मौरी पालनमा लगानी बढ्यो, उत्पादन भने घट्यो

फागुन २६,सल्यान ।
सल्यानमा मौरी पालनको हिसाबले राम्रो सम्भावना बोकेको जिल्लामा पर्दछ । मौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्न कै लागि सरकारले वर्षेनी लाखौँ बजेट विनियोजन पनि गर्दै आइरहेको छ तर महको उत्पादन भने घट्दै जान थालेको छ । मौरी घारदेखि लिएर आवश्यक औजार उपकरणहरूमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ । गत बर्ष मात्रै कालीमाटी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका वडा नम्बर ३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले मौरी पालन व्यवसायमा लगानी बढाउँदै लगे पनि त्यसको प्रतिफल भने बिस्तारै घट्दै जान थालेको छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरी पालन तर्फ हौसिएका जिल्लाका किसानहरू बर्षेनी मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् ।

आर्थिक बर्ष २०७५र२०७६ मा जिल्लाभर १ हजार ५ सय ३० मौरी घार थिए । जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो । यस्तै आर्थिक बर्ष २०७६र०७७ मा मौरी घारको सङ्ख्या वृद्धि गरेर २ हजार १ सय ३० पुग्यो, तर मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन मात्रै उत्पादन भयो । यस्तै आर्थिक बर्ष २०७७र२०७८ को हालसम्म कात्तिके मह झण्डै ३० प्रतिशतले उत्पादनमा कमी आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लाको कालीमाटी, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मौरी पालन हुँदै आइरहेको छ । जिल्लामा बर्षेनी मौरी पालनको क्षेत्रमा लगानी बढाउँदै गए पनि मह उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । विगतका वर्षहरूको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उनको भनाई छ । उनले भने, ‘सल्यान मौरी पालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर विगतका वर्षको तुलनामा यस बर्ष मह उत्पादन घटेको छ । मौसम परिवर्तनका कारण मह उत्पादन कम भएको हुनसक्ने उनको भनाई छ । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरण क्षेत्र नबढ्नु तथा सुख्खा यामका कारण फूल नफुल्नु र फूलेका फूलहरू पनि बेलैमा सुकेर जाँदा मह उत्पादनमा कमी आएको हुनसक्ने प्रमुख आचार्यको भनाई छ ।

Translate »