेका सौयबत्तीका ब्याट्रीले काम गर्नै समेत छाडेको उनको भनाइ छ । चिङ्गगाड गाउँपालिकाको वडा नं २ को हालत पनि उस्तै छ । पाम्का, रजेना र मटेलासँगै वडा नम्वर २, को ढाडखेतमा नेटवर्कले काम नै गर्देन् । चिङ्गगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले गाउँपरिषद्बाट दुईतिहाई बहुमतले पारित गरेर पालिकाको कार्यालय अवचिङ्गबाट ढाडखेत सार्ने अन्तिम तयारी भएपनि सञ्चार असुविधाले काममा बाधा पुग्ने बताए । उनले ढाडखेतमा विद्युत लाईन विस्तार कार्य तीव्र गतिमा भएपनि टेलिकमको पहुँच पु¥याउन अहिले आफु टेलिकमको सुर्खेतदेखि नेपालगञ्ज कार्यालयसम्म निरन्तर दौडधुप गरिरहेको जनाए । ‘चिङ्गगाडका केही ठाउँमा मात्र टावरले काम गर्छ,’ उनले भने, ‘बाँकी सबै ठाउँमा बिहान र साँझपख मोबाइल नेटवर्क हुँदैन ।’ समस्या समाधानका लागि मन्त्री समेतको ध्यानाकर्षण गराइएको उनले बताए । जिल्लाका चौकुने, अवलचिङ्ग र सिम्ता गाउँपालिकाको सबै गाउँहरुमा विद्युत् लाइन विस्तार नभएकाले समस्या भएको टेलिकमसुर्खेत कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर नारायणप्रसाद कुसीले बताए । ‘ब्याट्री फूलचार्ज हुन दुई–तिन दिन लाग्छ,’ कुसीले भने, ‘सौर्यप्रकाशमा सोलार प्यालन भर पर्ने हुँदा समस्या दोहोरिरहेको छ । टावरलाई आवश्यक पर्ने ब्याट्री खरीदका लागि टेन्डर भएको उनले जानकारी दिए । ‘चौकुनेको बीटीएस टावरमा नयाँ ब्याट्री जडान गरेपछि समस्या समाधान हुन्छ,’ उनले भने । वीरेन्द्रनगरका केही स्थानमा मोवाईल नेटवर्क नपुग्ने समस्या समाधानका लागि समेत काम भईरहेको उनको भनाइ छ । नेपाल टेलिकम गम्भिर नहुँदा सुर्खेत आसपास क्षेत्रका नागरिक हिउँदको हिउँ आउँदा, वर्षामा पानी पर्दा, हावा लाग्ने बित्तिकै सञ्चार विहिन हुनुपर्ने बाध्यता अहिले पनि कायमै छ । सञ्चारको युगमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा नागरिकलाई सेवा भन्दा सास्ती हुने गरेको बताउँछन् ।

Translate »